![](https://tanahunawaj.com.np/wp-content/uploads/2020/01/45875607_106632850350150_3526496500265779200_o-2.jpg)
हरिभक्त सुवेदी
पूर्व प्रअ शिवसरस्वती मावि
आजको युग बैज्ञानिक युग हो, अर्थात २१ औं शताब्दि विज्ञान र प्रविधिको युग हो । विज्ञान र प्रविधिको सदुपयोग गरेर मात्र हामीले विकास र समृद्धिको मार्गमा सफलता प्राप्त गर्न सक्छौं । प्रविधियुक्त शिक्षालाई नै प्राविधिक शिक्षा भनिन्छ । अर्थात् विभिन्न प्रकारका यन्त्र, उपकरण वा प्रविधिको प्रयोग गरेर दिइने शिक्षालाई नै वास्तवमा प्राविधिक शिक्षा भनेर बुझिन्छ । प्राविधिक शिक्षा सीपमूलक, व्यवहारिक र वैज्ञानिक पनि हुन्छ । यस्तो शिक्षा प्राप्त गर्नाले रोजगारीको अवसर र कमाइ पनि बढी हुने, व्यवसाय गर्न वा स्वरोजगार बन्न सजिलो हुने, समाजमा इज्जत पनि बढी हुनुको साथै विदेशमा समेत धेरै अवशर प्राप्त हुनसक्छ । अतः यसलाई राष्ट्रको समृद्धिसंग प्रत्यक्ष जोड्नु पर्छ ।
नेपालमा त्रिवि लगायत विभिन्न विश्वविद्यालय अन्तर्गतका कलेज र प्रतिष्ठानहरुमा मेडिकल साइन्स, इञ्जिनियरिङ, कृषि, पशु, वनविज्ञान जस्ता उच्चस्तरीय प्राविधिक विषयहरुको पढाइ सञ्चालन हुँदै आएको छ भने निम्न तथा मध्यम स्तरीय प्राविधिक जनशक्ति (१२ कक्षा सरह) उत्पादन गर्न नेपाल सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) लाई जिम्मा दिएको छ । यसै संस्थाबाट सम्बन्धन (अनुमति) लिई तोकिएको प्राविधिक विषय सञ्चालन गर्ने गरिन्छ ।
हाल ऋषिङ गा.पा.८ मा रहेको शिवसरस्वती माविमा त्यस क्षत्रकै पहिलो प्राविधिक शिक्षालय खोल्ने पवित्र उद्देश्य लिएर भोलि १७ माघ देखि यही २४ गतेसम्म श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ तथा धार्मिक एवं शैक्षिक महोत्सव आयोजना गरिएको छ । सदरमुकाम दमौलीदेखि समेत दूरदराजमा रहेका प्रायः निम्न वर्गका किसानहरुले प्राविधिक शिक्षाका लागि महायज्ञमा आफ्नो गास कटाएर दान दिन लागेको यस पवित्र अवसरमा सम्पूर्ण अभिभावक, नेता, बुद्धिजीवी, पूर्व विद्यार्थी, शिक्षक, उद्यमी, व्यापारी, विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था, शुभेच्छुक, सहयोगी हामी सबैले तन, मन र धनले सक्दो सहयोग गरौं । हाम्रा सारा धर्म र शास्त्रको मूल सार पनि “सेवा नै परम धर्म हो ।” दूर्गम स्थानमा भएर पनि उक्त विद्यालयले २०३२ सालदेखि कक्षा १० सम्मको र २०६७ साल देखि कक्षा ११ र १२ को शिक्षा प्रदान गर्दै आएको छ । साथै प्राविधिक विषय सञ्चालनका लागि सबैसंग सित उठाएर घैला भर्ने उद्देश्यलाई हामी सबैले तन, मन, धनले सकेको दान सहयोग गरेर धार्मिक, शैक्षिक, सामाजिक विकासका साथै परोपकारी कार्यमा लागौं । त्यस क्षेत्रमा प्राविधिक शिक्षालय नभएकोले बाध्य भएर आफ्ना बालबच्चाहरुलाई काठमाण्डौं, पोखरा, भरतपुर लगाएत टाढा र महंगा स्थानमा पठाउन विवश छन्, गाउँले निम्न वर्गका प्रायः किसान अभिभावकहरु । अतः आगामी शैक्षिक सत्र २०७७ देखि नै CTEVT बाट सम्बन्धन लिएर प्राविधिक विषयको शिक्षा प्रदान गर्न आवश्यक छलफल गरेर विषय छनौट गरिने आयोजकले जनाएको छ ।
साविक काहुँ शिवपुरगाविस अन्तर्गत ग्वास्लुङ निवासी शिक्षाप्रेमी विद्वान स्व. शिवराज चन्दले भारतबाट बि. एड गरी आएपछि पिछडिएको रिसिङ क्षेत्रमा २०२२ सालमै “अरुण हाईस्कुल ” स्थापना गरी शिक्षाको ज्योती छर्ने पवित्र कार्य गर्नुभएको थियो । २०२४ सालमा उनको दुःखद निधन पश्चात विद्यालय नै बन्द हुन पुग्यो । २०३२ सालमा उनैको नाममा शिव मा.वि नाम राखी हवेली डाँडामा पुनः हाइस्कुल स्थापना गरी त्यस क्षेत्रकै अगुवा शैक्षिक सँस्थाको रुपमा अद्यापी अगाडी बढिरहेको छ । सरकारको खासै उपस्थिति नहुने त्यस क्षेत्रमा हाल सम्म पक्की मोटर मार्ग पुग्न सकेको छैन ।
पूर्व सभामुख एवं उप प्रधानमन्त्री रामचन्द्र पौडेल ज्यूको विशेष पहलमा भारतीय राजदुतावासद्वारा निर्मित १२ कोठे दुइतल्ले भवनमा समेत नियमित कक्षा सञ्चालन हुँदै आएको छ ।
हाल ऋषिङ गापा अन्तर्गत साविक रानीपोखरी, कोटदरबार, भिरकोट, राम्जाकोट, काहँु शिवपुर सिङ्गै गाविस र आशिंक रुपमा बैदी र साभुङ भगवतीपुर समेत मिसिएकोमा ऐतिहासिक तनहुँ राज्यको आंशिक भूगोल समेत ओगटेको छ । खास गरी जनजाति (मगर, नेवार, गुरुङ्ग, दरै आदि) को बाहुल्यता रहेको उक्त क्षेत्रमा ब्राम्हण, क्षेत्री, ठकुरी , गिरी र दलित सम्प्रदायको समेत बस्ती रहेको छ ।
ऋषिङ्ग क्षेत्र धार्मिक एवं पौराणिक, एतिहासिक, प्राकृतिक एवं भौगोलिक हिसावले समेत पवित्र र रमणीय रहेको छ । श्रृङ्ग ऋषिले तपस्या गरेको ऋषिङ्ग, सेती र काली नदीको पानी आउने अनौठो अजम्बरी कुण्ड, हतियार राख्ने कोत, सैनिकहरु परेड खेल्ने गढीडाँडा जहाँबाट नवलपुर, चितवन, पाल्पा, स्याङ्जा, गोरखा , लमजुङ्गका अग्ला पहाडी चुचुराहरु लगायत विभिन्न हिमशिखरहरुको रमणीय दृष्यले आन्तरिक र बाह्य पर्यटकहरुलाई कसरी नलोभ्याउला र ? त्यहाँबाट एकातिर सेती नदी र वरपरका सुन्दर दृश्य अर्कातर्फ काली नदीका सम्म फाँट देखिका मनोरम दृश्यहरुले सबैलाई आकर्षित गर्न सक्छ ।
त्यस्तै भृगुऋषिले तपस्या गरेको भिरकोट ,रानीले नुहाउने गरेको रानीपोखरीको सुन्दरताको पनि उत्तिकै महत्व रहेको छ । अतः नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न उल्लेखित विभिन्न महत्वपूर्ण स्थानहरुको भ्रमण गरी भरपुर आनन्द लिऔं र शिवसरस्वती माविले प्राविधिक शिक्षालय सञ्चालन गर्न आयोजना गरेको महायज्ञमा तन,मन र धनले सकेको दान सहयोग गरी सफल पारौँ । जय शिवसरस्वती मावि