फेरी यस्तो सुन्न नपरोस्
मानव सभ्यतामाथि नै धावा बोल्दै कोरोना भाइरस स्वच्छन्द रुपमा संसार घुमिरहेछ । सांस्कृतिक, धार्मीक, सामाजिक, आर्थिक क्रियाकलापहरु ठप्प छन् । यो आलेख तयार पार्दाको मितिसम्म यसले संसारका झण्डै दुइलाख नागरिकको ज्यान लिइसेकेको छ भने लाखौं संक्रमित छन् । संसारको आधाभन्दा बढी जनसंख्या लक डाउनमा छ । आफुलाई सर्व शक्तिमान सम्झने अमेरिका कोरोनासंग हायलकायल छ । नेपाल जस्तो विकासोन्मुख देशलाई यसले आच्छुआच्छु नपार्ने कुरै भएन ।
कोरोनाको महामारी र यसका कारण लगाइएको लकडाउनका कारण दिनभर काम गरेर सांझ बिहानको छाक टार्ने मजदुर देखि मध्यम वर्गिय परिवार सांझ विहान के खाने, लालाबालाको पेट केले भर्ने भन्ने चिन्तामा छन् । राज्य घर बाहिर ननिस्क भन्छ तर ति नागरिकको कष्ठकर दैनिकीबारेमा गम्भीरता पूर्वक चासो राख्दैन । नागरिक खान नपाएर भोकभोकै मर्ने अवस्था आएको छ । तर विडम्बना नेपालको राजनैतिक र प्रशासनिक नेतृत्वलाई यो संकट कमाउने अवसर बनेको छ । कमाउनका लागि उनीहरुले गरेको उछलकुद लज्जा जनक त छ नै खेद जनक पनि छ ।
चीनबाट स्वास्थ्य सामग्रि खरिदमा अनियमितता भएको खवरले नराम्रोसंग झस्केको नेपाली समाज समान्य बन्न नभ्याउँदै सुदुरपश्चिम प्रदेशको एक अस्पतालले भेन्टिलेटरका लागि आवश्यक सामग्रि खरिद गर्दा नयाँको मूल्यमा पुरानो र खिया लागिसकेको सामान खरिद गरेको समाचार प्रकाशमा आएको छ । राहत वितरणमा पनि भोटको राजनीति गरिएका खवरहरु छ समान्य नै भए । राहत हुँदा खानेका घरमा भन्दा हुने खानेको घरहरुमा धेरै पुगेका समाचारले संसार सामु नेपालीलाई लज्जित तुल्याएको हुनुपर्छ । यतिमात्र होइन २५ केजी भनेर वितरण गरिएको राहतको चामल २३ केजी मात्र भएका समाचारले त हामीलाई संसार सामु मुख देखाउनै नहुने बनाएको छ ।
राजनैतिक र प्रशासनिक पहुँच हुनेहरु लकडाउनमा पास बनाएर सामान्य काममा पनि निर्वाध यातायातका साधनमा ओहोरदोहो गरिरहेका छन् । तर जन्मथलो छोडेर कामको खोजीमा बाहिरिएकाहरु कर्मथलोमा खान नपाउने भएकाले जन्मथलो फर्कन्छु भन्दा नपाएका खबर अब समान्य लाग्न थालेको छ । एक महिना नभएका सुत्केरी महिला समेत हप्तौ लगाएर हिडेर घर फर्केका समाचार सुनिन थालेका छन् । उता समग्र देशको अभिभावक भनिएका प्रधानमन्त्री ति नागरिकलाई लापरवाही गरेको भनेर हप्काउँछन्, पिडामा नुनचुक छर्छन । के एउटा अभिभावकले आफ्नो संरक्षकत्वमा रहेको नागरिकको पिडामा मलम लगाउनु साटो लापरवाही गरेको भनेर हप्काउन सक्छ ? हामीले यस्तै शासन व्यवस्थाको परिकल्पना गरेका हौ ? हामीले त शासक होइन हाम्रा जनप्रतिनिधिलाई सेवको रुपमा हेर्न चाहेका थियौ । हामीलाई लागेको थियो, अब हामी सेवाग्राही भएर सम्मानपूर्ण जीवन जिउने छौं । तर अवस्था उल्टो भएको छ । संकटमा पनि कमाउ धन्दा गर्नेहरु दण्डित हुनसाटो संरक्षित भइरहेका छन् राज्य सञ्चालकबाट ।
भारतमा खान नपाएपछि नेपाल आउन चाहेका नागरिकलार्ई उतै छेक्ने हाम्रो राज्य, जब उ ज्यान जोखिममा राखेर महाकाली पौडेर तरेर नेपाल आइपुग्छ, उसलाई अर्धनग्न सडकमा हिँडाउने पनि हाम्रै राज्य । लाखौं खर्चर विदेश पढ्न गएका नागरिकलाई जहाज चार्टर गरेर ल्याउने हाम्रो राज्य, वर्षनी अरबौं रमिट्यान्स पठाएर देशको अर्थतन्त्र धान्ने साउदी लगाएतका देशमा अलपत्र परेका नागरिकका बारेमा सामान्य सोधीखोजी पनि गर्दैन । भनिन्छ भारतमा झण्डै २० लाख नेपाली कार्यरत छन् र उनीहरु घर आउनकालागि सिमानासम्म आएर बसेका छन् । तिनलाई नेपाल आउन दिने विषयमा केही नबोल्ने हाम्रै राज्य । यो सबै देख्दा जेवी टुहुरेको गीतको याद आउँछ, जसले भन्छ लाखौंका लागि विरानो बनेको यो देश मुठ्ठी भरलाई भने स्वर्ग छ ।
आम नागरिकको अपेक्षा के हो भने राज्य अभिभावक हुन सिकोस् । संकटलाई कमाउने अवसरको रुपमा लिने प्रवृत्तिमा कमि आओस् । जीवन रहेमात्र त कमाउनुको अर्थ रहन्छ । अहिले जे भैरहेको छ,यस्तो कहिल्यै र कहिँ पनि देख्न र सुन्न नपरोस्, मेरो कामना ।