पौष १६ गतेलाई खासगरी नेपाली कांग्रेसप्रति आस्थावान् नेपालीहरु राष्ट्रिय मेलमिलाप दिवसको रुपमा मनाउने गर्दछन् । २०३३ साल पौष १६ गते नेपाली कांग्रेसका नेता बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर गणेशमान सिंह, शैलजा आचार्य, रामबाबु प्रसाईं, निलाम्बर पन्थी र खुमबहादुर खड्का सहित भारत प्रवासबाट नेपाल फर्केका थिए । राजा र जनताबीचको झगडामा खेलेर भारतले सिक्किमलाई आफुमा विलय गराएको देखेका वीपी लगायत नेता भारतको दोहोरो भूमिकाले आफ्नो देशको अस्तित्व समेत संकटमा पर्न लागेका देखेपछि नेपाल फर्केका थिए । सुवर्ण सम्शेरलाई पनि भारतको सहयोगमा आन्दोलन सफल हुन्छ भन्नेमा विश्वास थिएन । भारत, खासगरी इन्दिरा गान्धीको नेपाली कांग्रेसलाई देखाएर राजासँग र राजालाई देखाएर नेपाली कांग्रेससँग बार्गेनिङ गर्ने चाल उनले बुझेका थिए र भारत बस्न हुँदैन भन्ने निष्कर्षमा केही अघि नै पुगेका थिए ।
दोहोरो चाल चल्दै जब इन्दिरा गान्धीले नेपालको वैदेशिक नीति र सुरक्षा अधिकार भारतलाई दिने भए बीपीलाई नेपाली राजनीतिमा पुनः स्थापित गराइदिने प्रस्ताव ल्याइन् तब बीपी तुरुन्त नेपाल फर्कने निर्णयमा पुगे । यता नेपालमा भने उनी विरुद्ध फाँसीको सजाय सम्म हुन सक्ने मुद्दा थिए । तर राष्ट्र नरहे प्रजातन्त्रका लागि कहाँ लड्ने ? को सँग लड्ने भन्ने प्रश्नले बीपीलाई नेपाल फर्कन प्रेरित गरिरह्यो । अन्ततः एउटा बक्तव्य प्रकाशन गरेर बीपी नेपाल फर्किए । बक्तव्यको आशय थियो– प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, त्यस देशका बासिन्दाले आफ्नो ज्यान समेत खतरामा राखेर मुलुकको अस्तित्व रक्षा गर्नुपर्छ । मेलमिलाप शव्दको प्रयोग नगरी प्रजातन्त्रवादीले राष्ट्रियताप्रति र राजावादीहरुले प्रजातन्त्रप्रति ध्यान दिनुपर्ने उल्लेख गरिएको वक्तव्य निकालेर नेपाल आएका बीपीको भावनालाई तत्कालिन पञ्चायती सत्ताले बुझ्ने चासो देखाएन । राष्ट्रिय शंकटलाई वेवास्ता गर्दै शासकीय दम्भ देखायो । संकटमा परेको राष्ट्रियता बचाउन निर्वाशनबाट नेपाल फर्केका विपि जहाजबाट झर्ना साथै जेल हालेर राजाले आफ्नो शासकीय अदूरदर्शिता र सत्ता अहमता प्रदर्शन गरेका थिए ।
आफुलाई शत्रु सरहको व्यवहार गर्ने राजासँग पनि मेलमिलापको कुरा गर्ने बीपीका अनुचर कांग्रेस नेता भने यतिबेला आफ्नै दलका साथीहरुलाई परस्पर शत्रु झैं व्यवहार गरेर निषेधको राजनीति गरिरहेका छन् । अघिल्लो साता सम्पन्न महासमिति बैठक पछि परस्पर केही हार्दिकता देखिएको छ । तर हेर्न बाँकी छ, त्यो हार्दिकता साँचो हो वा देखावटी ? महासमितिको अन्त्यमा नेताहरुमा देखिएको हार्दिकता साँचो भए नेपाली सपूतहरुको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको संरक्षण गर्दै सामाजिक र आर्थिक विकास गर्ने मार्ग प्रसस्त हुनेथियो । राजनीतिक परिवर्तनका लागि फेरी नेपाली सपूतहरुले बलिदानी दिनु पर्ने थिएन ।