वर्षको ३६५ दिनमा अनगिन्ति दिवसहरु मनाईन्छन् । कुनै राष्ट्रिय दिवसहरु त कुनै अन्तराष्ट्रिय दिवसहरु । हिजो कात्र्तिक २३ गते अङ्ग्रेजि मिति अनुसार नोभेम्बर महिनाको ९ तारिखः हिजो पनि एउटा अन्तरराष्ट्रिय स्तरको दिवस परेको थियो, ‘विश्व स्वतन्त्रता दिवस ।’ ‘स्वतन्त्रता दिवस’ यो शब्दावलीले कता कता मन मस्तिष्कलाई तरङ्गित बनायो । स्वतन्त्रता शब्द आफैमा एउटा गहन र बृहत् शब्द हो । यो शब्दलाई अन्य धेरै शब्दहरुसँग जोडेर बहुआयामिक रुपबाट व्याख्या र विश्लेषण गर्न सकिन्छ । यो शब्दको गहिराई र यसले बोक्ने गहन भावको चिरफार गर्ने सामर्थे त पङ्तिकारमा छैन र पनि आजको आलेखलाई यहि स्वतन्त्रता शब्दको वरीपरी फिजाउँने जमर्कोसम्म चाहिँ गरौं कि ।
नोभेम्बर ९ मा मनाईने विश्व स्वतन्त्रता दिवसले के बाट स्वतन्त्र भएको भन्ने कुराको त स्पष्ट जवाफ दिँदैन तर यसको औचित्यलाई अर्थाउँदै जाने हो केलाउँदै जाने हो भने स्वतन्त्रता दिवस भन्नाले इतिहासको कुनै कालखण्डमा व्याप्त रहेको औपनिवेशिक चलन चल्ति तर्फ सङ्केत गर्छ । इतिहासलाई फर्केर हेर्ने हो भने कुनै समय संसारमा अङ्ग्रेजहरुको रजगज थियो । विशेषतः बेलायतको । युरोपेली राष्ट्रहरु शक्ति सम्पन्न राष्ट्रहरुको सूचीमा पर्थे । यद्यपी कैयौं साना र कम शक्तिशाली राष्ट्रहरु भने अरु शक्तिशाली राष्ट्रहरुको उपनिवेश थिए । वर्तमान समयमा एशियाको शक्ति राष्ट्रको रुपमा उदाईरहेको भारत पनि अङ्ग्रेजहरुको गुलाम थियो अर्थात् भारत राज्य पनि बेलायती शासन सत्ताको उपनिवेश थियो । उसो त अङ्ग्रेजहरुको गुलाम हुनुभन्दा पहिले पनि भारतमा विभिन्न समयखण्डमा विभिन्न वंशावलीहरुले आफ्नो शासन सत्ता नजमाएका भने होइनन् । तर अङ्ग्रेजी हुकुमतको अवस्थामा जस्तो जर्जर अवस्था भने अरु समयमा थिएन । गरीब र अशिक्षित अफ्रिकी राष्ट्रहरुको अवस्था त झन् कहालिलाग्दो थियो । यस मानेमा चाहिँ नेपाली र नेपाल भाग्यमानी हो कि हामीले आफ्नो देशकै शासकहरुबाट अन्याय र अत्याचार सहनु परे पनि विदेशी शासकको गुलाम हुनुपरेन । इतिहासमा नेपाल कहिल्यै पनि कुनै पनि विदेशी शक्तिको उपनिवेश हुनु परेन । विदेशी शासकहरुको अन्याय र अत्याचार बढ्दै जाँदा, क्रुरताको सिमा नाघ्दै गर्दा मानिसहरुमा एक प्रकारको रिस र आवेग अत्पन्न हुन शुरु भयो । बिस्तारै त्यो रिस देशभक्तिको भावनामा बिकसित भयो । मानिसहरुमा चेतना र जागरण बढ्दै गयो । परीणाम स्वरुप ठाउँठाउँमा स्वतन्त्रताको लागि आन्दोलनहरु हुन पुगे । आन्दोलन चर्कदै गयो कतै निशस्त्र त कतै स–शस्त्र पनि । फलस्वरुप विस्तारै विस्तारै राज्यहरु स्वतन्त्र हुँदै गए । शक्तिशाली राष्ट्रहरुले शक्तिहिन राष्ट्रलाई आफ्नो उपनिवेश बनाउने पद्धतिको अन्त्य भयो । आज संसारका विभिन्न राज्यहरुमा आफ्नो राज्य स्वतन्त्र भएको खुशीयालीमा विभिन्न तारीखमा स्वतन्त्रता दिवस मनाईन्छ । तीनै स्वतन्त्रता दिवसहरुको एकिकृत रुप हो विश्व स्वतन्त्रता दिवस ।
हामीले आजको मितिमा रहेर, शक्तिशाली राष्ट्रहरुले कमजोर राष्ट्रलाई आफ्नो उपनिवेश बनाएर लुटेको, अन्याय– अत्याचार गरेको, उपनिवेश बनाउनकै लागि शक्ति राष्ट्रहरुबीच प्रतिष्पर्धा हुँदा साँढेको जुधाई बाच्छाको मिचाई भने जस्तो कमजोर र साना राष्ट्रहरु पिल्सिनु परेको घटनाहरुको बारेमा सोच्दा आङ सिरिङ्ग भएर आउँछ । सायद त्यो बेलाको समयमा अवस्था परिस्थिितिहरु त्यस्तै थिए । सायद त्यो बेलाको समयको लागि त्यहि ठीक थियो । हामीले आजको मितिमा बेठिक देखेपनि । खैर जे होस् आज संसारमा सबै देशहरुले स्वतन्त्र राज्यको रुपमा रहन पाएका छन् । तर के वास्तवमै आज संसारका हरेक देशहरु स्वतन्त्र छन् त ? नोभेम्बर ९ लाई विश्व स्वतन्त्रता दिवसको रुपमा मनाउँदै गर्दा, आजको समयमा २१ औं शताब्दिमा के यो दिन वास्तवमै औचित्यपूर्ण छ त ?
आज हामीले विश्वका हरेक राष्ट्रहरु आफैमा स्वतन्त्र छन् भन्दै गर्दा त्यो पूर्ण रुपमा सत्य नहुन सक्छ । हो, हिजो इतिहासमा जस्तो प्रत्यक्ष रुपमा अरुको शासन सत्तालाई अङ्गिार गरेर बस्नुपर्ने अवस्था आज छैन । शक्तिशाली राष्ट्रले जे गरेपनि निर्विकल्प चुपचाप सहेर बस्नुपर्ने दयनिय अवस्था छैन । तर पनि पङ्तिकारको बुझाई के छ भने हामी स्वतन्त्र छैनौं । तरिका फेरिएको छ, पद्धति फेरिएको छ तर शोषण सकिएको छैन । शक्तिशाली राष्ट्रहरुले कमजोर राष्ट्रलाई गर्ने थिचोमिचो सकिएको छैन । साना, शक्तिहिन, गरिब र अल्पविकसित राष्ट्रमाथि आफ्नो प्रभाव जमाउन शक्तिशाली राष्ट्रहरु बीचको घम्साघम्सी सकिएको छैन । आज पनि नेपाल जस्तै कम विकसित र शैन्य शक्तिमा कमजोर राष्ट्रहरुको राजनीति, अर्थनीति सबै विदेशी शक्तिको हातमा छ । यदि नेपालकै मात्र उदाहरण दिएर कुरा गर्ने हो भने पनि नेपालको हर एक राजनीतिक दलहरु विदेशी शक्ति केन्द्रबाट सञ्चालित छन् । नेपालको राजनीति नै विदेशीको हातमा भएपछि अरु कुरा त झन् स्वतह नै विदेशी शक्तिको चाहना र ईसारा अनुसार चल्ने नै भए । यो अवस्थामा कसरी हामीले आफु स्वतन्त्र छौं भनेर भन्ने ? इतिहासको कालखण्डमा कुनै पनि विदेशी शक्तिले आफ्नो स्वार्थ पूर्तिका लागि प्रयोग गर्न नसकेको नेपाल र नेपालीलाई आज विदेशी शक्तिहरुले बिरालोले मुसा खेलाए सरी खेलाईरहेका छन् । यो परिदृश्यमा नोभेम्बर ९ लाई विश्व स्वतन्त्रता दिवसको रुपमा मनाईरहँदा नोभेम्बर ९ ले हामीलाई जिस्काईरहेको भान हुन्छ । नेपाल त एउटा उदाहरण मात्र हो । विश्वका यस्ता अरु पनि धेरै देशहरु छन् जुन आफैमा स्वतन्त्र भईकन पनि देशको राजनीति कुटनीति, अर्थनीति र युद्धनीति आफुले सम्हाल्न पाईरहेको छैन । उदाहरणको लागि भुटानलाई लिन सकिन्छ । भुटान आफैमा एउटा स्वतन्त्र देश भएर पनि उसको अस्तित्व भारतको कुनै एउटा राज्य भन्दा अधिक छैन । तिब्बतको उस्तै दशा छ । अध्ययन गर्दै जाने हो भने यस्ता अरु पनि धेरै देशहरु छन् जो स्वतन्त्र भएर पनि स्वतन्त्र छैनन् ।
राजनीतिको डोर आफ्नो हातमा लिएर कमजोर राष्ट्रमा आफ्नो प्रभाव जमाउने कसरा त छँदै छ । अर्को तर्फ कतिपय अवस्थामा हामी स्वयंले आफ्नो स्वतन्त्रताको बलि दिएका छौं । अरुको भाषा, शैली, संस्कृति, परम्परा, भेषभूषा, खानपानलाई आफ्नो भन्दा बढ्ता महत्व दिएर हामी आफै अरुको शरण लाग्न गईरहेका छौं । आफ्नो मौलिकताको, आफ्नो पहिचानको, आफ्नो स्वतन्त्रताको हत्या गरिरहेका छौं । हो, हिजोको दिनमा अरुमाथि आफ्नो हक जमाउन अरुको स्वतन्त्रता माथि कब्जा गर्न युद्ध गर्नुपर्थो, जित्नुपर्थो । तर आज युद्ध गर्नै पर्छ भन्ने छैन । अरुनै विभिन्न तरिकाले पनि अरुको स्वतन्त्रता माथि प्रभुत्व जमाउन सकिन्छ । र यो हाम्रो लागि दुखद कुरा हो कि हामीले त्यस्ता कुराहरुलाई आफैं सहर्स स्वीकार गरिदिएका छौं । हाम्रो स्वतन्त्रता माथि अरुले हस्तक्षेप गर्ने वातावरण बनाई दिएका छौं । अब भनौं के हामी साँच्चै स्वतन्त्र र्छौं त ?