असार र चैतमा रोपाईको कुरा हुन्छ, मंसिरमा दाँईको कुरा हुन्छ र यी कुराहरु यिनै समयमा गर्दा नै मीठो सुनिन्छ । भन्नुको तात्पर्य गफ गाफ र बातचित समय परिस्थिति र माहोल अनुसारनै हुने हो । तसर्थ आजको लेखलाई पनि देशको माहोल अनुरुप निर्वाचन र यससँग सम्बन्धित पक्षहरु तर्फ नै केन्द्रित गराउने जमर्को गर्दैछु ।
देशमा सङ्घिय गणतान्त्रिक शासन पद्धति शुरु भएपश्चात्को दोस्रो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गत मंसिर ४ मा सम्पन्न भईसकेको छ । अहिले मतगणनाको काम चलिरहेको छ । कतिपय स्थनमा मतगणना सकिइसकेको छ, कतिपय स्थानमा गन्न बाँकी मत र मतान्तरको हिसाब गर्दा जित सुनिश्चित भईसकेको अवस्था पनि छ भने कतिपय ठाउँमा बडो प्रतिष्पर्धात्मक रुपमा मतगणना गर्ने काम जारी नै छ । जे होस् प्रारम्भिक नतिजालाई आधार मानेर विश्लेषण गर्दा यस पटकको मत परिणाम विगतमा भन्दा अलिक भिन्न नै आउने छाँट देखिन्छ । किनभने कतिपय हेभिवेट मानिएका राजनीतिमा स्थापित भईसकेका नेताहरु जो आफुलाई नै विजयी उम्मेदवार हुँ भन्दै भाषण गर्थे पाखा लागिसके कति चाहि पाखा लाग्ने छाँट देखिएको छ । काम भन्दा बोली धेरै, खाली विपक्षलाई गाली गलौज र कटाक्ष मात्र गर्ने दादागिरीको भरमा राजनीति गर्ने, राजनीतिक संस्कारसम्म पनि नभएका मै हुँ भन्नेहरुलाई यसपटक सचेत मतदाता र कार्यकर्ताहरुले आई एम सरी भनिदिएका छन् । जुन परिवर्तनको राम्रो संकेत हो । यद्यपी राजनीतिबाट जबरजस्ती भएपनि सन्यास दिलाईनु पर्ने केहि पात्रहरु भने अझै यो खेलमा छन् । अब उनिहरुसँग एक मात्र विकल्प छ । सुध्रने र देश विकासको मार्गमा लाग्ने, अन्यथा अर्को पटक यि पात्रहरु जो यसपटक अनेक तीकडम ताकडम गरेर जसो तसो बचेँ उनिहरुलाई पनि नेपाली नागरिकले आई एम सरी पक्कै भन्नेछन् ।
प्रसङ्गलाई एकछिन डडेल्धुरा तिर केन्द्रित गराउन चाँहे । वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाको गृहजिल्लामा एउटा बाहिरि जिल्लाको भर्खरको युवा, जसको कुनै राजनीतिक पृष्ठभूमि थिएन न त रवि लामिछाने र बालेन शाहको जस्तो कुनै क्षेत्र विशेषमा नाम परिचित थियो तर उसले दिएको चुनौतीले ठूलै हंगामा ग¥यो । निर्वाचन त शेर बहादुर देउवाले जितिसके तर प्रधानमन्त्रीको गृहजिल्लामा गएर उसैको प्रतिस्पर्धी बनेर १३००० भोट कटाउनु भनेको सागर ढकालको हार होइन जित नै हो । यसले नागरिकमा राजनीति प्रति वितृसणा छ भन्ने कुराको उजागर गरेको छ । नागरीक परीवर्तन चाहन्छन् भन्ने कुराको गम्भिर संकेत गरेको छ । तर डडेल्धुराको नागरिकलाई सम्बोधन गरेर तथानाम तल्लो र तुच्छस्तरको छुद्र गाली गर्ने फेसबुकका दार्शनिक र विश्लेषकहरुलाई भने उहाँहरुको टिकाटिप्पणी पढेपछि आइ एम सरी भन्न मन लाग्यो । डडेल्धुराको जनतालाई भेंडा, शेरबहादुरको….. खानेहरु भनेर गाली गर्दै गर्दा, होच्याउँदै गर्दा, डडेल्धुराको वस्तुस्थिति के छ ? त्यहाँको शिक्षाको स्तर के छ ? कति मतदाता युवा पुस्ताको छ ? कति बृद्धबृद्धा छन् ? यी कुराहरुको ख्याल गर्नुभएको छ ? यदि डडेलधुराको सबै जनता तपाइ फेसबुकका दार्शनिक र विश्लेषकहरुले भने जस्तो भेडा र कुन्नि कस्को के खाने खालको मात्र भए कसरी ढकालको १३ हजार मत ? हो, यति कुरा मान्न सकिन्छ, डडेल्धुरामा परिवर्तनको शंख राम्रोसंग बज्न सकेन । तर डडेल्धुराको जनतालाई गाली गर्दै गर्दा तपाईले चाही कति योगदान दिनु भयो त सागर ढकाललाई जिताउनु पर्छ भनेर प्रचार गर्न ? त्यो भन्दा अहं प्रश्न तपाई स्वयमले चाही आफ्नो क्षेत्रबाट कस्लाई जिताउने चेष्टा गर्नुभयो ? स्वतन्त्र उम्मेदवार ढकाललाई प्रचार प्रसारमा अवरोध गरिएको, मतगणना स्थलमा बस्न नदिईएको समाचारहरु त सुन्नु भएकै होला । परिवर्तन चाहँदा चाहँदै पनि प्रधानमन्त्रीको पावरको अगाडि डडेल्धुराबासीको केही लागेन कि ? यी तथ्यहरु पनि त बुझ्ने प्रयास गर्नु पर्दछ । यत्तिकै आवेशको भरमा अरुलाई तल्लोस्तरको गालि गर्दै गर्दा यसले हाम्रो नैतिकता र चेतनास्तर पनि उजागर गर्दछ । तसर्थ सामाजिक सञ्जालमा डडेल्धुरावासीलाई तथानाम गाली गर्ने आदरणीय महोदयहरु आई एम सरी तपाईहरुसंग पूर्ण रुपले सहमत हुन सकिन ।
डडेल्धुराको प्रसंगलाई यही बीट मार्दै प्रारम्भिक प्रसंग तर्फ फर्कन चाहन्छु । हो न हो निर्वाचनको अन्तिम मतपरिणाम आउँदासम्म यस पटकको नतिजा विगतमा भन्दा पक्कै पनि फरक आउँछ । तर फरक नतिजा आउँदैमा मात्र समस्याको समाधान हुँदैन । फरक नतिजा ल्याएर मौका पाएको युवा पुस्ताको व्यवहार उनिहरुले समाउने लय, हिड्ने मार्गले देशको भविष्य निर्धाण गर्दछ । उमेरले युवा भएपनि राजनीतिक शैली र संस्कार चाही उही पुरानै दर्जाको भएको युवापुस्ताबाट परिवर्तन सम्भव छैन । यदि त्यस्तो हुन गएमा यी खोक्रो युवा पुस्तालाई पनि आइ एम सरी भन्नु पर्ने हुन्छ ।
देशको भविष्य कस्तो हुन्छ भनने कुरामा सबै भन्दा महत्वपूर्ण भूमिका देशको कार्यकारी प्रमुखमा को हुने ? कस्तो व्यक्ति हुने ? भन्ने कुराको रहन्छ । बाटो पुरै मर्मत गरिएको, नयाँ गाडी, अनुशासित र सहयोगि यात्री भएपनि गाडी चलाउने ड्राईभर उही पुरानो मेसो नभएको प¥यो भने त्यो गाडि पक्कै दुर्घटनामा पर्दछ । अर्को तर्फ गाडि पनि नयाँ ड्रइभर पनि नयानुभवी र मेसो पाएको हुँदा पनि यात्रुहरु बीच गन्तब्य कहाँ बनाउने भन्ने टुङ्गो लागेन भने त्यो गाडीको यात्रा नै शुरु हुँदैन ।
यो कुरालाई यस पटक निर्वाचित भएर जानेहरुले कसरी व्यवस्थापन गर्दछन्, त्यो त हेर्न बाँकी नै छ, आशा गरौं, मिलेर मिलाएर देशलाई अगाडि बढाउँलान्, अन्यथा अर्को पटक यिनीहरुलाई आई एम सरी भन्नुको विकल्प रहँदैन । आशा गरौं त्यो भन्न नपरोस् । जनताको मत पाएर निर्वाचित भएका अव हुने सबैलाई बधाई र शुभकामना । यस पटक पराजित हुनेहरुलाई पनि सहानुभूति किन भने व्यक्ति र पार्टी भन्दा माथि देश छ । सत्ता र प्रतिपक्षमा जुन कुनै पार्टी रहेपनि देशको भलो होस् । अस्तु ।