विसं २०७२ वैशाख १२ गते शनिबार मध्यान्हको समय नेपालीजनका लागि त्रास बोकेर आएको रहेछ । आज भन्दा ७ वर्ष अगाडिको त्यो दिन सम्झँदा अझै पनि हरेक नेपालीको शरीरमा एउटा भयले कांढा उम्रन्छ । त्यो दिन र समयले कयौं नेपालीको ज्यान लियो, कयौंको छाना, नाना र खाना खोसियो । हो, त्यो त्यही दिनको जुन दिन गोर्खा केन्द्रविन्दु बनाएर आएको भूकम्पले गोर्खा र आसपासका थुप्रै नेपालीको चिहिल विहिल बनाएको थियो ।
आठहजार पाँचसय भन्दा बढी नागरिकको ज्यान लिएको उक्त भूकम्पले कयौंको घरमात्र भत्काएन, गरीखाने जमिन चिरिएर धाँजाधाँजा बनाईदियो र उनीहरुको खाना गुम्यो । ओत लाग्ने घर भूकम्पका कारण भत्किँदा मानिसहरु महिनौं र अझ कति त वर्र्षाै आकाशलाई छानो बनाएर बस्न बाध्य भए । यो वर्षको वर्षायाम सुरु भएको छैन तर गतवर्षको वर्षायाममा सोही भुकम्पका कारण चिरिएको जमिनमा पहिरो जाँदा सिन्धुपाल्चोकको लिदी गाउँमा थुप्रै घरहरु बगे र धेरै धन र जनको क्षति भयो । भुकम्पकै कारण कतिपय ठाउँहरुमा पानीको मुहान सुक्न जाँदा त्यहाँका नागरिक पानी समेत खान नपाएर काकाकुल हुनुपर्ने अवस्था आएको छ । हाम्रा धार्मीक र सांस्कृतिक सम्पदाहरुमा पनि भूकम्पले धेरै क्षति गरेको छ । भीमसेन थापाले बनाएको नौ तले धरहरा अब इतिहासको कथा भएको छ भने रानीपोखरी, काष्ठमाण्डप, पचपन्न झ्याले दरबार लगाएतका धार्मीक र सांस्कृतिक सम्पदाहरुका नराम्रो क्षति पुगेको छ, भूकम्पका कारण ।
भूकम्प प्रतिरोधी संरचना निर्माण गर्ने, भूकम्प आइहालेमा कसरी आफु,आफ्नो परिवार र समुदायका मानिसलाई जोगाउने भन्ने कुराको जानकारी राख्ने, उद्धारका सामग्रीको जोहो गरीराख्ने जस्ता काम सचेत नागरिकका नाताले हामी सबैको जिम्मेबारी र कर्तव्य हुन आउँछ । बैशाख १२ नजिकिँदै गर्दा भूकम्पका बारेमा जानकारी राखौं र अरुलाई पनि यसले गर्ने क्षतिको बारेमा जानकारी गराऔं । यसो हुन सकेमा भूकम्प आइहालेमा हुने मानविय र भौतिक क्षति कम गर्न सकिन्छ । भत्किएका धार्मीक, सांस्कृतिक सम्पदाको पुनः निर्माण छिट्टै गर्न सकियोस् । आकाशलाई छानो बनाएर अब फेरी नागरिकले रात काट्नुपर्ने अवस्थाको अन्त्य होस् ।
वैशाख १२ को सम्झना-सम्पादकीय
previous post