हरेक वर्ष साविक एसएलसी र हाल एसईईको नतिजा प्रकाशनसंगै सामुदायिक विद्यालयको नतिजा राम्रो नभएका बारे खासगरी नकारात्मक ढंगले गरिएका टिप्पणीहरु आउने गर्दछन् । सरकारको अरबौं लगानी भएको सामुदायिक विद्यालयले राम्रो नतिजा ल्याउन नसकेको तर सून्य सरकारी लगानीका निजी विद्यालयको नतिजा राम्रो भएको भन्ने खालका विचार प्रवाह गरिन्छन् । आफ्नो विचार र विश्लेषण संयक भयो या भएन भन्ने बारेमा अब ती विचार र विश्लेषणका संवाहकहरुले आत्म समिक्षा गर्ने बेला आएको छ । अझ भनौं हाम्रो चश्मा एकांकी भयो कि वा हामीले झन निजी विद्यालयमा छोराछोरी पढाउन अभिभावकहरुलाई थप प्रोत्सााहन पो गरेका छौं कि भनेर मष्तिष्क मन्थन गर्नु पर्ने बेला आएको छ ।
मैले यहाँ यसो किन भनेको भने असार तेस्रो साता २०७५ सालको एसईई नतिजा प्रकाशन भएसंगै सामुदायीक विद्यालयमा पढेका विद्यार्थी संख्या र निजी विद्यालयमा पढेका विद्यार्थीको संख्या, दुवै विद्यालयबाट ए प्लस, ए, बी प्लस वा बी ग्रेडमा एसईई पूरा गरेका विद्यार्थीसंख्या उल्लेख गरेर सामुदायिक विद्यालयहरु खत्तम भए भन्ने जसरी व्याख्या गर्ने गरिएको पाइएको छ । यस वर्षको एसईई परीक्षामा सहभागी कूल विद्यार्थी मध्ये झण्डै ७१ प्रतिशत तीन लाख २५ हजार तीन सय परीक्षार्थी सामुदायिक विद्यालयका र बाँकी २९ प्रतिशत अर्थात एक लाख ३३ हजार नौ सय निजी विद्यालयका थिए । सामुदायिक विद्यालयबाट एसईईमा सहभागी मध्ये १६ प्रतिशत परीक्षार्थीले मात्र ए प्लस ल्याए उता निजीका ८४ प्रतिशतले ए प्लस ल्याए । राम्रा भनिएका ग्रेडमा निजीका विद्यार्थीको अधिकता छ भने कमजोर भनिएका ग्रेडमा सामुदायिक विद्यालयबाट सहभागी विद्यार्थीको अधिकता छ । भएको तथ्याङकलाई अस्विकार गर्ने कुरा भएन तर तथ्याङकको विश्लेषण गर्दा नेपालका निजी र सामुदायिक विद्यालयको विभिन्न अवस्थाबारे पनि वास्तविकतामा रहेर विश्लेषण गर्नु पर्छ भन्ने मेरो आग्रह हो ।
वर्तमान नेपाली समाज दुइ वर्गमा विभाजित छ । हुँदा खाने र हुने खाने । अझ रहरले मकै खाने र खाए मकै नखाए भोकै हुने । निजी विद्यालयमा अध्ययन गर्ने बालबालिकाको सानो संख्यालाई छाडेर बाँकी सबैजसो हुनेखाने परिवारका देखिन्छन् । अनि सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई हेर्ने हो भने सबै हुँदा खाने परिवारका देखिन्छन् , हुनेखाने परिवारका बालबालिका त्यहाँ देखिँदैनन् । स्वाभाविक रुपमा हुने खानेका बालबच्चाले राम्रो सिकाइ वातावरण पाउँछन् । चौविसै घण्टा किताब कापीसंग खेल्न र रमाउन पाउने अनि आवश्यक सबै शैक्षिक सामग्री पाउने बालबालिकाको सिकाइसंग विद्यालयमा पढेको ६ घण्टा बाहेक मुस्किलले एक दुइ घण्टा किताबको अगाडि बस्न पाउने बालबालिकाको सिकाइ उपलब्धि दाँजेर हामी भनिदिन्छौ सामुदायिक विद्यालयले नतिजा राम्रो गरेन । विहान उठेर घाँस दाउरा गरेर घण्टौं हिडेर विद्यालय पुग्ने अनि घरमा मुस्किलले समय निकालेर पढ्ने ग्रामिण बालबालिकाको सिकाईसंग महिनामा हजारौं खर्च गरेर पढेका शहरका बालबालिकाको सिकाइ तुलना गर्नु कति उपयुक्त हो ? सिकाइ पनि हामीले कहाँ ठिकसंग तुलना गरिरहेका छौं र हामीले त तीन घण्टे पेपर पेन्सिल टेष्टमा कसले धेरै अंक ल्यायो भनेर हेरिरहेको पो छौं । हामीले हेर्नुपर्ने त्यति मात्र हो ? हाम्रो मूल्याङ्कनको आधार साँघुरो भएको होइन र ?
यस वर्ष एसईई परीक्षामा सहभागी विद्यार्थी संख्यालाई हेर्दा पनि थाहा हुन्छ कि सामुदायिक विद्यालयले निजीको तुलनामा झण्डै तीन गुणा बढी विद्यार्थीलाई सेवा दिइरहेको छ । नाफा कमाउने उद्देश्यले स्थापना गरिएका निजी विद्यालयहरु सहर केन्द्रित छन् तर सामुदायिक विद्यालयहरु देशका गाउँ गाउँमा छरिएर बालबालिकालाई शिक्षाको उज्योलो प्रदान गरिरहेका छन् । र योसंग जोडिएको अर्को तथ्य गाउँमा अभाव छ, अशिक्षा छ, बेरोजगारी छ,आफ्ना छोराछोरीलाई शिक्षा आर्जनगर्ने अवसर प्रदान गर्नुपर्छ भन्ने चेतनाको विकास अभिभावकमा छैन् ।
अभावकै कारण सामुदायिक विद्यालयमा पढ्ने बालबालिका बालश्रम गर्न बाध्य छन् अनि उनीहरुसंग कापी कलम देखि अत्यावश्यक शैक्षिक सामग्री छैनन् । यसले उनीहरुको सिकाइमा प्रत्यक्ष नकारात्मक असर पारिरहेको छ । घण्टौं हिडेर थकित अवस्थामा विद्यालय पुगेको एउटा बालकले कसरी सिक्न सक्छ ? अझ उसंग भोकलाग्दा खाने खाजा समेत हुँदैन । खाली पेटको उसलाई पढ्ने भन्दा पेट भर्ने चासो हुने नै भयो । अझ अर्को समस्या छ गाउँका सामुदायिक विद्यालयको, त्यो हो शिक्षक दरबन्दीको अभाव । पाँच कक्षासम्म चलेको विद्यालयमा तीन जना शिक्षक छन् । अनि ती बालबालिकाले कसरी सिक्ने मौका पाउँछन् र एसईईमा ए प्लस ल्याउन ? कतिपय माध्यमिक विद्यालयहरुमा आवश्यक न्यूनतम योग्यता नपुगेका शिक्षकले पढाउनु परेको अवस्था छ । राज्य त्यस्ता ठाउँमा दरबन्दी दिने चासो राख्दैन तर खोज्छ, स्तरिय शिक्षा । अनि हामी भनि दिन्छौं, सामुदायिक विद्यालयको पढाइ गुणस्तर राम्रो भएन । हाम्रो विश्लेषण एकांकी भएन त ?
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर नराम्रो हुनुमा हामी अधिकांश शिक्षकलाई दोष थोपर्छाै । मैलै पनि सामुदायिक विद्यालयका शिक्षक दोष रहित छन् भन्न खोजेको हैन । शिक्षकका पनि कमजोरी होलान् ÷छन् । स्थायी भएपछि पढाउन पर्दैन भन्ने गलत अहंले गाँजेका शिक्षक, विद्यालयमा मदिरा सेवन गरेर जाने र नपढाउने शिक्षक, कक्षा कोठामा कम र राजनैतिक दलको कार्यालयमा धेरै समय विताउने शिक्षक पनि प्रसस्तै छन् । तर सोलोडोलोमा हामीले सबै शिक्षकलाई काम नगर्नेको कोटीमा राखिदिन्छौं । अस्थायी शिक्षक नियुक्तिमा पर्दा भित्र हुने गरेका अनेकौ अनियमितताका किस्साहरु सुन्न पाईन्छन् । विद्यार्थीको नतिजा प्रति जवाफ देही हुन पर्दैन । तर हामीले भनेजस्तो सामुदायिक विद्यालयको खस्कँदो नतिजामा शिक्षकलाई मात्र दोष दिएर उम्कन मिल्दैन । गुणस्तर सुधार्न त अभिभावक पनि लाग्नुपर्ने हुन्छ । निजी विद्यालयमा छोराछोरी पढाउँदा दैनिक गृहकार्य गरे नगरेको हेर्ने, खाजाको व्यवस्था गर्ने, विहान विद्यालय छोड्न जाने अनि छुट्टी हुने बेलामा लिन जाने अभिभावक सामुदायिक विद्यलायमा त्यही बच्चा भर्ना गरेपछि ती कुनै काम गर्दैन । अनि सामुदायिक विद्यालयका शिक्षकले पढाएनन् भनेर गाली गर्छ ।
त्यसैले मेरो आग्रह छ हामीले सामुदायिक विद्यालयलाई हेर्ने चश्मा बदलौं वा नभए हाम्रो चश्मामा लागेको धुलो सफा गरौं । अनि वास्तविकता थाहा हुन्छ र हाम्रो आलोचना संयक बन्न पुग्छ ।