पुष २५ मा नेपाली कांग्रेसले संसद विघटनको असंवैधानिक कदम विरुद्ध देशभरका ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन र सभा गरिरहेको थियो । सभापति शेरबहादुर देउवा आफ्नै गृह क्षेत्र बुढानिलकण्ठमा अयोजना गरिएको विरोध सभामा सम्बोधन गर्दै थिए ।
देउवाले सम्बोधनका क्रममा संसद विघटन सम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन भएकाले अदालतलाई दवाव दिने काम कांग्रेसले गर्न नहुने बताए । उनले भने संसद विघटन सिफारिस सदर भयो भने हामी निर्वाचनका लागि तयार रहनुपर्छ । चुनाव लड्नका लागि जनता ठूलो हो, सर्वाच्च अदालतभन्दा ठूलो अदालत जनता हो । त्यसैले जनताबाट भाग्नु हुँदैन ।
यस्तैमा सभामा सहाभागी एक महिलाले जनतामा गएपनि जितिँदैन भनेर ठूलो स्वरमा चिच्याइन । देउवाले आफ्नो पूरा कुरा सुन्न आग्रह गरे तर अर्काे सहभागी पुरुषले त्यही समयमा भने, नेपाली महाभारतको भीष्मको भूमिकामा नरहनु होला प्लिज । देउवाले आफुलाई भीष्मको रुपमा नरहन आग्रह गर्ने कार्यकर्तालाई दिउँसै रक्सी खाएर आएका भनेर दुत्कारे र मन्तव्य अगाडि बढाए ।
मैलेसन् १९६७ मा प्रकाशित इरावती कर्वेद्वारा लिखित “युगान्त” सम्झें । युगान्त पवित्र ग्रन्थ महाभारतका पात्रहरुको बारेमा लेखिएको गैर आख्यान कृति हो । संगै “ संसारमा जति पनि झुठ बोलिन्छन्, अदालतमा बोलिन्छन् र जति पनि साँचो बोलिन्छन्, सबै रक्सी भट्टीमा बोलिन्छन् ” भन्ने कथन सम्झें ।
रक्सी खाएकै कारणले सायद ति कांग्रेस कार्यकर्ताले सभापति देउवासंग सम्बोधनकै क्रममा सवाल जवाफ गर्न सकेका हुन र वास्तवमा उनले सहि बोलेका हुन् । संविधानको रक्षा गर्ने सवालमा जुन दह्रो साथको अपेक्षा देउवाबाट आम कार्यकर्ताले गरेका थिए । त्यसको विपरित देउवा नेपाली जनताको सात दशक लामो संघर्षबाट प्राप्त संविधानको बलात्कार गर्न उद्यत वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीको समर्थक जस्तो देखा परेका छन् । अझ पछिल्लो समय प्रदेश नं १ मा ओली पक्षिय मुख्यमन्त्री शेरधन राईको पक्षमा समर्थन जुटाउन गरेको भनिएको प्रयत्न पछि त देउवाको नियतमाथि शंका गर्ने ठाउँ दिएको छ । के देउवा डेढ दशक अघिको राजनैतिक परिवर्तनको रक्षा गर्न चाहँदैनन् ? जसको नेतृत्व कांग्रेसले गरको थियो ।
अब एकछिन्, महाभारतका पात्र भीष्म पितामहको कुरा गरौं अनि देउवाको पितामह भूमिका बारे चर्चा गर्नेछु । राजा पिता सन्तनु र माता गङ्गाको कोखमा आठौं सन्तानका रुपमा जन्मेका भीष्मको बाल्यकालको नाम देवब्रत थियो । पाण्डब र कौरबको राज्य थलो हस्तिनापुरका प्रमुख हर्तेकर्तेका रुपमा काम गरेका उनलाई, राजाका छोरा भएपनि राजा नबन्ने र आजीवन ब्रम्हचारी बस्ने प्रतिज्ञा गरेसंगै भिष्मका नामले चिन्न थालिएको हो । हस्तिनापुरको हर्तेकर्ते र जेष्ठ सदस्य भएका नाताले भीष्मले कौरब सभामा हस्तिनापुरकी कुलबधु द्रौपदीको चीरहरण हुने जस्तो अपमान जनक काम रोक्न सक्थे । यसले समग्र महाभारतको कथालाई नै अर्कै मोडमा लैजान सक्थ्यो । सम्भवतः महाभारत युद्ध नै टर्न सक्थ्यो ।
तर भीष्मले त्यसो गरेनन् बरु दुर्याेधनको त्यो कुकृत्य टुलुटुलु हेरेर बसिरहे । एउटी कुलबधु नारीको अपमानको साक्षी बनेर बसिरहे । अझ महत्वपूर्ण कुरा त उनले कौरबको पक्षमा लडेर अझ कौरब सेनाको दश दिनसम्म सेनापति बेनेर अन्यायको पक्ष र न्यायको विपक्षमा काम
गरिरहे । कौरब पक्षको सेनापति हुनुको भित्री रहस्य के थियो भीष्मको कम्तिमा यो पङ्तिकारले बुझ्न सकेको छैन तर ९० वर्ष भन्दा माथिको उमेरका राजकाज त्याग्न सक्ने उदार मनका उनले सेनापतिको भूमिकामा स्वीकार्नु अचम्म लाग्दोछ । अझ महत्वपूर्ण कुरा त के छ भने फगत औपचारिकताका लागि पाण्डवसंगको युद्धमा सेनापतिको भूमिकामा रहेर मार्गदर्शन गर्न दुर्याेधनले गरेकोे आग्रह तत्काल स्वीकार गर्नुपनि आश्चर्य लाग्दोछ । के भीष्मले आफुलाई सेनापति हुन दुर्याेधनले गरको आग्रह केवल औपचारिकता मात्र थियो भन्ने बुझेका थिएनन् होला ? तर आफुले राजकाज र वैवाहिक सुख समेत त्यागेर निर्माण गरको हस्तिनापुरको विनाश लिलाको साक्षी बने ।
कांग्रेस सभापति शेरबहादुर देउवा र महाभारतमा भीष्मबीच केही यस्तै समानता छन् । उनले जीवनका महत्वपूर्ण क्षणहरु अर्पेर बनाएको पार्टी नपाली कांग्रेस इतिहासकै सर्वाधिक कमजोर अवस्थामा छ,यतिबेला । त्यसलाई जनताको मनको पार्टी बनाउने अवसर पनि छ । कोभिडले समस्यामा परेका नागरिकको उद्धार र सहयोगमा उनले पार्टीलाई परिचालन गर्न सक्थे । सरकारले गरेका भ्रष्टाचार जन्य गतिविधिको विरोधमा उत्रेर प्रतिपक्षको धर्म निभाउँदै कांग्रेसलाई पुनः जीवन दिने अवसर थियो । धर्मलाई अफिम भन्नेहरु राम मन्दिर बनाउने उद्धोष गर्दैछन् अनि पशुपती पुगेर सवालाख दीप प्रज्ज्वलन गर्दैछन् । यस्तो ढोंगलाई उदांगो पार्ने अवसर कांग्रेससंग छ । आफ्नै पार्टीको नेतृत्वमा भएको आन्दोलनको उपलब्धी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता आज धरापमा छन् । तर देउवाले ति सबैमा रुचि देखाएका छैनन् । जसरी भीष्म हस्तिनापुरको विनाशको साक्षी बने त्यस्तै साक्षी कांग्रेसको क्षयीकरणको साक्षी बन्दैछन्, देउवा ।
आफ्नै पार्टीको नेतृत्वमा बनेको संविधानको चीरहण भइरहेको छ । तर देउवा विभिन्न बहानामा त्यसलाई रोक्न अनिच्छा प्रकट गरिरहेका छन् । जसरी भीष्म द्रोपदीको चीरहणको साक्षी बने । जुन उनले रोक्न सक्थे तर रोकेनन् । यता देउवापनि संविधानको चीरहणको साक्षी बन्दैछन् । जुन उनले रोक्न सक्छन् तर बुझ्न नसकिएको कुरा उनी त्यसका लागि तयार देखिएका छैनन् । एउटी आमालाई जति मायाँ उसको सन्तानको हुन्छ, त्यतिनै मायाँ कांग्रेस जनलाई वर्तमान संविधानको
छ । आफ्नो सन्तानको चीरहरण भएको वा बालात्कार भएको हेर्न कुनै आमाले सक्छिन् र ? सभापति देउवालाई प्रश्न ।