भानु÷बारम्बार बालबालिका माथि चितुवाले आक्राण गर्न थालेपछि भानु नगर पालिकाका १, २, ३ र ४ वडाका बासिन्दा यतिबेला त्रासमा छन् । सांझ परेपछि छोराछोरी बाहिर निस्के भने चितुवाको आक्रमणको शिकार बन्छन् भन्ने त्रास उनीहरुमा छ ।
अहिलेसम्म दुइ भाले र एक पोथी चितुवा समातेर चितवन राष्ट्रिय निकुञ्जमा पठाइसकिएको छ । तर समातिएका चितुवा नै नरभक्षी हुन भन्ने एकिन नहुँदा स्थानियमा त्रास घटेको छैन । अघिल्ला दुइ चितुवा खोरमा पर्दा नरभक्षी चितुवा समातिएको भनिए पनि चितुवा समातिएकै दिन एक बालिकामाथि आक्रामण भएपछि स्थानीयलाई अझ शसंकित तुल्याएको छ । पछिल्लो पटक नियन्त्रणमा लिन सफल भएको चितुवा पोथी भएको र उक्त चितुवा नै नरभक्षी भएको हुनसक्ने बताइए पनि अघिल्ला घटनाहरुबाट स्थानीयले विश्वास गरीहाल्ने अवस्था बनेको छैन ।
विद्यालय गएर पर्कंदै गरेका वा सांझ खेल्ने निस्केका बालबच्चा घर फर्कने हुन कि होइनन् भन्ने त्रासमा बसिरहेका बेला ढिलै भए पनि चितुवा नियन्त्रणका लागि आशालाग्दा प्रयत्नहरु गर्न थालिएको छ । अहिले प्रदेश सरकारको ३० लाख बजेटमा चितुवा नियन्त्रणका लागि विभिन्न प्रयत्न भएका छन् । विभिन्न स्थानमा क्यामेरा जडान गरेर निगरानी बढाइएको छ । तर पनि विश्वस्त भै हाल्ने अवस्था भने बनेको छैन । छिटो भन्दा छिटो परिणाम देखिने गरी र स्थानीयलाई विश्वास लाग्ने खालका काम हुनु जरुरी छ । आशा गरौं, चितुवा नियन्त्रणमा खटिएका विज्ञहरुले भने झै छिट्टै नरभक्षी चितुवा नियन्त्रणमा आई जनमानसबाट व्याप्त त्रास हट्ने छ ।