म आशा मौरती देशकै प्रतिष्ठित सत्यवती माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुँ । शिक्षा विषय लिएर अध्ययन गर्ने प्रत्येक विद्यार्थीले कक्षा १२ मा पढ्ने क्रममा केही समय प्रशिक्षार्थी शिक्षकको रुपमा विभिन्न विद्यालयमा गएर शिक्षण गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम फागुन पहिलो साता म र अन्य केही मेरा साथीहरु सिद्धेश्वरी माध्यमिक विद्यालय कमलबारी जानु पर्ने भयो ।
पहिलो दिन बसबाट कमलबारी झरेर विद्यालय तर्फ लाग्दै गर्दा म र मेरो टिममा सहभागी सबैको मनमा उत्साह अनि डर दुबै थियो । उत्साह यस कारण कि हामी सबै केही दिनका लागि नै भएपनि शिक्षक बन्दै थियौं । सधै शिक्षकको अगाडि बसेर छुकछुक गर्ने हामी अब शिक्षक बनेर छुकछुक गर्ने विद्यार्थीलाई सम्झाई बुझाई गर्दै पढाउनु थियो । शिक्षकका रुपमा हातमा मार्कर, आवश्यक शैक्षिक सामग्री र किताब बोकेर कक्षामा जाँदा र आफुले जानेका कुरा साना भाइबहिनीहरुलाई सिकाउँदा प्राप्त हुने सुखको अनुभूति छिट्टै गर्न पाउँदै थियौं हामीले । विद्यारुपि धन बाँड्नुमा सुख हुन्छ भनेर मेरा गुरुहरु भन्नु हुन्थ्यो तर हामीले अनुभूत गर्न पाएका थिएनौं । डर पनि
थियो ।
शिक्षकहरुको हाम्रा प्रति व्यवहार कस्तो हुने हो ? विद्यार्थीहरु सम्हाली नसक्नुका छन् र एक महिने शिक्षण अवधी पनि कहिले सकिएला जस्तो अत्यास लाग्दो हुने पो हो
कि ? के हामीले आफ्ना क्रियाकलाप सहज अगाडि बढाउन सकौंला ? यस्तै यस्तै मनमा उब्जेका प्रश्नहरुले मनमा डर भरेको थियो ।
उत्साह त बाँकी नै थियो विद्यालय पुग्दा तर शिक्षकहरुले गर्नु भएको मित्रवत व्यवहार र विद्यार्थीहरुको पनि त्यस्तै खाले व्यवहारले हामीमा भएको डर भाग्न बाध्य भयो । विद्यार्थीले मैले त जानिन मिस, यो सिकाइ दिनु न भन्दा मन उत्साहले भरिने रहेछ र अनायासै त्यो विद्यार्थी तर्फ पाइला बढ्दा रहेछन् । अनि आज पढाएको पाठ बुझ्यौ त भन्ने मेरो प्रश्नमा बुझ्यौ मिस भनेर त्यसपछि गरिने छोटा प्रश्नको उनीहरुले फटाफट उत्तर दिँदा मन पुलकित हुने रहेछ । यस्तो लाग्दो रहेछ, मैले संसार जित्ने योद्धा हुँ । तब न गुरुहरु विद्या धन बाँड्नुमा सुखको अनुभूति हुन्छ भन्नु हँदो रहेछ । विद्यार्थीहरुका अगणित जिज्ञासा शान्त पार्न गुरुहरुले गर्नुपर्ने परिश्रमको पनि मैले अनुमान लगाएँ, त्यही बेला ।
धेरै कुरा सिक्ने मौका पायौं हामीले त्यो छोटो
समयमा । शायद विद्यालयमा झण्डै १२ वर्ष विताउँदा सिक्न नसकेका र नपाएका कुरा सिक्यौं अनि अनुभूत गर्र्न पायौं ।
हामीले गर्नुपर्ने अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरु उत्साहजन ढंगले सहभागी भए भने शिक्षकहरुले पनि आफ्नै कार्यक्रम सम्झेर सहयोग गर्नु भयो ।
कतिपय मानिसहरु भन्ने गर्छन, शिक्षक भनेका गाग्री हुन भने विद्यार्थी भनेका अम्खोरा हुन् । अर्थात गाग्रीले सधै अम्खोरालाई पानी दिन्छ र अम्खोरा भरिन्छ । गुरुले पनि विद्यार्थीलाई सधै ज्ञान दिन्छन्, विद्यार्थीबाट लिने भन्ने हुँदैन । तर होइन रहेछ । शिक्षण गर्नु भनेको त गाग्री हुनु मात्र होइन आम्खोरा बन्नु पनि रहेछ । हामीले केही विद्यार्थीहरुलाई सिकायौं तर धेरै उनीहरुबाट सिक्यौं । मलाई लाग्यो गाग्री भर्न आम्खोराले पनि पानी दिनु पर्ने रहेछ । गुरु हुन् उमेरले पाको नै हुनुपर्छ भन्ने होइन रहेछ । हुनपनि इष्र्या रहित निश्छल हाँसो हाँस्न अनि रिस राग धेरैैबेर मनमा नराख्न तथा सधै जिज्ञासु हुन हामीले साना नानीबाबुबाटै सिकेका हुन्छौं ।
विद्यार्थी शिक्षकको रुपमा सिद्धेश्वरी माविमा विताएका दिनहरु सिकाइलाई उत्प्रेरित गर्ने खालका रहे । शिक्षकहरुले देखाउनु भएको सहयोगी भावले मलाई प्रभावित तुल्याएको छ भने विद्यार्थीहरुको सिकाईमा सक्रियताले पनि त्यत्तिकै प्रभावित भएकी छु । ममा सकारात्मक भावको सञ्चार गराउने विद्यालय परिवारको प्रगतिको कामना ।