महिलाको अण्डा र पुरुषको शुक्रकिट मिलान भएर अण्डा निशेचित भएपश्चातबाट नै मानवको जीवन शुरु हुन्छ । सामान्यतया नौ महिनासम्म आमाको गर्भभित्र एउटा छुट्टै वातावरणमा बसिसकेपछि पहिलो पटक एउटा शिशुले यो संसारमा पाईला राख्दछ । जन्म पश्चात उसको जीवनमा विभिन्न चरणहरु आउँछन् । नवजात शिशु अवस्था शिशु अवस्था, बाल्यावस्था, किसोर अवस्था, यौवन अवस्था, युवा अवस्था, प्रौढ अवस्था, बृद्ध अवस्था । हुँदा हुँदै उसको जीवन लिला समाप्त हुन्छ र उ चीर निंद्रामा मस्त निदाउँछ, कहिल्यै नब्यूझने गरी । हामीले देखे, सुने, भोगेको भन्दा परको एउटा छुट्टै दुनियाको यात्रामा निस्कन्छ, त्यो गन्तब्यबाट कहिल्यै नफकर्ने गरी ।
मृत्यू मानव जीवनको अन्तिम र अकाट्य सत्य हो । हुन त हिन्दु धर्मशास्त्रमा हाम्रो भौतिक शरीर एक भ्रम हो, सत्य र वास्तविक त आत्मा हो । भौतिक शरीर नासवान छ । तर आत्मा अमर छ । आत्माको कहिल्यै मृत्यू हुँदैन । आत्माले केबल शरीर परिवर्तन गर्दछ, जसरी हामी लुगा फेर्छौं । व्याखय गरिएको छ । धर्म शास्त्रको कुरा कति तर्कसंगत होला नहोला, त्यो अलग पाटो हो, तर एउटा सत्य के चाही हो भने, हामी मानिसहरु सायद स्वभावैले स्वार्थी प्रबृत्तिको हुने भएर हो कि हामीलाई अमर आत्मा भन्दा पनि नाशवान शरीरसंग धेरै लगाव र प्रेम हुन्छ । त्यसैले होला हर कसैको मृत्यूले एउटा गहिरो चोट दिएको हुन्छ । उसको नजिकका र चाहनेहरुका लागि ।
मानिसको जन्म पश्चात उसको जीवनमा विभिन्न चरणहरु÷अवस्थाहरु आउँछन् । तर सबै त्यति भाग्य मानि हुँदैनन् कि उसले मानव जीवनको सबै अवस्थाहरुको अनुभव संगाल्न पाओस् । जसरी तीन घण्टाको एउटा चलचित्रमा पनि कुनै पात्रको अभिनय चलचित्रको शुरुवातदेखि अन्त्यसम्म हुन्छ त कसैको बीचमा केही समयको लागि मात्रै । त्यसरी नै विशाल रंगमञ्च रुपी यस दुनियामा जीवन लिला लामो समयसम्मको लागि हुन्छ भने कसैको जीवन लिला क्षणिक हुन्छ । हुन त हरकसैको मृत्यू आफ्नाहरुका लागि पीडा दायक नै हुन्छ । तर फक्रिएर सुगन्ध छरिसकेको फुल झर्दा भन्दा फक्रिनै आँटेको कोपिला झर्दाको पीडा गहिरो हुन्छ ।
मैले यति भूमिका बाँध्नुको तात्पर्य पाठक बर्गलाई लाग्न सक्दछ म आलेख मार्फत मानव जीवन र मृत्यूको बारेमा केही लेख्दैछु । तर त्यो होइन किन भने मानव जीवनको भोगाई र मृत्यूको बारेमा कलम चलाउन मैले अहिलेसम्म बाँचेको जिन्दगीको अनुभवले पुग्दैन । गाउँले भाषामा सोझो रुपले भन्दा मैले राम्रोसंग संसार देख्न र बुझ्न भ्याएकै छैन । जीवनको २८औं बसन्तमा रम्दै गर्दा मानवको जीवनको जीवनलाई बुझ्ने प्रयास गर्दैछु बल्ल तल्ल । त्यसैले मानव जीवन र मृत्यूजस्ता ओझिलो विषयमा कलम चलाउने आँट म मा छैन । कमसेकम अहिलेको लागि ।
जीवनमा धेरै अनुभवहरु संगाल्न बाँकी नै भएपनि, जीवनका भोगाईहरु कम नै भएपनि अहिलेसम्म आफूले बाँचेको जीवनमा संगालेका अनुभव र साक्षात्कार गरेको कतिपय परिस्थितिहरु यति दर्दनाक र पीडादायी भएकी तिनले एउटा गहिरो र नमिठो छाप छोडेर गएको छ । मैले औपचारिक रुपमा पारिश्रमिक लिनेगरी शिक्षण शुरु गरेको २०६८ सालदेखि हो । जतिबेला म भरखरै क्याम्पस पढ्दै थिए । नीजि स्रोतबाट पारिश्रमिक लिने गरी शुरु गरेको शिक्षण यात्रा नेपाल सरकारको स्थायी शिक्षक भएर आजको दिनसम्म आईपुग्दा भरखरै नौ बर्षमा लाग्दैछ । यो नौ बर्षको अवधिमा थरिथरीका विद्यार्थीहरुसंग साक्षात्कार हुने मौका मिल्यो । धेरै कुराहरु सिकाउने मौका मिल्यो, धेरै कुराहरु उनिहरुबाट सिक्ने मौका पनि मिल्यो । धेरै खुशीका पलहरु विते । केही दुःखका यो अवधिमा मैले महसुस गरेको सबैभन्दा पीडादायी पक्ष म स्वयम्ले पनि पढाएको तीन जना विद्यार्थीहरुले आत्महत्या गरे । त्यो पनि १५ बर्षभन्दा कम उमेरमै । कसैलाई ४–५ मा पढाएको थिएँ । कसैलाई ६ मा त कसैलाई सातमा ।
मैले यहाँ सम्झिएको तीनै जना विद्यार्थीहरु हामी शिक्षकहरुको नजरमा राम्रा विद्यार्थीहरु मध्ये पर्दथे । पढाई औषत भन्दा माथि नै थियो । मेहनति थिए । लगनशिल र अनुशासित पनि । कमसेकम विद्यालयमा उनिहरुको आनीवानी बोलिचाली देख्दा त्यति जोखिमपूर्ण कदम चाल्न उनिहरुले कहिल्यै आँट्ने छैनन् भन्ने लाग्थ्यो । तर उनिहरुले जे नगर्नु पर्दथ्यो त्यो गरे । बुझ्दै जाँदा थाहा भयो, हुक्यौलो किसोर अवस्थाको मनोविज्ञानलाई बुझेर उचित सम्बोधन गर्न नसक्दा ति पिडादायी दुर्घटना पुगेका रहेछन् ।
मानव जीवनका हरेक अवस्थाहरुको आ–आफ्नै विशेषता हुन्छन् र खतरा अनि जोखिम पनि । कुनै अवस्था स्वास्थ्यका दृष्टिकोणले जोखिमपूर्ण हुन्छन् । कुनै अवस्था मनोवैज्ञानिक कारणले त कुनै अवस्था पारिवारिक, सामाजिक जिम्मेवारीको कारणले जोखिमपूर्ण हुन्छ । किशोरावस्था मनोवैज्ञानिक रुपले जोखिमपूर्ण अवस्था हो । बाल्यअवस्था सकिईसकेपछि र युवा अवस्था शुरु नहुँदाको बीचको अवधिलाई किशोरावस्था भनिन्छ । सामान्यतः १२/१३ बर्षको उमेरदेखि १९/२० सम्मको उमेरलाई किसोरावस्था मानिन्छ । यसलाई पनि शुरुवाती (१२, १३, १४) मध्य (१५, १६, १७), अन्तिम (१८, १९, २०) गरी तीन तहमा विभाजन गर्न सकिन्छ । सजिलोको लागि अंग्रेजीमा टीन यज मानिने उमेर समूह १३–१९ बर्षसम्मको उमेर अवधिलाई किसोरावस्था भन्ने बुझ्दा पनि अन्यथा हुँदैन । किशोर अवस्था तिब्र शारीरिक र मानसिक परिवर्तनको अवस्था हो । यो अवस्थामा शारीरिक रुपमा बालबालिकाबाट बयस्क बन्नको लागि अंगहरु विकास भैरहेको हुन्छ । नयाँ नयाँ हर्मनहरुको शरीरमा विकास भैरहेको हुन्छ । त्यस्तै गरी मानसिक रुपमा पनि उनिहरुको सोच्ने क्षमता बालबालिकाको भन्दा धेरै माथिल्लो स्तरको तर बयस्कको भन्दा चाही अपरिपक्व अवस्थाको हुन्छ । यस्तो अवस्थामा उनिहरु न आफूभन्दा कम उमेरको बालबालिकासंग समायोजन हुन सक्दछन् । न त परिपक्व बयस्कहरुसंग । तसर्थ उनिहरु आफ्नो उमेर समूहका साथीहरुसंग धेरै रमाउँछन् र सत्य व्यतित गर्न चाहन्छन् ।
किसोर अवस्था मानसिक रुपमा अपरिपक्व र तरल सोंचाई हुने उमेर भएकोले गर्दा उनिहरुसंग गरिने बोलीचाली, व्यवहारप्रति सजग हुनु अत्यन्तै आवश्यक छ । चाहे अभिभावक होस् चाहे शिक्षक या अन्य कोही । किसोरावस्थाका व्यक्तिहरुमा अपरिपक्व मानसिकता हुने हुँदा उनिहरु कुनै पनि कुरालाई गहिरिएर सोंच विचार गर्ने भन्दा पनि झट्ट निर्णय लिईहाल्ने स्वभावका हुन्छन् । त्यसैले उनिहरुप्रति गरिने व्यवहारमा सचेत हुन सकेनौ भने त्यसले कुनै अप्रिय घटना निम्त्याउन सक्छ । त्यस्तो भैनहाल्दा पनि यदि व्यक्ति अन्तरमुखी स्वभावको छ भने भित्रभित्रै पिल्सिने गुम्सिने हुन्छ । जस्ले गर्दा उसको मानसिक, सामाजिक र संवेगात्मक विकास राम्रोसंग हुन सक्दैन ।
किसोरावस्थामा छिन छिनमा सोंचाई परिवर्तन हुँने हुँदा उनिहरुको इच्छा चाहाना पनि त्यही अनुरुप फेरी रहन्छन् । यो अवस्था विपरित लिंगीप्रतिको तिब्र आक्रषणको उमेर भएको हुँदा प्रेम सम्बन्धका कुराहरु पनि आउन सक्दछन् । यस्तो अवस्थामा शिक्षक, अभिभावक वा अग्रज व्यक्तिहरुले उनिहरुको इच्छा चाहना प्रेम सम्बन्ध प्रति उचित साहानुभूति राखिदिनु पर्दछ । यदि ती कुराहरु उसको लागि हानिकारक छ भने पनि तत्काल नकारात्मक रुपमा प्रतिक्रिया दिनु भन्दा उनिहरुको भावनामा ठेस नपुग्ने गरी सम्झाउनु पर्दछ । उनिहरुलाई कति खेर के भन्ने सवालमा हदैसम्मको सतर्कता अपनाउनु जरुरी छ । एउटा उदाहरण हेरौं । एउटै घरका दाजूभाईमा एउटा पढाईमा अब्बल छ अर्को अलिक कमजोर । उनिहरु बीचमा अभिभावकले तुलना नै गर्छ भने पनि कहिल्य ग¥यो भन्ने कुराले ठूलो अर्थ राख्दछ । जस्तो कि सामान्य दिनहरुमा दाई जत्तिकै पढ्नु पर्दछ, दाई जस्तै हुनु पर्दछ भन्दा त्यसले मानसिक रुपमा त्यति धेरै असर गर्दैन । तर परीक्षाको नतिजा आएको दिनमा कमजोरलाई अब्बलसंग तुलना गरिदियौं भने त्यसले उसलाई नराम्रो असर पार्न सक्छ । त्यसदिन उनिहरुप्रति गरिने व्यवहार समान भएन भने त्यसले उसलाई नराम्रो छाप पार्न सक्दछ । घरमा परिवारमा, विद्यालयमा उनिहरुको इच्छा कदर नगरिदिंदा, आवाजलाई स्थान नदिंदा उनिहरु आफैले आफ्नो अस्तित्व माथि प्रश्न गर्न थाल्दछन् । फलतः कुनै अप्रिय घटनाहरु नहोलान् भन्न सकिन्न ।
तसर्थ सम्पूर्ण अभिभावक, शिक्षक एवं हरकोहीमा पंक्तिकारको अनुरोध छ, आफ्नो विद्यार्थीको, छोरा छोरीको, आफूभन्दा सानाको मनोविज्ञानलाई बुझ्ने प्रयास गरौं । विषयगत विज्ञता हासिल गरेर आफू पूर्ण छु भन्ने नठानौं कुनै पनि शिक्षकले, । लाउन खान दिएर मात्र आफ्नो दायित्व पुरा भएको नठानौं कुनै पनि अभिभावकले । हाम्रा पालामा यति त थिएन भनेर दवाउन, पन्छिन नखोजौं । अनि ठूला बडाले पनि केटाकेटी भएर बढी जान्ने हुन्छस् भन्ने किसिमको मानसिकता त्यागि दिऔं । एक पटक पछाडी फर्केर सम्झौं हामी त्यो उमेरमा हुँदा हामीलाई कस्तो सोचाई आउँदथ्यो । हाम्रो भावना कस्तो हुन्थ्यो, कस्ता इच्छा, रहर र समस्याहरुको सामना ग¥यौं हामीले । उनिहरुलाई पनि त त्यस्तै हुँदो हो ।
त्यसैले पनि फेरी मेरो अनुरोध छ, उनिहरुको मनोविज्ञानलाई बुझ्ने प्रयास गरौं ।
प्यारी विद्यार्थी स्वर्गिय आस्था बरालप्रति श्रद्धासुमन । नानीको आत्माले बैकुण्ठ वास गरोस् ।
अनुरोध
previous post