दमौली/कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सुझाव सहित प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् ।
कार्तिक १७ गते रातीको भुकम्पका कारण ठूलो क्षती व्यहोरेका जाजरकोट र रुकुम(पश्चिम) पुगेर फर्केका उनीहरुले भुकम्प प्रभावित क्षेत्रका नागरिकको सरकारसंगको अपेक्षा र आफ्ना सुझाबहरु सहित सरकारको ध्यानाकर्षण गरेका हुन् ।
राहत वितरण कार्यलाई थप व्यवस्थित गर्न आवश्यक भएको उल्लेख गरेका महामन्त्रीद्वयले चिसो बढ्दै गएको र यसले सुत्केरी, बालबालिका, वृद्धवृद्धा र अपांगता भएका नागरिकको जीवन कष्टकर हुने भएकाले मंसिर मसान्त भित्र सबैका लागि कम्तिमा एउटा जाडो र एउटा बर्खा झेल्नसक्ने गरि निश्चित मापदण्डको आधारमा बलियो अस्थायी आवास निर्माण गरिसक्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
अस्थायी आवास निर्माण गर्न थुप्रै स्वयमसेवीको आवश्यकता हुने आफुहरुले महसुस गरेको भन्दै उनीहरुले नेपाली कांग्रेसले १ हजार अस्थायी आवास स्वयंसेवी दक्ष जनशक्तिका साथ निर्माणका लागि श्रमदान गर्ने बताएका छन् । महामन्त्रीद्वयले अस्थायी आवास निर्माण गर्न सरकारले आफ्नो सुरक्षा संयन्त्र परिचालन गर्नुसँगै राजनैतिक दलहरू, तिनका भातृ संगठनहरु एवं विभिन्न संघसंस्थाहरुलाई आह्वान गर्न जरुरी रहेको बताएका छन् ।
‘सांसद विकास कोष’ का रूपमा परिचित संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि गत बजेटमा सरकारले छुट्याएको ८ अर्ब २५ करोड रकम भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा लगाउन माग समेत गरेका छन् । उनीहरुको माग बमोजिम सरकारले उक्त रकम विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय समेत गरिसकेको छ । ११ बुँदे ध्यानाकर्षण पत्रमा थापा र शर्माले स्वास्थ्य सेवालाई सूचारु गर्ने, परामर्श दाताको व्यवस्था गर्ने लगाएत विषयमा सुझाव समेत दिएकाछन् । कार्तिक १७ गते राती ११ः४७ मा जाजरकोट केन्द्रविन्दु भएर ५.७ म्याग्नीच्युडको भुकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षती भएको थियो ।