“मानिस कमाएर धनी हुने होइन, ऊ त बचाएर धनी हुने हो ।”
अर्थशास्त्रको भाषामा धनी हुनु भनेको पुँजी निर्माण गर्नु हो र पुँजी निर्माण गर्न वचत आवश्यक हुन्छ । यही कुरालाई माथि प्रस्तुत वाक्यले सरल अर्थात सबैले बुझ्ने भाषामा प्रस्ततु गरेको छ ।
मानिस कमाएर होइन बरु आफुले गरेको कमाई वचत गरेर धनी हुने हो भन्ने कुरालाई सजिलै बुझाउन अठारौं शताब्दीको अन्त्य तिरको तिब्बतको एउटा उदाहरण प्रस्तुत गर्ने अुनमती चाहन्छु । त्यसपछि कोही किन खाए मकै नखाए भोकै हुन्छ भन्ने विषयमा चर्चा गर्नेछु । शताब्दीको अन्त्य तिर तिब्बतमा एक बौद्धमार्गी राजा थिए, मुने
चेन्पो । उनी आफ्ना प्रजाको दुःख देख्न सक्दैनथे । उनले आफ्ना नागरिकले भोगको अभाव र गरिबी सधैंका लागि अन्त्य गर्न राज्यभरका नागरिकको सम्पत्ती जम्मा पारे र सबैलाई बराबर बाँडे । केही समयकालागि धनी र गरिब बीचको विभेद अन्त्य भएजस्तो, उनीहरुबीचको खाडल मेटिए जस्तो देखियो । तर त्यो अवस्था धेरै समय टिकेन । अपवादलाई छोडेर पहिलेका धनी पुनः धनी बने भने पहिलेका गरिब फेरी खाए मकै नखाए भोकैको अवस्थामा फर्किए । दोस्रो पटक पनि मुनेले पहिले कै प्रक्रिया दाहो¥याए । तर समस्या ज्युँका त्युँ रह्यो अर्थात कोही फेरी हुने खाने बने भने कोही हुँदा खाने अवस्थामा आर्लिए ।
चिया गफ वा अन्य कुनै समयमा मानिस कोही किन हुने खाने अर्थात धनी र कोही किन खाए मकै नखाए भोकै हुन्छ ? भन्ने जिज्ञासा राख्ने हो भने हाम्रा अग्रजहरु भन्नुहुन्छ, हाम्रो हातका पाँच औंला त बराबर छैनन् भने संसारमा भएका ८ अर्वभन्दा बढी मान्छे कसरी समान हुन सक्छन् ? भनेर प्रति प्रश्न गर्ने गर्नु हुन्छ । र अगाडी उहाँहरुको तर्क हुन्छ, मानिस फरक भएसंगै विचार फरक हुन्छ । व्यवहार फरक हुन्छ । कार्यशैली फरक हुन्छ । अनि फरक हुन्छ, धानार्जन गर्ने र त्यसको परिचालन गर्ने तरिका । कोही आफुले गरेको कमाईको केही अंश बचाउनु पर्छ र त्यसलाई अन्य उत्पादनमुलक काममा लगाउनु पर्छ भन्ने हुन्छन् भने कोही दिनभर कमायो, रातभर रमायो स्वभावका हुन्छन् । अनि सम्पत्तिमा असमानता भैहाल्छ । यस विषयमा मैले चिनेजानेका केही व्यक्तिहरुसंगको सम्झना प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ ।
लेखपढ खासै नभएका कारण दैनिक ज्याला मजदुरीमा घर व्यवहार चलाउनु पर्ने पूर्व परिचित छन् मेरा । हरेक विहान उठ्नासाथ घर नजिकै रहेको पसलमा पुगेर एक बोतल रक्सी पिउने उनी पसले वा अरु कोही हरेक दिन धनी बन्दै गएको तर आफुभने दिनरात नङ्ग्रा खियाउँदा पनि गरिबीको दलदलबाट माथि उठ्न नसकेको गुनासो गर्ने गर्छन् । गाउँमा सेवा दिन आइपुगेको लघुवित्तबाट लिएको ऋणले दाल–चामल, लत्ताकपडा, मासु किन्ने बाहेक अन्य उत्पादनमूलक काममा लगाएको मलाई सम्झना छैन ।
अर्काेपनि उदाहरण छ, मसंग । आफ्नो घरको उत्पादनले मुस्किलले ४ महिना हातमुख जोर्न पुग्ने परिवारका घरमुली उनी चलनचल्तीको ज्यालामा काम नगर्ने खालका छन् । ठूला ठेक्का लिन आवश्यक योग्यता नभएका उनी सानातिना ठेक्का लिन्छन् र उनको दैनिक हिसाब हुन्छ,आफ्नो ज्याला चलनचल्तीकोभन्दा दोब्बर वा अझ बढी होस् । बरु दिनभर तास खेलेर वा चौतारामा गफिएर वस्ने तर चलनचल्तीको ज्यालामा काम नगर्ने उनको सिद्धान्त नै हो ।
माथि चर्चा गरिएका पहिलो व्यक्ति खाए मकै नखाए भोकै भइरहनुका दुइवटा कारणहरु छन् । पहिलो त उ स्वयम् हो । किनभने दैनिक ज्याला मजदुरी गरेर कमाएको धनलाई वचत गरेर उत्पादन मुलक काममा लगाउने सोच उसमा आएन । छोराछोरीको शिक्षादीक्षा, स्वास्थ्य लगाएत विषमया खर्च गर्नुपर्ने हुन्छ, त्यसैले मैले वा हामीले वचत गर्नुपर्छ भन्ने कुराको ज्ञानको अभाव वा रक्सीको नासाको कारण हो ? वचत र त्यसको परिचालन मार्फत पुँजी निर्माणमा उनको ध्यानै गएन । पुँजी निर्माणका लागि वचत आवश्यक हुन्छ र त्यो वचत गर्ने इच्छा शायद उनमा भएन । अर्काे शब्दमा वचतले आफ्नो भविष्य सहज हुन्छ भन्ने सत्यलाई अनदेखा गरे ।
मानिस कमाएर मात्र धनी हुने भए दैनिक एकहजार नगद ज्याला बुझ्ने र आफ्नो जमिनमा खनीखोस्री गर्दा वर्षभरी हातमुख जोर्न पुग्ने उनी गाउँ समाजमा हुनेखाने मै गनिनु पर्ने हो । तर वचत गर्न नचाहेका कारण उनी वर्षाैदेखि हुँदाखानेबाट हुने खानेमा उक्लन सकेका छैनन् । चलनचल्तीको भाषामा उनी गरिब भइरहनुको अर्काे कारण पारिवारिक विरासत पनि हो । उनका बुबा हुँदा खाने अवस्थाका थिए । त्यसैले उनलाई राम्रो शिक्षादीक्षा दिन सकेनन् । राम्रो स्वास्थ्य सुविधा उनले पाएनन् । फलस्वरुप उनले राम्रो रोजगारी पाउने त भएनन् नै खराव स्वास्थ्यका कारण कतिपय अवस्थामा पाएको काम पनि गर्न सकेनन् । यसले उनको कमाइको श्रोत खुम्चिन पुग्यो र खाए मकै नखाए भोकैको कोटीबाट माथि उक्लन सकेका छैनन् ।
माथि उल्लेख गरेको दोस्रो व्यक्ति किन गरिब भयो भन्ने कुराको व्याख्या शायद यहाँ गरिरहनु परेन । यहाँ उल्लेख गरेका व्यक्तिको उमेर, तौल, वर्ण फरक होला तर प्रवृत्ति एउटै हो । दोस्रोलाई पनि दैनिक मेहनत गर्ने र थोरै थोरै भएपनि बचत गरेर त्यसको सही परिचालन मार्फत उत्पादनमा वृद्धि गरी थप पुँजी आर्जन गर्दै खाए मकै नखाए भोकैबाट हुने खानेमा पुग्ने आकांक्षा नै रहेन । शायद यस्तै प्रवृत्तिका नागरिक भएका कारण तिब्बतका राजा चेन्पोको गरिबी हटाउने प्रयत्न विफल भएको थियो ।
हामी कहाँ पनि गरिबी निवारणका अनेकौं प्रयत्न भएका छन् । तर तिनले अपेक्षित प्रतिफल दिन नसकेको भने सत्य हो । राज्यका कतिपय काइदा कानुन यस्ता छन् कि तिनले हुने खानेलाई अझै हुनेखाने बनाउने तथा हुँदा खानेलाई अझ तन्नम बनाउने गर्दछन् । गरिब भनिनेहरु सबै मैले माथि वर्णन गरेजस्ता मात्र
छैनन् । लगानी गर्ने पूँजी पाउने हो भने दिनरात नभनेर मेहनत गर्दै हुनेखाने मा उक्लेन इच्छाशक्ति बोकेका धेरै छन् । तर उनीहरु अनुकूल वातावरण छैन । साहुसंग ऋण लिएर व्यवसाय गरौं, कमाई जति ऋणको साँवा व्याज तिर्दै ठिक्क । बैकमा ऋण लिन जाउँ आफ्नो पहुँच छैन ।
सत्य के पनि हो भने केही गर्ने हुटहुटी हुनेहरुका लागि हुँदा खानेबाट हुने खानेमा उक्लन असम्भव भने छैन । पाखुरी र कर्ममा विश्वास भए खाए मकै नखाए भोकै भन्नेहरुलाई हुने खानेमा उक्लन हजार जुनी
लाग्दैन । सुन्दा नमिठो लागे पनि भन्ने पर्ने हुन्छ , हामी हुने खाने बन्ने वा हुँदा खाने बन्ने भन्ने कुरा धेरै हदसम्म हामी आफैमा निर्भर हुन्छ ।
खाए मकै नखाए भोकै किन ?
previous post