दमौली/नेपाली कांग्रेस तनहुँले एक विज्ञप्ती प्रकाशित गरी भाद्र २६ गते बाँकेको खजुरामा नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालामाथि भएको आक्रमणको निन्दा र भत्सर्ना गरेको छ ।
कार्यवाहक सभापति जीतप्रकाश आलेले हस्ताक्षर गरेको विज्ञप्तीमा नेपाली कांग्रेसले भदौ २४ बाट प्रारम्भ गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत बाँके जिल्ला खजुरा गाउँ पालिका – २ सितापुरमा कार्यक्रम भइरहेका बेला सोही गाउँ पालिका वडा नं १ का वडाध्यक्ष सुमन मल्लको निर्देशनमा विभिन्न व्यक्तिहरुले आक्रमण गरी बाँके सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगाएतमाथि आक्रमण भएको भन्दै सोको निन्दा गरिएको छ । नेकपाबाट निर्वाचित मल्लको निर्देशनमा १३÷१४ जनाको समूहले नियोजित रुपमा आक्रमण गरेको उल्लेख गरिएको विज्ञप्तीमा स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधान प्रदत्त नागरिक र दलको अधिकार माथि समेत सत्तारुढ दल र सरकारबाट यसरी ठाडो उल्लंघन हुनु भनेको अधिनायकवादी चरित्र प्रदर्शन हो भन्ने नेका तनहुँको ठम्याई रहेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भविष्यमा यस्ता घटना नदोहो–याउन नेपाल कम्युनिस्ट पार्टीलाई चेतावनी दिँदै नेकपालाई जिम्मेवार राजनैतिक दलको रुपमा प्रस्तुत हुनसमेत आग्रह गरिएको छ । साथै विज्ञप्तीमा घटनामा संलग्नलाई तत्काल कारवाही गर्न समेत माग गरिएको छ ।