र अन्त्यमा ……….
डायरी
गतसाता साविक राम्जाकोट स्थित महेन्द्रोदय माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथी लगायतले व्यक्त गरेका विचार सुनेपछि केही लेख्न मन लाग्यो ।
समृद्ध नेपाल सुखी नेपाली वर्तमान सरकारको नारा नै हो । सरकार र सत्तारुढ दलका नेताहरुको कुरा सुन्दा लाग्छ, यहाँ व्याप्त गरिबी, बढ्दो असमानता, बेरोजगारी , न्यून उत्पादन, औद्योगिक विकासमा कमि, अशिक्षा, अन्धविश्वास, ग्रामिण क्षेत्रमा कम विकास, जनसंख्याको उच्च बृद्धि जस्ता कुराले समृद्धि प्राप्त गर्न कुनै अवरोध गर्दैनन् । समृद्धिका विरोधी त ति हुन जसले सरकारको पानी जहाज र रेल सपना हाम्रालागि कति फलदायी र क्षमता अनुकूल छन् ? भनेर प्रश्न गरिरहेका छन् । समृद्धिको नाता छ त केवल पानी जहाज र रेलसंग । यी दुवै आउनासाथ नेपालमा समृद्धि आइहाल्छ । हामी गरिब हुनाका,दुःखी हुनाका तमाम कारणहरु स्वतः पानी जहाज र रेल आउनासाथ हटेर जान्छन् र समृद्धि प्राप्त भै हाल्छ । त्यसैले उनीहरु जुन सुकै ठाउँमा समृद्ध नेपाल सुखी नेपालीको भाषण गर्छन् ।
अब एकछिन् पानी जहाज र रेलको मिठो भाषण सुनेका महेन्द्रोदय माविमा अध्ययनरत बालबालिका र स्थानीयको अवस्था बारे चर्चा गरौं । यातायात सुविधाको कुरा गर्दा विहान एउटा गाडी राम्जाकोटबाट भीमाद हुँदै पोखराका लागि छुट्ने र साँझ त्यही गाडी फर्कने बाहेकको यातायात सुविधा प्राप्त छैन। त्यो पनि बर्षायाम सुरु भएसंगै अवरुद्ध हुन्छ । दुइ दशक अगाडि बनाइएको श्रृङ्ग शान्ति मार्गको अवस्थामा खासै सुधार आएको छैन, जबकी उक्त मोटरमार्गको प्रमुख पद कांग्रेस र तत्कालीन एमालेका स्थानीय नेताले पालैपालो सम्हाली सकेका छन् । फलानाले गरेन भनेर चोर औला ठड्याउने अवसर कुनै दलका कार्यकर्तालाई छैन ।
विद्यालय आउँदा भरपेट पानी पिउन समेत नपाउने महेन्द्रोदय माविमा अध्ययनरत बालबालिकाका लागि पानी जहाज सपनाको के अर्थ होला ? उक्त विद्यालयमा एक जना कार्यालय सहयोगी छन् जसले त्यहाँ अध्ययनरत झण्डै तीन सय बालबालिका र डेढ दर्जन जति शिक्षकका लागि पिउनेपानी पाँचसय मिटर भन्दा परबाट बोकेर ल्याउनु पर्छ त्यो पनि उकालो बाटो । नजिक भएको श्रोतको सदुपयोग गर्दै बालबालिकालाई सहज रुपमा पीउने पानी उपलब्ध गराउन पहल गर्ने भाषण सुन्न पाएका भए शायद उपयुक्त हुन्थ्यो । चैत, बैशाख, भदौ जस्ता सुख्खा समयमा तिर्खाले प्याकप्याक परेर कक्षा छोडी पानीको खोजीमा आधा किमीभन्दा बढी धाउनु पर्ने अवस्थामा रहेका बालबालिकाका लागि पानी जहाज सपना मिठास पूर्ण लाग्यो होला ?
यातायात सुविधाको निरन्तरताका लागि वर्षा नहोस् भनेर कामना गर्नुपर्ने अनि एक घुट्को पानीका लागि ठूलो कष्ट उठाउनु पर्ने ति बालबालिका र स्थानीयको कष्टमा मलम लगाउने कुरा गर्न पाए कति राम्रो हुन्थ्यो होला ? अहिले सम्म त कागलाई बेल सरह नै हुन पानी जहाज र रेल सपना राम्जाकोटका लागि ।