भूकम्पले खोसिदियो साँझ विहानको खाना मेरो ।
यसले नै भत्काइदियो ओत लाग्ने छाना मेरो ।।
खै कसरी भुल्न सक्छु ? ७२ को वैशाख १२,
रित्तो बनाई गयो जसले जिन्दगिको पाना मेरो ।
२०७२ वैशाख १२ मा गएको महा–भुकम्पले नेपाली समाजलाई कति प्रभावित तुल्यायो भन्ने कुरा माथिको मुक्तक पढ्दा बुझ्न सकिन्छ । हुनपनि लाखौ भर भत्किए, चर्किए । हजारौं हाम्रा सांस्कृतिक, धार्मीक सम्पदा ढले । खेती गरेर खाने जमिन भासियो । कयौं आमाका कोख रित्तियो । बालबालिका टुहुरा भए । नेपाली अर्थव्यवस्थालाई नराम्रोसंग प्रभावित तुल्यायो । त्यो त्रासद दिनलाई झट्ट विर्सने सकिने कुरै भएन् ।
मरेर गएका हाम्रा आफन्तहरुलाई त हामीले अव पाउन सक्दैनौं तर चार वर्ष वित्दा पनि ढलेका घरहरु ठड्याउन सकिएको छैेन । हाम्रा लडेका सम्पदाहरु उठ्न सकेका छैनन् । ढलेका घरहरु ठड्याउने र लडेका सम्पदाहरु उठाउने प्रयत्न भए पनि त्यो प्रभावकारी हुन सकेको छैन । बरु पुनः निर्माणको लागि सरकारद्वारा वितरित सरकारी अनुदान वास्तविक पिडितसम्म नपुगेको र पहुँचवालाहरुले दुरुपयोग गरेका गुनासा आउने गरेका छन् । वास्तविक पिडितले राहत अनुदान पाउने वातावरण निर्माण गर्नु जरुरी भै सकेको छ । अनि लडेका धार्मीक तथा सांकृतिक सम्पदाहरुको पुःन निर्माण कार्यलाई प्रभावकारी बनाउनु पनि आवश्यक भैसकेको छ ।
भुकम्पको पूर्वानुमान गर्न त सकिंदैन तर यसबाट हुने क्षतिलाई भुकम्प प्रतिरोधी संरचना निर्माण गरेर अनि सामान्य सावधानी अपनाएर कम गर्न भने सकिन्छ । हामीले हाम्रा घर लगाएतका भौतिक संरचना निर्माण गर्दा थोरै खर्च बढ्ने हो । तर हामीले सम्झनु पर्ने के हो भने जीवन भन्दा पैसा महत्वपूर्ण होइन । ७२ सालको भुकम्पबाट हामीले जुन स्तरको क्षति व्यहोर्नु प¥यो, त्यसको मुुख्यकारण हाम्रा कमजोर भौतिक संरचना हो । भनिन्छ, भुकम्पले आफै मान्छे मार्दैन मानविय असावधानी र कमजोर भौतिक संरचना त्यसका कारण हुन् । हामी अर्थात नेपाल भुकम्पिय जोखिमका हिसाबले बढी संवेदनशिल क्षेत्रमा छौं । त्यसैले ७२ बैशाख १२ को भुकम्पबाट भएको मानविय तथा भौतिक क्षतिबाट पाठ सिकेर आगामी दिनमा आवश्यक सतर्कता अपनाउनु पर्दछ । जसले हाम्रो जीवन र भौतिक संरचनाको रक्षा गर्न सघाउँछ ।