अपवाद बाहेक सृष्टिको मानिसलाई दुई जातमा विभाजन गरेको छ । पुरुषको जात र महिलाको जात । यसको अर्थ पुरुष र महिला भन्दा भिन्न लिङ्गका मानिसहरु अरु नै कुनै दुनियाका मानिस भन्ने आशय होइन । उनिहरु पनि हाम्रै समाजका अङ्ग हुन् । यो समाज उनिहरुको पनि त्यत्तिकै हो जति अरुको हो । सिद्धान्त र व्यवहारमा मेल नखानु अलग कुरा भयो । मैले यो आलेखमा महिला र पुरुषको विषयमै बहस गर्ने कोशिस गरेको हुँदा दुई जात भनेर महिला र पुरुष भन्न खोजेको मात्र हुँ ।
लैङ्गिक असमानताका कुराहरु विशेष गरी महिला प्रति गरिने असमान र अपमानजनक व्यवहार मानव समाजमा हिजो पनि थियो र आज पनि छ । सम्बभत केहि कालखण्ड सम्म अझै रहला । विश्वमा अधिकांश मानव समुदाय पितृसतात्मक रहेको छ । यो सत्य कुरा हो । यसको अर्थ मातृसतात्मक मानव समुदायनै नभएको भन्ने तर्क भने होइन । इतिहासलाई खोतल्दै जाने हो भने र हाम्रै धर्मशास्त्रहरुमा पनि मातृसत्ताको उल्लेख गरिएका उदाहरणहरु पाउन सकिन्छ । तर तुलनात्मक रुपमा तिनको आकार सानो छ ।
पुरुषले महिला प्रति गर्ने असमान व्यवहार आज पनि समाजमा व्याप्त छ । यो कटुसत्य छ सँग सँगै अर्को सत्य के पनि हो भने महिलाहरुको समानताको लागि हिजो पनि आवाजहरु उठेको थियो र आज पनि उठेको छ र समानता कायम नभएसम्म उठिनै रहला । महिलाहरुलाई दिइएको अधिकारहरु बढाईएको छ, स्वास्थ्य, सुरक्षा, रोजगार हरेक क्षेत्र र दृष्टिकोणबाट सुरक्षित बनाउने प्रयास गरिएको छ । रोजगारीमा महिला आरक्षण कोटा, दाईजो प्रथाको अन्त्य, महिलाको नाममा हुने सम्पतिमा कर मिनाहा यि सबै महिला शशक्तिकरणको लागि सरकारले चालेको प्रयासहरुका प्रतिनिधि उदाहरणहरु हुन् । सैद्धान्तिक रुपमा यस्ता थुप्रै व्यवस्थाहरु भईसकेका छन् । तर व्यवहारिक पक्षलाई नियाल्ने हो भने समाज हिजो भन्दा खास फरक छैन । असमानता आज पनि छ । हुनसक्छ त्यसको स्वरुप फेरिएको छ । के त्यसो भए महिला पुरुष समानताको लागि आवाज उठाउनु अर्थहिन कुरा रहेछ त ? के अब त्यसो भए महिला हकहित र समानताको लागि कसैले आवाज नउठाउने त ? होइन उठाउनुपर्छ । आ–आफ्नो ठाउँ र क्षेत्रबाट उठाउनुपर्छ । समानताको पक्षमा उठेको यस्तै एउटा आवाजको बारेमा यहाँ उल्लेख गरौं जस्तो लाग्यो ।
केहि दिन अघि फेसबुकमा शिर्षक हेर्दै मोबाईलको स्क्रिन स्क्रोल गरिरहेको थिए । एउटा शिर्षकले झ्याप्व ध्यान खिच्यो । शिर्षक थियो महिलालाई ‘तँ’ पुरुषलाई ‘हजुर’ । लक्ष्मी सापकोटाले मंसिर २० गते सेतोपाटीमा यो लेख लेख्नुभएको रहेछ । शिर्षक चाख लाग्दो भएको कारणले लेख पढ्ने जमर्को गरें । पुरा लेख पढिसकेपछि म उहाँको कुरासँग पूर्णतः सहमत भए तर सँगसँगै एउटा प्रश्न मनमा उब्जियो । त्यहि प्रश्न आजको आलेखमा प्रस्तुत गर्ने कोशिस गर्दै छु ।
सापकोटा जी को बुझाईमा श्रीमानले श्रीमतीलाई तँ भन्नु र श्रीमतीले श्रीमानलाई हजुर भन्नुबाटै असमानता र विभेदको हाम्रो सामाजीक दृश्य छर्लङ्ग हुन्छ । जो पितृसत्तात्मक समाजको उपज हो । यो सत्य र वास्तविक कुरा हो । उहाँले आफ्नो आलेखमा शिक्षित र सक्षम नारीहरु पनि पुरुष अधिनायकवाद मुक्त हुन नसक्नु ज्यादै दुखद् कुरा भएको निस्कर्ष दिनुभएको छ । जुन वर्तमान समयसम्म हाम्रो समाजको यथार्थ पनि हो । मेरो मनमा अब्जिएको प्रश्न चाहिँ के हो भने, यो अवस्थामा सृजना हुनुमा हामी को कति भागेदार छौं ? समस्या समाधानको उपाय के त ?
महिला पुरुषमा असमान व्यवहार हुनुको कारण हामी पितृसत्तात्मक समाजलाई दोष दिन्छौं । यो कुरा ठीक पनि हो तर हामीले के पनि बुझ्नु जरुरी छ भने पितृसत्ता भनेको एउटा अवधाराणा हो । यो अवधारणाको आषय भनेको अवयव भनेको समाजको महिला र पुरुष नै हुन् । तसर्थ असमान व्यवहारको पछाडि पितृसत्ता होइन, महिला र पुरुष दुवै दोषी छन् भनेर बुझ्नु पर्दछ । महिलाहरुप्रति पूर्ण सम्मान गर्दै भन्न चाहन्छु । स्वयम महिला पनि महिला पनि महिला माथि हुने असमान व्यवहारको लागि उत्तिकै जिम्मेवार छन् । जति पुरुष छन् । मानिस स्वभावैले शक्तिको भोको हुन्छ । यसर्थ आफ्नो हातमा रहिरहेको शक्ति सरक्क महिलासंग बाढ्न पुरुष चाहँदैनन् र त्यो भन्दा पनि खतरापूर्ण कुरा चाहि महिला आफै त्यो शक्ति पुरुषको हातमा रहिरहने वातावरण बनाई रहेका हुन्छन् । एउटा आईएसम्म पढेकी महिलाले विहे गर्नुु प¥यो भने कमसेकम स्नातक तहसम्म पढेको केटा खोज्छन् । स्नातक पढेको भए स्नातकोत्तर पढेको खोज्छन् । आफूले मासिक तीस हजार कमाउँछन् भने कमसेकम आफूले भन्दा केही भएपनि बढी कमाउने होस् भन्ने चाहना हुन्छ । डाक्टर इन्जिनियर जस्ता हाई प्रोफाईलका नारीहरु सामान्य युवकसंग घरजम गर्ने कुरा सामान्यतः सोच्न पनि सक्दैनन् । आफूभन्दा अझै हाई प्रोफाईलकै केटा खोज्छन् । मैले भन्न खोजेको कुरा चाही के हो भने पितृसत्ताको दवदवा रहेको नेपाली समाजमा विहे गरेर जीवन साथी खोज्ने कुरामा पनि आफूनै अलिकति तल रहन रुचाएपछि स्वतः असमान व्यवहार र चिचोमिचो हुने संभावना बढेर जान्छ । यसको अर्थ पुरुषले थिचोमिचो गर्न पाउनु पर्दछ भन्ने मेरो तर्क होइन । तर वातावरण त्यस्तै बन्न गैदिन्छ भन्ने कुरा मात्रै हो ।
सापकोटा जीले नै प्रस्तुत गर्नुभएको प्रसंगमा पनि महिला पुरुष दुवै शिक्षित छन् । सरकारी सेवामा छन् । तर श्रीमति सुब्बा, श्रीमान अधिकृत । यदि यसको उल्टो हुने थियो भने के ती श्रीमानमा त्यतिकै आँट हुन्थ्यो होला वा हुँदैनथ्यो होला । मानव मनोविज्ञानको हिसाबले मानिसले चाहे महिला होस् या पुरुष आफू भन्दा तल्लो, आफू सरहको र आफू भन्दा माथिल्लो तहको मानिससंग गर्ने व्यवहार फरक हुन्छ । त्यस कारण शिक्षित भैकन पनि जबसम्म महिलाहरुले विहे गर्ने कुरामा आफू भन्दा माथिल्लो तहको, माथिल्लो भन्दा धेरै कमाउने पुरुष रोज्ने चलन छाड्दैनन्, तबसम्म असमानताको यो विऊ कहि न कही समाजमा रही रहन्छ । तर यसो भन्दैमा श्रीमतिले भन्दा धेरै कमाउनु, धेरै पढ्नु पुरुषको लागि श्रीमतिलाई थिचोमिचो गर्ने लाईसन भने कदापि होइन ।
महिला पुरुषमा हुने विभेदको कारणहरुको कुरा गर्दै गर्दा विभेदलाई स्वीकारी दिनु र बच्चै देखि त्यो पनि परिवारबाटै विभेदा सिकाईनु, दुःखद कुरा हो । सुन्दा अप्रिय लाग्दा अरुलाई समानता र अधिकारको पाठ सिकाउने महिलाहरु नै सहजै आफै माथि भएको विभेद स्वीकार गरिरहेका हुन्छन् । यतिको त ठीकै हो भन्ने मनस्थितिमा बाँचि रहेका हुन्छन् । अधिकारवादी महिलाहरु कै हालत यस्तो भएपछि कसरी आउँछ समाजमा परिवर्तन ? महिला पुरुष समान हुन् भने एउटी महिलाले नै आफ्नो छोरालाई ढुक्क खुलेआम साथीभाईसँग हिड्न डुल्न दिन्छिन् तर छोरीलाई ? अहँ अध्यारो हुनुभन्दा पहिल्यै घर आइपुग्नुपर्छ है ।
केटाहरु जस्तो बरालिएर हिड्नु हुँदैन नि भन्ने वातावरण छ हाम्रो समाजमा । उनले आफैंले कहि न कहि पुरुष भनेको पुरुष नै हो भन्ने गलत तथ्यलाई स्वीकारी दिन्छीन् । अब सानै देखि यस्तो स्कुलिङमा हुर्किएको एउटी बालिकाले आफु कसैकी श्रीमती बन्दै गर्दा कसरी श्रीमानलाई तँ भन्ने आँट गरोस्, कसरी श्रीमानको बिरोध गर्ने आँट गरोस् ? अक्सर हाम्रो समाजमा सुनिन्छ, नानी भाईको लुगा धोइ देऊ त । तिमी त दिदी हो नि । फेरी बहिनी भएपछि त यसो दाजू भाईको लुगा धोई दिनु पर्दछ छ नि । तर कहिल्यै सुनिदैन, तिमी दाई हौं, बहिनीको लुगा धोई देऊ वा भनौं तिमी भाई हौ त्यसैले तिमीले दिदीको लुगा धुनु पर्दछ । सुन्दा हाँसो लाग्छ, तर दैनिक जिवनमा यस्तै सानो सानो घटनाको विभेदबाट नै एउटा बच्चीले आफू पुरुष भन्दा कमजोर महसुस गरिसकेकी हुन्छ । खेतबारी खन्ने दाउरा चिर्ने काम छोराको, भात तरकारी, बढार बुढुर छोरीको, छोरा दुई चारदिन साथी भाईसंग हराए पनि ठिकै छ, छोरा हो । छोरी उज्यालैमा घर आउनु प¥यो, बचपनमा सिकाईने र गरिने यस्तै व्यवहारबाट बालिकाहरु मानसिक रुपमा यति कमजोर हुँदै हुर्कन्छन्, कि ठूलो भएपछि उनिहरु चाहेर पनि थिचोमिचोको प्रतिकार गर्न सक्दैनन् । त्यसैमाथि ठूलो भए पनि बाबुआमाले नै श्रीमति भएपछि अलिअलि सहन सक्नु पर्दछ भनेर सम्झाउने कुरा त छँदैछ । यस्तै ससाना लाग्ने कुराहरुले नै महिला र पुरुष बीचको विभेद बढाउन मद्धत पु¥याई रहेको हुन्छ ।
समाजमा महिला पुरुष बीच विभेद भएको कुरा सोह्रैआना सत्य हो । शिक्षित महिलाहरुबाट पनि थिचोमिचोको प्रतिकार हुन नसकेको कुरा पनि सत्य हो । तर यदि समानता ल्याउने नै हो भने किन विरोध गर्न सक्ने अवस्था भएन त ? भन्ने कुराको जरैसम्म पुग्नु पनि जरुरी हुन्छ । महिला पुरुषको समानता विना समाजको विकास समृद्धि सम्भव छैन । तसर्थ सबै मिलेर समानताको वातावरण सिर्जना गर्नुमा नै लोकहित निहित छ ।
तँ तिमिः तपाई हजुर
previous post