
ऋषिराम पोख्रेल
अधिवक्ता
पृष्ठभूमिः
देवानी कानूनका आधारमा सिर्जना हुने मुद्धाहरुमा देवानी कानूनका सामान्य सिद्धान्तहरु लागू हुन्छन् । यस्ता सिद्धान्तहरु हामी सबैको अनिवार्य जानकारीमा हुनुपर्ने विषयहरु हुन् । देवानी भनेको के भन्ने पनि जानकारी हुँदा यी सिद्धान्तहरु बुझ्न सजिलो पर्दछ । मुलुकी देवानी संहिताले ११ वटा देवानी कानूनको सिद्धान्त उल्लेख गरेको छ ।
देवानी कानून भनेको के ?
प्रत्येक व्यक्ति जन्म ेदेखि मृत्युसम्म उसले आफ्नो सम्पत्ति, विवाह, सम्वन्धबिच्छेद, लेनदेन लगायत हरेक घरायसी कामकाजका क्रममा आइपर्ने विभिन्न प्रकारका विवादहरु लगायका विषयलाई देवानी कानूनले सम्वोधन गर्दछ । देवानी कानूनको विषयभित्र नातासम्बन्ध, धनमाल हक वेहकको विषय पनि पर्दछ ।
अज्ञानता क्षम्य नहुनेः
कानून सबैले जानेको हुनु पर्दछ भन्ने देवानी कानूनको सर्वमान्य सिद्धान्त हो । कानूनको अज्ञानता क्षम्य हुँदैन । कानून नजानेर गल्ति भयो भनेर सजायबाट फूर्सद पाईदैन ।
गल्ती गर्नेले क्षति व्यहोर्नुपर्नेः
गल्ती गर्ने व्यक्तिको गल्तिले कसैलाई हानी नोक्सानी हुन गएमा त्यसको क्षतिको दायित्व गल्ती गर्ने वा गराउने व्यक्तिले व्यहोर्नु पर्ने देवानी कानूनको सर्वमान्य सिद्धान्त हो । प्रत्येक व्यक्तिले आफूले गरेको गलत कार्यको परिणाम आफैले व्यहोर्नु पर्दछ भनेर कानूनमा स्पष्ट गरिएको छ ।
दुःख दिने कार्य गर्न नहुनेः
देवानी कानूनले आफ्नो अधिकारको खोजी गर्न छुट दिएको छ । तर अधिकारको खोजी गर्ने वाहनामा अन्य व्यक्तिलाई दुःख दिने, हैरान पार्ने, कसैको इज्जत मान प्रतिष्ठामा क्षति पुग्ने गरी कुनै काम गर्न वा गराउन नहुने कुरा कानूनमा उल्लेख भएको विषय हो ।
गल्तीको फाईदा लिन नपाउनेः
कुनै व्यक्तिले आफैले गरेको गल्तिबाट आइ लागेको फाईदा लिन खान नपाउने देवानी कानूनको आदर्श हो । कुनै फाईदा लिने उद्देश्यले कसैले कुनै गल्ति गरेको पुष्टि भएमा त्यस्तो गल्तिबाट भएको फाईदा लिन पाईने छैन । जस्तो अपुताली खाने हकदारले त्यस्तो व्यक्तिलाई मारेमा उसले अपुताली खान पाउँदैन भन्ने यो कानूनको मूल मर्म हो ।
हीत विपरितको काम अमान्यः
मुलुकी देवानी संहिताले संरक्षकत्व, माथवरी सम्बन्धी कानूनी व्यवस्था गरेको छ । यसरी कसैको संरक्षक वा माथवरी भएका व्यक्तिहरु त्यसरी संरक्षकत्वमा वा माथवरीमा लिएको व्यक्तिको हीतमा विभिन्न काम गर्ने छुट दिएको छ । तर त्यस्तो संरक्षकत्व वा माथवरीमा बसेको व्यक्तिको हीत विपरित हुने कुनै काम गरेमा त्यो काम अमान्य हुने व्यवस्था कानूनले गरेको छ ।
असलछिमेकी बन्नु पर्नेः
मुलुकी देवानी संहिताले सबै नागरिकलाई असल छिमेकीपनको व्यवहार गर्न सिकाएको छ । अथवा निर्देश गरेको छ । छिमेकमा बसेर छिमेकीलाई बाधा पुग्ने, दुःख दिने व्यवहार गरेमा कानून बमोजिम क्षतिपूर्ति दिलाईदिने कानूनले उद्घोष गरेको छ ।
प्रथा परम्पराले मान्यता नपाउने ?
कानूनसंग बाझिएका प्रथा परम्पराले मान्यता नपाउने देवानी कानूनको सिद्धान्त बनाईएको छ । कुनै जाती समुदायमा विद्यमान रहेका सामाजिक संस्कार परम्पराहरु कानूनमा भएको व्यवस्थासंग बाझिएको हदमा अमान्य हुनेछन् । जस्तो बहूपति प्रथा । बहूपत्नि प्रथा । तलाक प्रथा ।
निष्कर्ष ः
मुलुकी देवानी संहिताले कानूनको अनविज्ञतालाई क्षमा दिन नसक्ने व्यवस्थालाई यथावत स्वीकार गर्दै कसैलाई दुःख दिने नियतले कुनै कार्य गर्नबाट रोक मात्रै लगाएको छैन । गल्ति गर्नेले क्षति व्यहोर्नु पर्ने कानूनी व्यवस्था गरेको छ ।