
अधिकारी, चन्द्रमणि
आदरणीय पाठक महानुभावहरु !
संसार अचम्मको छ, विचित्रको छ । कतिपय अवस्थामा यहाँहरूले पनि अनुभव गरेको हुनुपर्छ कि प्रत्यक्ष रूपमा आफ्नै इन्द्रियहरूबाट अनुभव गरिएका, देखिएका, सुनिएका, सुँघिएका, छामिएका, र चाखिएका कुराहरू पनि झुट्टा हुन्छन् । समाजमा कहिलेकाँही अद्भूत पात्र र घटनाहरू भेटिन्छन् ।
यही २०७५ भदौ महिनाको ९ गते शनिवारका दिन तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका वडा नँ ३ मा म्याग्दे गाउँपालिकाका साहित्य, कला, संस्कृति र सङ्गित प्रति आस्थावान व्यक्तिहरुको आम भेलाले पंक्तिकारको अध्यक्षतामा म्याग्दे साहित्य समाजको स्थापना गर्ने निर्णय गरी २०७५ असोज २४ गते विधिवत दर्ता नम्बर ३२१७ मा जिल्ला प्रशासन कार्यालय, दमौली, तनहुँमा संस्था दर्ता गर्ने कार्य सम्पन्न भयो ।
म्याग्दे साहित्य समाजको अध्यक्षको हैसियतले म्याग्दे गाउँपालिकाको सर्वाङ्गीण विकासमा साहित्य, कला, संस्कृतिको उन्नयनको लागि म्याग्दे क्षेत्रको, धार्मिक, सामाजिक, प्राकृतिक, ऐतिहासिक, सूचनाहरू संकलन गरी यसको पहिचान र गौरवलाई सकेसम्म पत्ता लगाई प्रचार प्रसार गर्ने क्रममा पौराणिक काल देखिका म्याग्देको गौरव गाथा संकलन गर्ने क्रममा म्याग्दे साहित्य समाजकी कोषाध्यक्ष श्री सुभद्रा रेग्मी, घिमिरेको सल्लाहका पशुपति घिमिरे सित भेटघाट गर्ने चाँजो मिलाइयो ।
आफुले भन्दा १०÷२० भोटा बढी फटाउनु भएका अग्रजहरूबाट जानकारी सङ्कलन गर्ने क्रममा पशुपति घिमिरेज्यूबाट प्राप्त जानकारीहरू पाठक महानुभावहरुको लागि पनि लाभप्रद हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
अद्रभूत सिद्ध थानसिङ बाबाः–
म्याग्दे गाउँपालिका वडा नम्बर २, थानसिङ तनहुँमा रानाभाटहरूको चिनिएको बस्ती हो । तनहुँ जिल्लाको साविक बन्दीपुरमा रहेको सदरमुकामलाई दमौलीमा सार्ने क्रममा सोही ठाउँका निर्मल रानाभाटले आफ्नो ज्यान गुमाउनु परेको थियो, जस्को सम्झनामा दमौली निर्मल माध्यमिक विद्यालय सञ्चालित छ । थानसिङ बाबा यिनै निर्मल रानाभाटका पिता हुनुहुन्थ्यो । हट्टाकट्टा शरीर, केही अग्लो ज्यान, गोरो अनुहार, केही भुँडी लागेको थानसिङ बाबाको तस्विर यस्तै बोल्छ । खास गरेर म्याग्दे गाउँपालिकाको साविक जामुने गाउँ विकास समितिमा रहेको मठ, मन्दिर, पाटी, पौवा, भन्ज्याङ, थुम्काथुम्की, पानी पधेँरा, गुफा, जङ्गलको बारेमा जानकारी लिने क्रममा पशुपति घिमिरेको मुखबाट बारम्बार श्रद्धापूर्वक थानसिङ बाबाको नामोच्चारण भएकोले थानसिङ बाबाको बारेमा उहाँ र अर्का थानसिङ बाबाका भक्त बद्रिनाथ घिमिरे तथा चिरन्जीवी वाग्लेबाट प्राप्त जानकारीहरूलाई साभार राखेको छु । पशुपति घिमिरे भन्नुहुन्छ ः
-थानसिङ बाबा मैले ८५ वर्षको उमेर (हाल)सम्म देखेको उच्चकोटीको साधक हुनुहुन्थ्यो ।
-वि.सं.२०२७ सालमा एक दिन बिहान थानसिङ बाबा मेरो घरमा आउनु भयो र भन्नुभयो “पशुपति ! यो भैंसी नपाल । १ सय रुपिंयामा भने पनि बेचेर पठाई हाल ।” मलाई १२÷१३ सय रुपिया पर्ने भैंसी त्यति सजिलै सस्तोमा बेच्न मनलागेन । सो भैँसीले १५ दिन पछि मेरो देब्रे गोडा भाँचिदियो । म तीन महिना जति थलिएँ । मेरो हजारौँ रकमा खर्च भयो ।
-किलचोकमा कोटी होम लगाउने सिलसिलामा योगी नरहरि नाथ आउँदा थानसिङ बाबालाई भेट्नु भयो । योगीले बाबालाई ढोग्नु भयो र भन्नुभयो ः
नहिज्ञानेन सदृश पवित्रमिह विद्यते
स्वयं योगसंसिद्धि कालेनात्मने विन्दते
अर्थात ज्ञान समान पवित्र कुरा केही छैन
योग सिद्धि पाएका पुरुषहरूमा यथाकालमा सबैकुरा प्रकट हुन्छन् ।
-बद्रिनाथ घिमिरेका दुई छोरा, एक छोरी सानैमा बिते । छोरीहरु भएतापनि छोराको लागि अर्काे विवाहको चाहना थियो । मैले भनें( पख एकपटक बाबालाई सोध्नुपर्छ । बाबाको सल्लाह अनुसार बद्रिले अर्काे विवाह गर्नु परेन । पितृकुल र मातृकुलबाट आएका एक÷एक गरी बद्रिका दुइटै छोरा तन्दुरुस्त छन् ।
-पण्डित दिनानाथ काफ्लेको भाइ विष्णु काफ्लेको छोरा र बाबुसँगै बस्न नहुने योग रहेछ । संगै बसेमा छोराले बाउ पिर्ने, बाबाले छोरालाई कोलकाता लगेर राखी दिनुभयो । आमाले छोरालाई कोलकाताबाट झिकाइन् । एक महिना भित्रै विष्णु काफ्ले कालको मुखमा परे ।
क्रमशः