दमौली/अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर व्यास नगरपालिकाले प्रथम व्यास नगर महिला खुल्ला हाफ म्याराथन आयोजना गर्ने भएको छ ।
शुक्रबार नपाको शभा कक्षमा आयोजित पत्रकार सम्मेलनमा जनाइए अनुसार नारी दिवसको दिन फागुन २५ गते आइतबार प्रतियोगिताको आयोजना गरिने छ । नगर उपप्रमुख मिरा जोशीका अनुसार नेपाल भ्रमण वर्ष २०२० तथा नारी दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
व्यास नगर पालिका वडा नं ३ मा रहेको व्यास गुफा देखि वडा नं ११ को एतिहासिक तनहुँसुरसम्मको २१ किमी लामो म्याराथनले धार्मीक एवं एतिहासिक पर्यटनको विकासमा तथा महिला सशक्तिकरणमा समेत सहयोग पुग्ने विश्वास उपप्रमुख जोशीले व्यक्त गरिन् ।
प्रतियोगितामा सहभागी हुन चाहने महिलाले व्यास नपाको वेभसाइटबाट फारम डाउनलोड गरेर भर्न सक्ने छन् भने नपाकै इमेलमा पठाउन सक्नेछन् । फागुन २४ गते सांझ ५ बजेसम्म फारम तथा दुइ प्रति पासपोर्ट साइजको फोटो र नेपाली नागरिकताको प्रतिलिपी नगरपालिकाको कार्यालयमा बुझाउनु पर्ने समेत नपाले जनाएको छ ।
खेलकुदका माध्यमबाट पर्यटनको विकास भन्ने नाराका साथ विगत तीन वर्षदेखि अल्ट्रा म्याराथन आयोजना गर्दै आएको व्यास नपाले यस वर्षबाट महिलाका लागि हाफ म्याराथनको आयोजना गर्न लागेको हो । यस वर्षपनि माघ १६ मा शहीद दिवसको अवसरमा नपाले अल्ट्रा म्याराथनको आयोजना गरेको थियो । आइतबार विहान व्यास गुफाबाट प्रारम्भ हुने हाफ म्याराथन तालघरे, मुसेखोला, घाँसीकुवा, सेरा, बेलटारी, चिसापानी, अर्चलचौर, धरमपानी, चण्डीथान गद्धिचौतारो हुदै ऐतिहासिक तनहुँसुर पुगर समाप्त हुनेछ । प्रतियोगितमा प्रथम हुने धावकलाई नगद रु ४१ हजार ७६, द्वितीय हुनेलाई ३१ हजार ७६ तथा तृतीय हुनेलाई २१ हजार ७६ नगद पुरस्कार प्रदान गरिने छ । यसका साथै पाँच धावकलाई सान्त्वना पुरस्कार जनही ११ हजार ७६ रुपैयाँ प्रदान गरिने छ । सबै पुरस्कारको कर नगरपालिकाले व्यहोर्ने जनाएको छ ।