शौचालय दिवस आएको पनि छैन । देशमा एक घर एक शौचालय अभियान सञ्चालन भएर बन्द प्रायः भएको पनि दशक नाघ्न लागिसक्यो । पहिला पाइखाना अनि शौचालय र आधुनिक भाषामा वा आफुलाई आधुनिक भन्न रुचाउनेहरुको भाषामा वासरुम वा रेष्टरुम अनेक नाम । सबै नामको एउटै अर्थ, मल–मुत्र त्याग्ने ठाउँ गाउँले भाषामा भन्दा दिशा– पिसाव गर्ने ठाउँ । पहिले पहिले शौचालय घरभन्दा पर हुनुपर्छ भन्ने थियो । बुढापाकाहरु अझ्रै पनि भन्छन्, घर भित्र खाने र घर बाहिर फाल्न
जाने । एक घर एक शौचालय अभियानले शौचालयलाई घर नजिकै ल्यायो । अहिले शौचालय घर भित्रमात्रै होइन, कोठा–कोठमा छन् । बिरामी परेका मानिस, अशक्त तथा बृद्धबृद्धा, अपाङ्गता भएका मानिस आदिका लागि घरभन्दा परको शौचालय उपयुक्त थिएन र घर छेउ हुँदै घर भित्र र अघिनै भनियो घरका हरेक कोठमा शौचालय बनाइन थालेका छन् । स्वास्थ्य, सरसफाई तथा सुविधाका हिसाबले हरघर अनि हरेक कोठमा शौचालय हुनु जायज थियो र अहिले त्यही जायज काम भइरहको छ । झाडापखाला, आउँ, हैजा, टाइफाईड जस्ता सरुवा रोगहरुबाट वर्षेनी हजारौं नागरिकको ज्यान जाने गरेकोमा शौचालयको प्रयोग बढेसंगै यो समस्या हल हुँदै गएको छ ।
तर आज म यो आलेखमा स्वास्थ्य सरसफाईमा हामीलाई सघाउने त्यो शौचालयको बारेमा कुरा गर्न गरिरहेको छैन । बरु नेपालका अधिकांश सरकारी कार्यालयमा हुने गरेका शौचालय जहाँ मल–मुत्रको दुर्गन्ध व्याप्त हुन्छ ।
जहाँ पुग्दा शौचालय कहाँ छ भनेर बोल्ले कष्ट गर्ने अनि शौचालय भनेर लेखेको सूचना पाटी कता होला भनेर हेर्ने कष्ट आँखालाई दिनु पर्दैन । शौचालयबाट आएको जवरजस्त दुर्गन्ध जुन हाम्रो नाकमा आएर ठोकिन्छ, त्यसले हाम्रो प्रश्नको जवाफ दिइसकेको हुन्छ र शौचालय भएको स्थान
बताईदिन्छ । सरकारी कार्यालयका शौचालय जो कहिल्यै वासरुम वा रेष्टरुम हुन सकेनन् । तर हाम्रा सरकारी कार्यालयका लागि ति शौचालय जति आवश्यक छन् र पस्ने वित्तिकै मनै दिग्मिगाउने अनि पेट बठारिएर बान्ता आउन खोज्ने शौचालय त्यसका अभिन्न अंग हुन त्यसरी नै राजनीति हाम्रो अभिन्न अंग हो ।
जुन फोहरी छ घिनलाग्दो छ । जहाँ प्रवेश गर्नै मन लाग्दैन तर प्रवेश नगरी सुखै छैन । ति शौचालय जस्तै बनेको नेपाली राजनीतिबारे चर्चा यो आलेखमा गर्न गइरहेको छु ।
वरिष्ठ साहित्यकार जगदीश घिमिरेले आफ्नो प्रतिसंस्मरण “अन्र्तमनको यात्रा” मा उल्लेख गरे अनुसार राष्ट्रिय पञ्चायतको अध्यक्ष समेत बनेका नवराज सुवेदीका बुबा साम्बभक्त सुवदीले आफ्नो साहित्य साधनाको कोठालाई भोजनालय र छोरा नवराजको राजनैतिक चर्चा परिचर्चा भइरहने कोठालाई शौचालय नामाकरण गरेका थिए । अहिलेका नेपालको राजनैतिक वातावरण नियाल्ने जो कोही साम्बभक्तको भनाईसंग असहमती राख्न सक्दैन । साहित्यकार घिमिरे राजनीति देहव्यापार भन्दापनि बिटुलो भएको उल्लेख गर्दै भन्छन्, देहव्यापारमा देहको मात्र व्यापार हुन्छ तर राजनीतिमा देहकोभन्दा चेतनाको व्यापार बढी हुन्छ ।
पञ्चायत कालमा पनि राजनीतिका फोहोरी खेलहरु नभएका होइनन् । सत्ता हत्याउन अनेकौं जायज नाजायज खेलहरु पञ्चायतमा पनि हुन्थे । तर प्रजातन्त्रको दुहाई दिने दलहरु सत्ता आएको समय पछिको अवधिमा राजनीतिको नाममा अर्थात सत्ता प्राप्तीको नाममा कति फोहोरी खेलहरु भए त्यसबारे संक्षेपमा चर्चा गर्न चाहन्छु ।
२०४८ मा सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसले बहुमत पायो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो तर प्रतिपक्षमा रहेको दल एमालेलाई मात्र होइन कांग्रेसकै केही नेताहरुलाई गिरिजाको सत्तारोहण लम्व्याउन मन लागेन र अनेक वितण्डा भइरहे । मध्यावधी निर्वाचन भयो, २०५१ मा । त्यसपछि के के भए धेरै पाठकको स्मरणमा ताजै छ । खासगरी शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि भएका सुरा–सुन्दरी काण्ड, पुरुष सांसदले महिलाले खाने औषधी खाने काण्ड, पजेरो काण्ड, बंैकक काण्ड लगाएत काण्डै–काण्ड देउवाको पालामा भए । त्यसैले देउवालाई नेपालको लोकतान्त्रिक प्रणालीमा विकृतीका जननी समेत भन्ने गरिन्छ । र यसले प्रजातन्त्रमाथि नै आम नागरिकमा अविश्वास पैदा हुने अवस्था सिर्जना भयो । यो बीचमा अधिकांश समय प्रतिपक्षमा बसेको एमाले सडक भत्काउने, सडक छेउमा राखिएका रेलिङ भाँच्ने, टेलिफोनका बुथ जलाउने, नेपाल बन्द गर्ने जस्ता अनेकौं नाजायज काममा इन्गेज हुन थाल्यो र यि सबैको एउटै उद्देश्य थियो, सत्ता प्राप्ती ।
उता माओवादी सशस्त्र द्वन्द्वको नाममा सत्ता प्राप्तीकै लागि आफुलाई चित्त नुबझको मानिस मध्ये कसैलाई मानिस जम्मा पारेर मरणसन्न हुनेगरी कुट्ने अनि उपचार गर्न लान खाजे त्यसको पनि त्यही हालत हुने धम्की दिने, कसैको घाँटी रटेर हत्या गर्ने, कसैलाई जिउँदै पुर्ने, कसैका हात काट्ने, कसैका खुट्टा काट्ने अनि कसैका आँखा फोड्ने गर्नमा व्यस्त हुन थाल्यो । विद्यालयमा पढ्दै गरेका निमुखाका छोराछोरीलाई यो बुर्जुवा शिक्षाको काम छैन भन्दै युद्धमा होमिन बाध्य पारे । यो नृशंस र अमानविय खेल सब्रै सत्ता प्राप्तीको लागि थियो ।
सत्ता प्राप्तीका लागि यी र यस्ता सरकारी शौचालय खेलहरु यो तीन दशकमा कति भए त्यसको हिसाब गरी साध्य छैन । आम नागरिक हरेक निर्वाचनमा मत हाल्दै गर्दा अब त हाम्रो राजनीति सुध्रन्छ कि भन्ने आशाका साथ मतदात गर्छन् तर उनीहरुको आशा कहिल्यै पूरा हुने देखिएको छैन । भर्खरकै कुरा गरौं कुनै विचार सिद्धान्त र आचरण नमिल्ने कांग्रेस, माओवादी तथा समाजवादी जस्ता दलहरु मिलेर निर्वाचन लडे । उता एमाले, राप्रपा तथा मधेवादी दलको गठजोड पनि त्यस्तै अप्राकृतिक थियो ।
प्रधानमन्त्री पद नपाउने देखेपछि केही दिन अगाडिसम्म कुनै हालतमा गठबन्धन नतोडने कसम खाएका पुष्पकमल दाहाल क्षण भरमै एकसय असी डिग्री फन्को मारे र एमाले लगाएत दलको समर्थनमा प्रधानमन्त्री
भए । प्रमुख प्रतिपक्षको रुपमा जनताको आवाज मुखरित गर्ने जिम्मा पाएको कांग्रेस सत्ताकै लोभले विश्वासको मत दिन
पुग्यो ।
चार–चार जना उपप्रधानमन्त्रीहरु भेला पारिएका छन् । समावशीताको राग अलापेर नथाक्नेहरु मन्त्री बनाउँदै गर्दा त्यो सबै विर्सेको देखियो । यी सबै हेर्दा अहिलेको राजनीति सरकारी कार्यालको शौचालयभन्दा भिन्न लाग्दैन । सफा लाग्दैन ।