– २०७५ भदौ ३० मा तत्कालिन माओवादी नेता पोष्टबहादुर बोगटीको स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीले नेकपाका कार्यकर्तालाई विपक्षीहरु माथी अरिङ्गाल बनेर चिल्न निर्देशन दिए ।
–यही भदौ २६ मा बाँके कांग्रेस सभापति किरण कोइरालामाथी आक्रमण गरेर नेकपाको कार्यकर्ताले हात भाँचिदिए । घटनामा संलग्नलाई कारवाहीको माग गर्दा सत्ताधारी दलकै सांसदले दोषीलाई कारवाही गरिए आफुहरु प्रतिरोधमा उत्रने धम्की दिए ।
– यसको १५ दिन वित्दा नवित्दै १२ असोजमा ऋषिङ्ग गाउँ पालिका भवनको सिलान्यान गर्न तनहुँ आएका नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालको बाटो छेके नेकपाका नेता–कार्यकर्ताले । वियरका वोतल र चिर्पट दाउरा लिएका नेकपाका कार्यकर्ता यति अराजक ढंगले प्रस्तुत भएका थिए कि उनीहरु मिनेन्द्रसंग सिलान्यास कार्यक्रममा गएका सबैलाई मार्ने धम्की दिन्थे, त्यो पनि प्रहरीको अगाडी ।
– सरकारका कमी–कमजोरी बारे जब कुनै पत्रपत्रिकामा लेखिन्छ, तब सञ्चारमन्त्री गोकुल बास्कोटा त्यो सञ्चारगृह र पत्रकारमाथि जाइ लाग्छन्, भन्छन्ः हाम्रो निष्ठामाथि शंका गर्ने ? त्यसो गर्न पाईन्छ ?
यी त भए सत्ताधारी दलका नेता कार्यकर्ताहरु कसरी असहिष्णु हुँदै गएका छन् भन्ने कुराका केही उदाहरण । अब सम्पूर्ण राज्य कसरी असहिष्णु बन्दै गएको छ भन्ने कुराको उदाहरण पनि प्रस्तुत गरौं । यसको उदाहरण खोज्न म टाढा जान्न र धेरै उदाहरण पनि दिन्न । यही आइतबार घटित कोहलपुर बाँकेको घटनामा नेपाल प्रहरीको ज्यादती र प्रस्तुत असहिष्णुताको एउटै उदाहरण काफी हुन्छ । घटना विवरण यस्तो छ ः– आइतबार कोहलपुरको त्रिभुवन माविमा कक्षा ७ मा पढ्ने १२ वर्षीया प्रकृति चन्द बुवासँग स्कुटरमा आइन् । स्कुलनजिक झरेर हिँड्नासाथ ट्रकले उनलाई किच्यो । त्यो घटना देखेर उनका सहपाठी र साथीहरू आक्रोशित भए र प्रकृतिलाई किच्ने ट्रकमाआगो लगाए । विद्यार्थी प्रदर्शन अनियन्त्रित हुँदै जाँदा प्रहरी विद्यालय भित्र गयो र एक शिक्षक र विद्यार्थीलाई पक्रिएर निस्कियो । त्यसबाट आक्रोशित बनेका विद्यार्थीले प्रहरीमाथि ढुंगामुढा सुरु गरे । प्रतिवादमा प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार ग¥यो । रबर बुलेट लागेर १४ जना विद्यार्थी घाइते भए । घाइते मध्ये श्रीकान्त भुषाल र नारायण खत्री गम्भीर घाइते भएका छन् ।
२०७५ भदौ ३० को प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई नै हेरौं न । उनका अभिव्यक्ति सुन्दा लाग्छ, उनी केवल नेकपाका कार्यकर्ताका प्रधानमन्त्री हुन् । राष्ट्रको कार्यकारी प्रमुखको यस्ता अभिव्यक्तिले देशमा अराजकता निम्त्याउँछ भन्ने ज्ञान उनलाई नभएको होला भन्ने सकिन्न किनभने उनी लामो समय राजनीति गरेर आएका व्यक्ति हुन् । त्यसो भए समग्र नेपाली जनताको प्रधानमन्त्री हुँ भन्ने भूलेर उनले किन यसो भने त भन्ने जिज्ञासा सहज उत्पन्न हुन्छ, र यसको उत्तर हो उनेका असहिष्णुता । दुइतिहाइ नागरिकको समर्थन आफुलाई भएको अभिमानमा आएको दम्भपूर्ण र विरोधीलाई सिध्याएर एकछत्र राज गर्ने अधिनायकवादी सोच । प्रधानमन्त्रीको सोही सोचका उपज हुन् बाँकेको भदौ २६ को घटना अनि असोज १२ को तनहुँको ऋषिङको घटना । ऋषिङमा त अझ कस्तो दृष्य देखियो भने नेकपालका कार्यकर्ताले रिजालको बाटो छेक्न शुक्लागण्डकी देखि घिरिङसम्मका गुण्डा शैलीका कार्यकर्ता उतारेका थिए । सत्ता र शक्तिको आडमा जे पनि गर्न पाइन्छ भन्ने मनोरोगले ग्रस्त नेकपाका नेता कार्यकर्ताको यो व्यवहारले पङ्तिकारलाई २०५४ सालको साविक राम्जाकोट गाविसको स्थानीय निर्वाचनको घटना सम्झायो । त्यतिबेला बामदेव गौतम गृहमन्त्री थिए र उनको निर्देशन थियो, जसरी पनि निर्वाचन जित्नु । आफ्ना नेताको निर्देशनको पालना गर्दै तत्कालिन नेकपाएमालेका कार्यकर्ताले नेपाली कांग्रेस समर्थक मतदातालाई मतदान स्थलसम्म आउने बाटो छेक्न थाले । जब कांग्रेस कार्यकर्ताले प्रतिरोध गरे तब उनीहरुको खुट्टा भाँच्ने, टाउको फार्ने, खुँडा र खुकुरीले हानेर घाइते तुल्याउने जस्ता कुकृत्य गरे । दुइदशक वितिसक्दा पनि त्यो असहिष्णुता कायमै छ, नेपालका कम्युनिस्ट नेता र कार्यकर्तामा ।
अब एकछिन् सञ्चारमन्त्री बास्कोटाको कुरा गरौं । उनलाई सरकारी कामकाजको कमजोरी केलाएको मनै पर्दैन, भन्छन् ः हाम्रो इमान्दारीमा खोट लगाउने ? हामीलाई गलत भन्ने ? अचम्म छ, उनी आफु र आफ्नो दल नागरिक स्वतन्त्रताको लागि लडेको र त्यसको मूल्य आफुलाई थाहा भएको बताउन पनि भुल्दैनन् र आफै स्वतन्त्रता हनन्को कुरा गरिरहन्छन् । नेकपाले नागरिकको बोल्ने स्वतन्त्रता, फरक विचार राख्न पाउने स्वतन्त्रताको लागि राणा विरुद्ध आन्दोलन ग¥यो, पञ्चायत विरुद्ध आन्दोलनमा सहभागी भयो अनि निरंकुश राजतन्त्र विरुद्धको आन्दोलनमा पनि सहभागी भयो तर जुन उद्देश्य प्राप्तीका लागि उनको पाटी लड्यो त्यसैका विरुद्ध कार्यगर्ने कुरामा पो सञ्चारमन्त्रीको निष्ठा प्रकट हुँदैछ । न भए आलोचना गर्नै नपाइने, फरक विचार राख्नै नपाइने संसारको कुन लोकतान्त्रिक मुलुकमा छ ?
अब पछिल्लो कोहलपुर घटनालाई हेरौं । के प्रहरीलाई अनुमान थिएन , विद्यालय आउँदै गरेको आफ्नो साथी मरणसन्न भएको देखेपछि विद्यार्थी उत्तेजित हुन्छन् भन्ने ? किन बेलैमा सावधानी नअपनाएको ? अझ महत्वपूण प्रश्न त के छ भने तस्वीरमा छात्राहरु पुरुष प्रहरीद्वारा समातिएका छन् । छात्रालाई समाउन महिला प्रहरी आवश्यक हुन्छ भन्ने जानकारी नेपाल प्रहरीलाई नभएको हो ? विद्यालय भित्र प्रहरी जानु हुँदैन विना अनुमती भन्ने ति प्रहरीलाई थाहा नभएको हो र ? होइन भने किन विद्यालय छिरेर शिक्षक र विद्यार्थीलाई पक्राउ गरेको ? किन छात्रालाई पुरुष प्रहरीले समातेको ? प्रहरीको काम उत्तेजना बढाउने हो कि निस्तेज पार्ने ? पक्कै उत्तेजना मथ्थर गर्दै परिस्थितीलाई सहज बनाउँदै लानु प्रहरीको काम हो तर कोहलपुर घटनामा यस्तो देखिएन । नेपाल प्रहरी आफुलाई नागरिकको साथी भन्छ, तर पछिल्ला केही घटनाक्रमहरुले प्रहरीलाई नागरिकको साथी होइन बरु सत्ताधारीहरुको गलत मनोवृत्तिको पक्षपोषकको रुपमा प्रस्तुत गरेको छ । निर्मला पन्तको बलात्कार पछि भएको हत्या काण्डमा पनि प्रहरीले आफुलाई जनताको साथीको रुपमा प्रस्तुत गर्न सकेको थिएन । राज्य नै असहिष्णु हुने हो भने नागरिकमा सहिष्णुता अपेक्षा गर्नु अन्यथा हुनेछ । सभ्य र सुसंस्कृत बन्नु हामी नागरिकका लागि पनि अपरिहार्य छ तर नागरिकले शिक्षा ग्रहण गर्ने राज्यका निकायहरुबाट हो । तर के सिक्ने खोइ हामीले ?