चन्द्रा पौडेल
म्याग्दे/ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयलाई प्रविधि मैत्री वनाउने उद्देश्यका साथ म्याग्दे गाँउपालिका–६ स्थित रत्न माध्यामिक विद्यालयलाई शुक्रबार एक समारोहका बीच ५ थान कम्प्यूटर सेट हस्तान्तरण गरियो । कार्यक्रमका प्रमुख अतिथि नेष्डो नेपालका कार्यकारी अध्यक्ष एवं रोटेरियन विश्वप्रकाश प्रसाईले विद्यालयलाई कम्प्यूटर हस्तान्तरण गरेका हुन् ।
रोट्रयाक्ट क्लव अफ दमौली , रोट्रयाक्ट क्लब अफ लिवर्टी कलेज, रोट्रयाक्ट क्लब अफ पर्वत पोखराले संयुक्त रुपमा आयोजना गरेको हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रसाईले विश्वकै पुरानो र ठूलो मानवीय सेवामुलक संस्था रोटरी अन्र्तगत युवा पिंढी रोट्याक्टहरुले आफ्नो व्यक्तिगत खर्च कटाएर दुर्गम भौगोलिकतामा अवस्थित सामुदायिक विद्यालयमा कम्प्युटर वितरण गर्नु सह्रानीय भएको वताए ।
कार्यक्रममा वडा अध्यक्ष वसन थापाले रोट्याक्टले दुर्गम स्थानमा प्रविधियुक्त शिक्षाको लागि कम्प्युटर उपलव्ध गराएकोमा सह्राना गर्दै यसको सदुपयोगसंगै भविस्यमा पनि थप अवसर सृजना हुने वताए । म्याग्दे गाँउपालिकाका शिक्षा प्रमुख वुद्धिसागर खनालले दिएका उपकरणको सदुपयोग हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवहादुर राना, प्रधानध्याक रमेश भट्टराई, रोट्याक्ट क्लव अफ लिवर्टी कलेजका आईपिपी विनय महर्जनले गुणस्तरीय शिक्षाको लागि उपकरण र प्रविधिको महत्ववारे चर्चा गरेका थिए ।
रोट्रयाक्ट क्लव अफ दमौलीका अध्यक्ष मनोज राउत र रोट्रयाक्ट क्लब अफ पर्वत पोखराका अध्यक्ष रविन पोखरेलको संयुक्त अध्यक्षतामा आयोजित कार्यक्रममा रोट्रयाक्ट क्लव अफ पर्वत पोखराका अध्यक्ष रविन पोखरेलले धन्यवाद ज्ञापन गरेका थिए । रोट्रयाक्ट क्लव अफ दमौलीकी विषेश क्षेत्र परियोजना संयोजक सन्जु घलेले स्वागत गरेको कार्यक्रमको सञ्चालन पर्वत पोखराकी सचिव सुस्मा प्रसाईंले गरेकी थिइन् । कम्प्युटरको प्रायोजन लिवर्टी कलेज काठमाण्डौले गरेको हो ।