हजुर आमाको ईउलिस
आज भने यसो चिया खाएर बाहिरको हावापानी बुझौं भन्ने हिसाबले बाहिरतिर निस्किन मात्र लागेको थिएँ, मेरी हजुरआमाको आवाज आई हाल्यो । ‘कता हो एकाविहानै लखर लखर ? कि मर्लिङ्गवाक गर्ने भए मसंगै हिड नत्र अब घाँम डाँडा माथि आईसकेपछि किन हिड्न परो ?’
नतमस्तक भएर खुरुक्क फर्केर आएँ अनि छेउमै बसें । त्यसको कुनै विकल्प पनि थिएन । बरु ‘लक्षमण रेखा’ जसो तसो पार होला । हाम्री हजुरआमाको त्यो भन्दा पनि लौहरेखा छ । त्यसैले पार गर्नु भनेको असम्भव ।
कथा शुरु हुन्छ । ‘हेर आज विहान मर्लिङ्गवाक गर्दै हिडेकी चियापसलमा पाँच छ जना माड्साप बसेर गफ गर्दै रहिछन् । अरु सबैले त मलाई नमस्ते गडमर्लिङ्ग भने तर त्यो छ नि एउटा अस्तिभरखर आ’को । मलाई त टेरपुच्छर लगाउँदैन बा’ । बरु त्यो तेरो साथीले मलाई चिया खुवायो, पाउरोटी खुवायो । मान्छे भनेको त्यस्तो पो हुनु पर्दछ । तर त्यसले त मलाई नचिने झै गरो । एकछिन कुरा गरें । इउलिस पढाउने मास्टर रैछ । अनि त्यसपछि मैले पनि त्यसको सातो खार आँए ।’
मैले यसो अनुमान गरें कस्तो रहेछ होला सम्वाद जहाँ हामी बुढीले सबैको सातो खाने गरी गरिएको सम्वाद, भलाकुसारी, वार्तालाप अथवा कुराकानी ।
‘यता सुन्, हेर नाती आज त मैले खतरा कम्मरसेसन (कन्भरसेसन) गरें नि तिनेरुसंग । खुबै विग विग टक गर्छौ । म पनि कन्ट्री खा’र मन्त्री हुन नपाकी हूँ । मेरा बुढा नि आर्मिबाट रिटार भ’र अहिले पिल्सीङ्ग खान्छन्– जुँगामा ताउ ला’र । तिमी जस्ता मास्टरले पढाउने स्कूलाँ अदक्ष, चेयरमेन भ’र बस्या छन् । सानादेखि ठूला सबैले, विगदेखि स्मल सबैले गुडमर्लिङ्ग, गुडनाईट भन्छन् । कहिले काँही त मलाई नि हेलो अदक्षनी आमा ! हेलो अदक्षनी हजुरआमा ! भन्छन् । था’छ… त्यतिबेला म हेप्पी हुनु त छुट्टै छ, मेरो नोज पनि तिनिक्क तन्केर घिरम्ला जत्रो हुन्थ्यो । बुढापाकाको रिसपेट गरे तिमेरुको रिस्पेट हुन्छ । तिम्रा लाउरे बा जस्तै सबैले रिस्पेट पाउँछौ । अहिले आ’र त्यसो गरेउ भने टुमारो ग’र तिमेरुलाई तिमेरका जेललेशनले रिस्पेट गर्दछन् ।’
यति भनेर बाँकी र’को चिया स्वाँट्ट पारेर हिँडे । सबै हेरेको हेर्यै भए ।