दशकौं अगाडि महाकवि लक्ष्मीप्रसाद देवकोटाले अरुको काँध चढेर धर्म गर्न मन्दिर धाउँदै गरेको मानिसलाई देखेर कविता लेखे ‘यात्री’ । मानिस स्वयम् मन्दिर हो र उसको आत्मा मन्दिर भित्रको देवता हो भन्ने आशययुक्त उक्त कविताले ईश्वर पुज्न मन्दिर जानु नपर्ने भनेको छ । तर हामी मध्ये धेरैले कविताको मर्मलाई आत्मसात गरेको भने देखिएको छैन ।
केही वर्ष अगाडि म र मेरा एक मित्र काठमाण्डौं गएका बखत पशुपतिनाथको दर्शन गरौं भनेर मन्दिर गयौं । बाहिर पूजा समाग्री किन्दै गर्दा पसलवालाले जुत्ता राखेर चप्पल लगाएर जान सुझाए । हामीले त्यही ग–यौं । मन्दिरको सिंढी चढ्ने बेला चप्पल खोल्नु पर्ने रहेछ । हामी चप्पल खोलेर दर्शनका लागि लाइनमा बस्यौं । भोलेबाबाको दर्शन र पूजा गरेर चप्पल भएको ठाउँमा आउँदा त चप्पल गाएब । हामी विष्मित भयौं । तर हामीले गर्न सक्ने केही थिएन । फर्केर पसलवालालाई चप्पलको पैसा तिरेर आफ्नो बाटो लाग्यौं ।
यस वर्ष महा शिवरात्रीको अवसर पारेर लमजुङको प्रसिद्ध तिर्थस्थल करापुटार जहाँ सन्तानेश्वर महादेवको मन्दिर रहेको छ, जाने सल्लाह भयो । स्कन्द पुराण अन्तर्गत स्वस्थानी ब्रतकथामा समेत वर्णन भएकाले उक्त मन्दिरमा सोमबार, साउन महिना तथा शिवरात्री लगाएतका पर्वमा दर्शनार्थी र भक्तजनको भिड लाग्ने गर्दछ । अझ शिवरात्रीका बेला रातभर जागा रहेर उभिएर बत्ती बाल्दा सन्तान प्राप्त हुने विश्वासमा निसन्तान दम्पत्ती ठाडो बत्ती बाल्ने भन्दै शिवरात्रीका अवसरमा जम्मा हुने गर्दछन् ।
विहान ५ बजे मन्दिर पुग्दा दूध चढाउनेको लाईन झण्डै सय मिटर लामो भैसकेको रहेछ । लाइन वस्यौं । मन्दिरका दुई ढोकाबाट दूध चढाउने व्यवस्था गरिएको र महिला तथा पुरुषका लागि फरक फरक लाईन भएकाले छिट्टै दूध चढाउने तथा पुजा गर्ने पालो पाउने आशामा रहेका हामी धेरै समय लाइन नसर्दा आश्चर्यमा प–यौं । झिसमिसे उज्यालो भै सकेको थियो । मन्दिर प्रवेश गर्ने ढोकामा के भै रहेको छ भनेर ठम्याउन सकिने अवस्था थियो । हामीले त्यतै नजर दौडायौं । लाइनबाट निस्केर म मन्दिर नजिक पुगें । झण्डै तीन दशकमा जुरेको शिवरात्रीको शुभ मुहुर्तमा शिवजीलाई दूध चढाएर धर्म गर्न आएका केही महिला तथा पुरुषहरु त ठेलठाल गरेर पालो मिच्दै मन्दिर भित्र छिरेर दूध चढाउने र पूजाआजा गर्ने गर्दै पो रहेछन् । स्वयम सेवकहरु त्यसो नगर्न सुझाइ रहेका देखिन्थे । तर ति पनि निरिह सावित भई रहेका थिए । धेरैबेर लाइनमा बसेपछि मन्दिर प्रवेश गरेर दूध चढाउने तथा सामान्य पूजा गर्ने मौका मिल्यो । ठूलै लडार्इं जिते झैं भयो यति गर्न पाउँदा ।
देवका पनि देव महादेवले हाम्रो चप्पल लिएर भाग्ने भक्तलाई कुनै सजाय दिए कि दिएनन् थाहा छैन तर मन्दिर भित्र छिरेर चप्पल चोर्ने हिम्मत गर्ने ति मानिसलाई सम्झंदा हामीमा परेको नैतिकताको खडेरी याद आउँछ । न भए शिवरात्री वा तीजमा मन्दिरमा दर्शन र पूजाआजका लागि जाँदा गहना लगाएर नजान आग्रह गर्नुपर्ने थिएन । न त हाम्रो चप्पल हराउने नै थियो । घण्टौं लाइन बसेका भक्तजनको पालो मिचेर दूध चढाउने इशानेश्वर महादेवका ति भक्तलाई के आशिष दिए त्यो पनि हामीलाई थाहा हुने कुरा भएन । के भोक भोकै लाइन बसेका दर्शनार्थीको पालाको मिचेर दूध चढाउने र पूजाआजा गर्ने मानिसलाई यदि साँच्चै भगवानको अस्तित्व छ भने आशिष देलान ? अर्काे मान्छेको मन कुड्याएर गरिने पूजाआजाले धर्म हुँदैन ।