दमौली अस्पतालमा कार्यरत चिकित्सकहरुले तलब तथा प्रोत्साहन भत्ता नपाएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकषर्ण गरेको कुराले धेरैको ध्यान खिच्यो, यो साता । कोभिडको महामारीमा दिनरात नभनेर महामारी पिडितको उपचारमा लागि परेका स्वास्थ्यकर्मीले सरकारले प्रदान गर्ने भनेको प्रोत्साहन भत्ताको त कुरै छाडौं तलब समेत नपाएको समाचार ध्यान तान्ने र मन छुने खालको हुने नै भयो ।
यो सन्दर्भलाई अगाडि बढाउनु अघि हामी कस्तो संस्कारमा हुर्केका हौं भन्ने केही सन्दर्भहरु उल्लेख गर्न मन लाग्यो । हाम्रो हुर्काइ गरिब दुःखीहरुको सेवा गर्नुपर्छ भन्ने सिकाईबाट भएको हो । सानो छँदा पढेको एउटा महिलाले बाटोमा भेटेको घाइते सुगालाई घर लगेर त्यसको औषधोपचार गरेको र त्यसलाई स्वस्थ्य बनाएको कथा अहिले पनि स्मरणमा छ । यसको अर्थ हामी मानवलाई मात्र होइन मानवेत्तर प्राणी पनि दुःखमा परेको भए सहानुभूति राख्ने र सकेको सहयोग गर्ने र गर्नुपर्छ भन्ने सिकाईमा हुर्केका हौं ।
अरुलाई दुःख पर्दा आफुलाईनै दुःख परेको अनुभूति गर्ने र दुःखमा परेकाको सहयोग गर्ने त हाम्रो संस्कार नै हो । यद्यपि बाटोमा संगै हिँडको साथी लड्दा हाँस्ने पनि हामी मध्येकै हौं । आफुलाई सहयोग गर्नेको हामीले कसरी गुन तिर्छाै भन्ने कुरालाई दर्शाउन केही समय अगाडि सामाजिक सञ्जालमा हेरेको एउटा भिडियोबारे पनि चर्चा गर्न मन लाग्यो ।
भिडियोमा दुइटी महिला छन् । एउटीले टेबुलमा भएको फलफुल विग्रन लागेकोले घर लगेर खान अर्की महिलालाई आग्रह गर्छिन् । तर अर्की महिलाले फलफुल विहानमात्र ल्याएको भन्दै ति नविग्रेको जिकिर गर्छिन । त्यस्तैमा ढोकाको घण्टी बज्छ र नयाँ महिलाको प्रवेश हुन्छ । नयाँ महिला आएसंगै घर मालिक जस्ती देखिने महिलाले नयाँ महिलालाई घरमा कुन कुन काम गर्ने भनेर सुझाउँछिन् । पहिलो महिला सम्भवतः घरेलु कामदार तर्फ संकेत गर्दै भन्छिन्, अब तिमीबाट घरको सबै काम हुन सक्दैन । त्यसैले काम गर्न मैले नयाँ मान्छे बलाएकी । उता काम खोसिएको बुझाईले पहिली महिलाको मन कुडिँन्छ । त्यही बेला नयाँ आएकी महिलालाले खाना चाहिँ कति जनाको लागि बनाउनु पर्ने होला भनेर राखेको जिज्ञासामा पुरानो कामदार तर्फ हेर्दै घर मालिक्नीको जवाफ हुन्छ, खाना हामी दुइजना मिलेर बनाउँछौं । वास्तवमा उनले पहिलेकी कामदार महिला गर्भवती भएको थाहा पाएर अर्की कामदार बोलाएकी हुँदी रहिछन् । उनी थप्छिन्, तिमीले म गर्भवती भएका बेला आफ्नो घर पनि भुलेर मेरो जसरी सेवा गरेकी थियौं, त्यस्तै सेवा गर्न त म सक्दिन तर कामलाई हल्का गरेर सानो सहयोग गर्न त सक्छु
नि । र टेबुलमा भएको फलफुलको झोला दिएर घर पठाउँछिन् ।
तर दिन पछि रात भनेझैं यसका पनि अँध्यारा पाटाहरु छन् । माथि नै उल्लेख गरें कि संगै बाटोमा हिँडिरहेको साथी लड्दा हाँस्ने हामीमध्ये कै छौं । सडक दुर्घटनामा परेका यात्रुहरुको उद्दारका लागि गएका भनिएकाहरुको ध्यान घाइतेको उद्दारमा भन्दा उसको पर्समा भएको पैसा अनि नाक, कान, घाँटी, औला र नाडीमा भएको गहनामा हुने गरेका र लुटिएका प्रसस्त उदाहरुण हामीसंग छन् ।
कोभिड–१९ को संक्रमण भएपछिको कुरा हो, हाम्रै राज्य सञ्चालकहरुले १० रुपैयाँ पर्ने मास्कलाई ९६ रुपैयाँ तिरेको बिल बनाएर अकुत सम्पत्ति कमाएको देखियो । पैसाकै लागि जनस्वास्थ्य माथि खेलवाड गर्दै औषधीको कृतिम अभाव गराउनेहरु पनि हामी कहाँ प्रसस्त छन्, यसको ज्वलन्त उदाहरुण केही दिन अगाडि बजारमा सिटामोलको अभाव हुनलाई लिन सकिन्छ ।
जसले पठाएको विप्रेषणले देशको अर्थतन्त्र धानिएको छ । तिनै विदेशीमा काम गर्न गएका नेपाली दाजुभाइलाई कोभिडको त्रासका बेला उद्धार गरेर नेपाल ल्याउनु पर्दा समान्य भाडादरभन्दा चारगुण बढी भाडा असुलेर लुटिएको घटनापनि हामीले विर्सेका छैनौं । हाम्रो राज्य कति बैगुनी छ भन्ने कुराको यो भन्दा उत्कृष्ट उदाहरुण खोज्न कहाँ जानु पर्ला र ?
कोरोना कहरकै बेला नेपाली समाजको विकृत तस्विर अरुपनि सार्वजनिक भए । अस्पतालमा उपचार गर्न जाँदा उपचार गर्नुसाटो विरामी छोडेर स्वास्थ्यकर्मीहरु भाग्ने दृष्यलाई नेपाली समाजको विकृति तस्विर भन्दा अत्युक्ति हुँदैन । यो मात्र होइन, अस्पताल वा अन्य कुनैपनि स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्य कर्मीहरु डेराबाट लखेटिने वा त्यस्ता स्वास्थ्यकर्मीलाई तुरुन्त डेरा सर्न घरबेटीले दवाव दिएका समाचारहरु पनि आए । स्वास्थ्यकर्मीको काम भनेको विरामीको उपचार गर्नु हो तर विरामी देखेर भाग्ने कुराले आफ्नो कतव्यबाट विमुख भएको अर्थ अवश्य लाग्ने
भयो । स्वास्थ्यकर्मीलाई घरमा छिर्न नदिने घरबेटी वा डेरा सर्न दवाव दिने घरबेटी दुबैले बुझ्न नखोजेको चाहिँ के हो भने उ आफु विरामी भए जाने ठाउँ त्यही अस्पताल हो र तिनै स्वास्थ्यकर्मीको उपचार र स्याहार सुसारले निको भएर घर फर्किने हो ।
अनि अब हाम्रो सरकारको कुरा । माथि नै भनियो सरकार कति बैगुनी छ । यसका अनगिन्ती उदाहरण भेटिन सक्छन् । तत्कालको उदाहरण भनेको स्वास्थ्यकर्मीलाई कोभिडको उपचारमा संलग्न भए बापत प्रदान गर्ने भनिएको जोखिम भत्ता नदिएको हो । भनिरहनु परेन कोभिडको त्रास हामीमा कति छ । माथि उल्लेखित घरबेटीका व्यवहारले पनि कोभिडले हामीलाई कति त्रसित बनाएको रहेछ भन्ने देखाउँछ । यद्यपि ति घरबेटीहरुको अमानवियताको जति निन्दा गरेपनि कम हुन्छ । त्यस्तो समयमा आफ्नो ज्यान समेत जोखिममा राखेर स्वास्थ्यकर्मीहरुले जसरी आम मानिसलाई जीवन प्रदान गरे, त्यस बापतको पुरस्कार वा जोखिम भत्ता जे भनेपनि दिनु पथ्र्यो र राज्यले दिने घोषणा सुनायो ।
तर अहिले स्वास्थ्यकर्मीहरु त्यो भत्ता मात्र होइन नियमित तलब समेत नपाएको भनेर विरोधमा उत्रन बाध्य भएका छन् । यसले एकातिर स्वास्थ्यकर्मीको आत्मविश्वास घटाएको छ भने अर्काेतिर राज्यका प्रतिको विश्वास घटाएको छ । जुनकुरा दीर्घकालमा गएर राज्य र नागरिकका प्रति घातक हुनसक्छ । हाम्रो राज्यको चेत बेलैमा खुलोस् ।