कोरोनाको कहरबाट सुरु भएको वर्ष २०७७ आम नेपालीका लागि उत्साही बनाउने एकाध घटना र निरुत्साही तुल्याउने थुप्रै घटनाहरु लिएर आएको रहेछ । कोरोनाका कारण विदेशमा रोजगारी गुमाएका नेपाली देश फर्कन नपाएर अलपत्र परेका र अभिभावक भनेको सरकारले नाङ्गै बजार घुमाएको दृष्य मात्र हामीले देखेनौं हप्तौं हिँडेर काठमाण्डौबाट धनगढी र काकरभिट्टासम्म पुगेका दृष्य पनि देख्यौं अनि त्यही अभिभावक राज्यका प्रमुखले त्यसलाई नाटक भन्दै नागरिकको कष्टमा नुनचुक छरेको पनि हामीले भोग्यौं ।
वर्षको सुरुमै दुइ तिहाईको सरकारको नेतृत्व गरेको भनेर नथाक्ने प्रधानमन्त्रीले दल फुटाएर आफुलाई अझ बलियो बनाउने प्रयत्न स्वरुप गरेको गैर प्रजातान्त्रिक व्यवहार देख्यौं । सत्ताधारी दलका सांसदहरु नै संसद अपहरण जस्तो जघन्य अपराधमा संलग्न भएका घटनाहरुको साक्षी पनि नेपाली जनले यही वर्ष हुनु प¥यो । संवैधानिक नियुक्तीहरुमा एकलौटी गर्न नपाएपछि संवैधानिक परिषद सम्बन्धि कानुनमा संसोधन गर्न प्रधानमन्त्रीले अध्यादेश जारी गरे, त्यो पनि संविधानको मर्म र भावना अनि प्रजातान्त्रिक मूल्य मान्यता विपरित । अनि आयो पुष ५ । आफ्नो दल भित्रको किचलो मिलाउन नसकेपछि लोकतान्त्रिक संविधानको हत्या गर्न उद्यत हुँदै प्रधानमन्त्री केपी प्रतिनिधि सभाको विघटन सिफारिस गरे र प्रधानमन्त्री कार्यालयको सहयोगी जस्ती बनेकी राष्ट्रपति विद्यादेवी भण्डारीले कलम उज्याएर बसे जसरी सिफारिस सदर गरिन् । सर्वाेच्च अदालतको फागुन ११ को फैसलाले ओलीको त्यो कदमलाई असंवैधानिक भनेसंगै प्रतिनिधि सभाले जीवन त पाएको छ तर काम गर्न भने सरकारले नै दिएको छैन । यसरी जनताको प्रतिनिधि संस्था यतिबेला निकम्मा जस्तै बनाइएको छ ।
यो वर्ष भएको उत्साह जनक कुरा के मात्र हो भने भारतले कयौं वर्ष देखि कब्जामा राखेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको राजनैतिक र प्रशासनिक नक्सामा समेटियो । तर यो उत्साह धेरै समय रहन भने पाएन । उक्त नक्साका विषयमा उल्लेखित शिक्षा मन्त्रालयबाट प्रकाशित पुस्तक वितरणमा सरकारले नै प्रतिबन्ध लगायो भने प्रधानमन्त्रीले विजया दशमीको उपलक्ष्यमा दिएको शुभकामना भिडियोको पृष्ठमा रहेको नक्सामा उक्त चुच्चे भाग थिएन । भर्खरै राष्ट्रपतिद्वारा वितरित विभुषणमा पनि चुच्चे भाग नहुँदा नेपालीको उत्साहमा पानी छरेको छ ।
तर हामी नेपाली निराश हुने जाती होइनौं । नक्सामा मात्र होइन वास्तवमै कालापानी लगाएतका भूमि हाम्रो हुनेमा आशावादी छौं । नयाँ वर्ष २०७८ ले हाम्रो सम्पूर्ण आकांक्षा पूरा गरोस् । नयाँ वर्षको उपलक्ष्यमा लेखक, पाठक, विज्ञापनदाता तथा शुभ चिन्तक सबैमा साथै रमजान पर्व मनाई रहेका मुस्लिम समुदायमा समेत हार्दिक मंगलमय शुभकामना ।
नयाँ वर्षको शुभकामना
previous post