आफ्ना संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला(बीपी कोइराला) को ४० औं स्मृति दिवसको अवसर पारेर ७ साउनमा नेपाल कांग्रेस जिल्ला कार्यसमिति तनहुँले वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समिक्षा एवं विचार गोष्ठीको आयोजना ग¥यो ।
अहिलेका कांग्रेसका लागि बीपी चाख र अध्ययनका विषय होइनन् अनि उनीहरुलाई बीपीको व्यक्तित्व र आदर्शका बारेमा चासो छैन् भन्ने कुरा यो कार्यक्रमले पनि दर्शायो किनभने कार्यक्रममा बोलेका धेरै बक्ताहरुले बीपीलाई सम्झने कष्ट समेत गरेनन् । बरु मेलमिलापका पर्याय बनेका उनको स्मृति दिवसको दिन पारेर भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा भएका जय पराजयका विषयलाई लिएर परस्पर बाझाबाझ गरे । कार्यक्रमका अधिकांश बक्ताहरु आफुले कांग्रेसकै टिकटबाट उम्मेदबार बनेका साथीलाई हराउन खेलेको भुमिका न्यायोचित भए झैं गरेर आफु माथि अन्तर्घात .भएको भन्दै अन्य नेता कार्यकर्ता माथि राम्रैसंग खनिए ।
नेपाली कांग्रेसको नेता वा कार्यकर्ता भएका कारण अनेकौं सुविधा लिएका र नवधनाढ्य बनेका कतिपय नेताहरुका प्रतिको कार्यक्रममा प्रकट आक्रोश स्वाभाविक थियो । हुनपनि भर्खर सम्पन्न स्थानीय तह निर्वाचन–२०७९का बेला कांग्रेसलाई धोका दिने तर त्यस अघि कांग्रेसका नेता कार्यकर्ताको बुई चढेर संविधान निर्माण गर्न महान कार्यमा सहभागी हुने महाअवसर पाएका तथा गाडी,घर, घडेरी र अथाह सम्पत्ति जोडेकाहरुको संख्या ठूलै थियो ।
कार्यक्रमका एक बक्ताले भनेका कुरा भने साह्रै घत लाग्दो थियो । वरिष्ठ नेता रामचन्द्र पौडेलको सामुन्ने ति बक्ता भन्दै थिए, उता निर्वाचनको संघारमा हाम्रा वरिष्ठनेता भरतपुरमा माओवादी नेतृ रेणु दाहालको प्रसंशा गरेर उनलाई महानगर प्रमुख बनाउन नेपाली कांग्रेसका कार्यकर्ताले समेत भोट हाल्नुपर्ने भनेर चर्काे स्वरमा भाषण
हुनहुन्थ्यो । यता तनहुँ आएका माओवादी नेता भने आफ्ना उम्मेदबारका लागि भोट माग्दै कांग्रेस आफुहरुको सबैभन्दा ठूलो दुश्मन भएकाले कुनै पनि हालतमा विजयी हुन दिन नहुने बरु लखेट्नु पर्ने भाषण गर्दै थिए ।
स्थापना कालदेखि प्रजातन्त्र प्राप्तीका विभिन्न आन्दोलनको अगुवाई गरेको नेपाली कांग्रेस नेपालमा प्रजातन्त्रका पर्याय नै हो । बारम्बारका निर्वाचनहरुमा नेपाली मतदाताको विश्वास जितेर सत्ताको नेतृत्व गर्ने अवसर पाएको कांग्रेस यतिबेला भने निर्वाचन जित्न वैशाखीको खोजीमा छ । यस्तो लाग्छ, सत्ता बाहिर कांग्रेसका नेताहरु एकछिन पनि रहन सक्दैनन् र त्यसका लागि गठबन्धनको नाममा जो कोहीसंग पनि मिलिभगत गर्न तयार छ । नभए कांग्रेसलाई आफ्नो सबैभन्दा ठूलो शत्रु भन्नेहरुसंग चुनावी सांठगाँठको लागि मरिहत्ते गर्ने थिएनन्, कांग्रेस नेताहरु । शेरबहादुर र रामचन्द्रहरुका अभिव्यक्ति सुन्दा लाग्छ, अब उनीहरुको एकमात्र अभिष्ट भनेको सत्ता हो । र आफुहरु दुइ चार जनाको सत्ता प्राप्ती अभिष्ट पुरा गर्न कार्यकर्ताको बली दिन तयार भएका छन् । जीवनभर रुख बाहेक अन्य चिन्हमा मतदान नगरेको गाउँको एउटा कांग्रेस कार्यकर्ता रुखमा मत दिए बापत कारवाहीको भागिदार हुनु पर्ने भएको छ ।
पाँच पटक प्रधानमन्त्रीका कुर्सीमा बसेर नेपालमा सबैभन्दा धेरै पटक प्रधानमन्त्री बन्ने व्यक्तिका रुपमा नाम लेखाएका शेरबहादुर देउवालाई छैटौं पटक प्रधानमन्त्री हुनुछ । पाँचौं कार्यकालसम्म वाह ! भन्ने खालका कुनै काम नगरेका देउवासंग अब प्रधानमन्त्री हुँदै गर्दा के गर्ने भन्ने कुनै योजना पनि छैन, छ त केवल फेरी प्रधानमन्त्री हुने । यता पौडेलबाका अन्तिम इच्छा भनेका गत निर्वाचनमा पराजित भएको क्षेत्रबाट निर्वाचन जितेर मर्ने र यसका लागि विचार, सिद्धान्त मिल्ने नमिल्ने सबैसंग गठबन्धन गर्न मन छ । शायद देउवाको राष्ट्रपति ललिपपले पौडेलबालाई लोभ्याएको छ । तर यत्रो गौरवशाली इतिहास भएको पार्टीका नेताहरु किन एक्लै चुनाव लडन डराईरहेका छन् ? प्रश्न स्वाभाविक छ । उत्तर पनि सहज छ, प्रजातन्त्र प्राप्ती पछिको तीन दशकमा सबैभन्दा धेरै समय सत्तामा बसेको कांग्रेसले जनअपेक्षा अनुसार काम गर्न सकेन । र अब कांग्रेसले विश्वास गुमाएको छ, कि मतदाताले फेरी हामीलाई
छान्नेछन् । अनि सुरुभयो वैशाखीहरुको खोजी ।
कांग्रेस नेताहरुका गठबन्धन रटान सुन्दा र तदनुकुलका व्यवहार देख्दा बीपी स्मृति दिवसको अवसरमा स्थानीय तहको निर्वाचनको समिक्षा एवं विचार गोष्ठीको आयोजना गरिएको स्थल तनहुँ उद्योग वाणिज्य संघको हलमा भएका कुर्सीको सम्झना आउँछ । सभाहलमा भएका अधिकांश कुर्सी माक्किएर वस्न नहुने खालका थिए । कुनै कुर्सीका एउटा खुट्टा थिएनन् । कार्यक्रम चलिरहँदा दर्शक दीर्घामा रहेको मानिस बसेका कतिपयकुर्सी भाँचिए । मञ्चमा वसेका एक अतिथी समेत कुर्सी भाँचिएका कारण लडे तर सौभाग्यवश उनी घाइते भने भएनन् ।
एउटै कार्यक्रमको हजारौं भाडा असुल्ने उद्योग वाणिज्य संघ तनहुँले माक्एिका कुर्सी राखेर कस्तो सन्देश दिन चाहेको हो ? दुर्घटना भए त्यसका जिम्मेबारी लिनु पर्छ कि पर्दैन ? उद्योग वाणिज्य संघ जस्ता संस्थाले यस्ता गैर जिम्मेबार काम गर्न सुहाउँछ ÷सुहाउँदैन त्यो उनै जानुन् तर लाक्षणिक रुपमा माक्किएका ति कुर्सीहरुले वर्तमानमा कांग्रेसको अवस्था बताएका भने अवश्य थिए । माथि नै भनियो कि अधिकांश कुर्सी माक्कीएर वस्नै नहुने अवस्थामा थिए । कतिपयका एउटा खुट्टै थिएनन् । त्यस्तोमा पछाडी दर्शकदीर्घामा रहेका कतिपय तीन खुट्टे दुइवटा कुर्सी एक ठाउँमा खप्ट्याएर बसेका देखिन्थे ।
अन्तरकलह, घात प्रतिघातका कारण कांग्रेस यसरी माक्किएको छ कि उ अब एक्लै निर्वाचनमा जाने हिम्मत गर्न छाडेको छ । जसरी हलमा रहका कुर्सीहरुले एक्लै कसैलाई आड दिन सक्दैनथे । कांग्रेसका अवस्था त्यस्तै भएको छ र माओवादी, समाजवादी , जनमोर्चा जस्ता अर्का माक्किएका कुर्सीहरुका सहारा खोजी रहेको छ ।
कांग्रेसलाई माक्किएको कुर्सी हुनबाट जोगाउने र सवल कुर्सी बनाउने अभियानमा लाग्नु लोकतन्त्रमा विश्वास गर्ने
युवा पुस्ताको दायित्व भएको छ ।
आम नेपालीको भरोषा र विश्वासको दल बनाउने हो कांग्रेसलाई भने युवाहरुको हस्तक्षेपकारी भूमिकाको आवश्यकता छ । कुनै नेताको फेर समात्न छोडेर सबल र सक्षम कांग्रेस बनाउने कुरामा युवा नेताहरुको ध्यान पुगोस् भन्ने कामना ।
माक्किएका कुर्सी र कांग्रेस
previous post