हाम्रा नेताहरु कति दत्तचित्त भएर जनताको लागी काम गर्नुहुन्छ । भत्ता लिइलिइ भनेपनि बैठक बसिदिनु भएकै छ । महंगो महंगो गाडी चढेर हिँडिदिनु भएकै छ । बेलाबेलाका हाम्रैलागि भनेर विदेश भ्रमण पनि गइदिनुभएकै छ । सभा सम्मेलनमा मिठो भाषण गरिदिनु भएकै छ । मेसो मिलाएर सात पुस्ता पुग्ने गरी सम्पत्ति जोडजाड गर्नु भएकै छ । राष्ट्रिय ढुकुटी बेलाबेलामा चाट्नु भएकै छ । आत्मा मिलेपनि जनतालाई देखाउनु एक अर्कालाई गाली गर्नु भएकै छ ।
गत महिनाको मध्यतिर हो क्यार, मैले एउटा टिसर्ट खरिद गरेको थिएँ । असाध्यै राम्रो छ । सुहाउँदो रङ, चट्ट मिलेको साइज, आकर्षक डिजाइन । लगाउँदा पनि ठ्याक्कै मिल्ने, चट्ट सुहाउँछ । त्यो टिसर्ट लगाउँदा आm्नो व्यक्तित्व नै बढेको भान हुन्छ । कमसेकम म आफुलाई त्यस्तै लाग्छ । नलागोस पनि किन कम दुःख पाइन त्यो टिसर्ट किन्दा । बजारका सायद कुनै पसल बाँकी छैन होला जहाँ मैले त्यस्तो टिसर्ट खोज्न भौंतारिएको नहोस् । त्यो टिसर्ट खरिद गरेको दिन एउटा युद्धै जितेको जस्तो आभाष भएको थियो । घरमा त्यो टिसर्ट लगाएर एैनाको अगाडि कति पल्ट कोल्टी कोल्टी आफैलाई हेरें त्यो मलाई नै थाहा छ । कति मिठो आभाष थियो त्यो , कति खुसी थिएँ त्यो दिन । यसतो लागेथ्यो नयाँ टिसर्ट लगाएर एक चक्कर पुरै गाउँ डुलुँ । खैर डुलिन । अब त्यो टिसर्ट लगाएर कहाँ जानु, कसको सामु त्यसको प्रसंसा गर्नु मौकाको खोजिमा थिएँ । एकदिन खै के प्रसङ्गमा हो ठ्याक्कै याद भएन, हाम्रो साथीहरुको भेटघाट हुने चाँजोपाँजो थियो । मैले त्यही नयाँ टिसर्ट लगाएर जाने निधो गरें । म बडो ठाँटका साथ त्यही नयाँ टिसर्टमा सजिएर भेटघाटमा सरिक भएँ । मेरो आगमन लगत्तै सबैको ध्यानाकर्षण म तिर भयो , अझ भनौं मेरो नयाँ टिसर्ट तिर ।
सुरुमा त सबैले बडो तारिफ गरे । म पनि नाकको पोरा फुलाउँदै टिसर्टको कम्पनी देखि गुणस्तर सम्मको गफ लाउन थालें । कुरै कुरामा मेरो एउटा साथीले अलिकति खोट लागाइहाल्यो । त्यसपछि त एउटाले यो नमिलेको भन्छ, अर्काेले त्यो । के के हो के के । मेरो नयाँ टिसर्टको बदनामै गर्नमा लागि परे साथीहरु । मलाई पनि सनक्क पारो चढ्यो फुत्त उठेर घरतिर लम्किएँ । घरमा पुगेर एक गिलास चिसो पानी पिए पछि साथीहरुको तर्क माथि गम्न थालें । धेरै बेरको गमाई पछि एउटा निष्कर्षमा पुगें । मैले एउटा टिसर्ट न किनेको हुँ, आफ्नै पैसाले, मलाई मन प¥यो, किनें । अरुलाई किन मन पर्नुप¥यो । उसलाई त्यो राम्रो लागेन रे । उसलाई त्यो नमिले जस्तो लाग्यो रे । कत्ति न संविधान नै लेखे जस्तो सबैको चित्त बुझाउनु पर्ने रे । मैले झट्ट छिमेकी देश भारतलाई सम्झे । उसले हाम्रो संविधान सभाले निर्माण गरेको संविधान घोषणा गर्ने बेला यो मिलेन, उ मिलेन भनेर असन्तुष्टि जनाइरहेको थियो । हाम्रो संविधान जसलाई संसारले राम्रो भनिरहेको छ, भारतलाई यसमा किन चासो ? हाम्रो संंविधान हामीलाई राम्रोलागे पुगेन र ? म अक्सर त्यो टिसर्ट लगाएर हिड्छु,मेरो साथिहरु कतिले मलाई तारिफको दृष्टिकोणले र कति साथीहरु हेयको दृष्टिले ।
………………………………
यो मन भन्ने चिज पनि अचम्मको, साह्रै अचम्मको । के के कुराको रहर गर्छ, गर्छ । कति पुग्ने कुराको, कति नपुग्ने कुराको पनि । अनि यो सपना पनि अचम्मको कुरा रैछ । विपनामा पुरा नभएका कति रहरहरु सजिलै पूरा भै दिने । बर्षाैको यात्रा एकै दिनमा पूरा हुने । वाह ! क्या अचम्म । हिजो राती मात्रै एउटा त्यस्तै सपना देख्ने मौका जु¥यो । सपना नै सहि बडो मिठो थियो । वाह ! क्या मिठास थियो । म केही वर्ष देखि प्रेम सम्बन्धमा छु । तर मेरो प्रेम सम्बन्धमा अक्सर खटपट आइरहन्छ । मेरो यो प्रेमको यात्राले विवाहसम्मको यात्रा तय गर्छ या गर्दैन, म यसै भन्न सक्दिन । तर हिजो भने अचम्मै भयो, मेरो यत्रो वर्षको कठिन प्रेम यात्राले विवाहसम्मको यात्रा तय ग¥यो । हामी दुवै साह्रै खुसी थियौं । विवाहको पहिलो वर्ष सकिँदा नसकिँदै सन्तान लाभको सौभाग्य पनि जु¥यो । धेरै कठिनाई पछिको प्राप्ती भएर पनि होला, सायद यो सन्तान प्रति मेरो मोह धेरै थियो र आशा पनि । त्यसकारण नाम नै संविधान राख्ने निर्णय ग¥यौं हामीले । हेर्दा हेर्दै संविधान पनि एक वर्षको भयो । बडो धुमधामले संविधानको पहिलो जन्मोत्सब मनायौं हामीले । विचरो एक वर्षे बालखाले अहिले नै मेरो इच्छा अकांक्षाहरु त के पूरा गर्न सक्दो हो र तै पनि आफ्नो सन्तान मोह भने कति घटेन है । समय गतिशिल हुन्छ भनेथे, हो रैछ । हेर्दा हेर्दै हाम्रो संविधान पनि ४ वर्ष पुग्न लागिसकेछ । कति राम्रो छ हाम्रो संविधान, हेरौं हेरौ मात्र लागि रहन्छ, सायद आफ्नो सन्तान भएर पनि होला त्यति विघ्न मायाँ लागेको । आज भोली भन्दा भन्दै संविधानको पाँचौं जन्मदिन पनि आइसकेछ । हुन त संविधानको जन्म पछि हाम्रो जीवनमा जुन परिवर्तन हुन्छ भन्ने आशा हामीले गरेका थियौं, त्यति साह्रो त खासै केही भएन तै पनि आफ्नै सन्तान हो भोलि केहि गर्ला नि त भन्ने आश चाहिँ नटुट्दो रैछ । त्यसैले संविधानको पाँचौं जन्मदिन पनि बडो धुमधामले मनाउने तयारी
ग¥यौं । संविधानको लागि एउटा राम्रो बर्थडे क्याप किन्यौं, केक अडर ग¥यौं, छरछिमेकीलाई भोजको निम्तो पनि पठायौं । सांझ सबैको आगमन भएपछि केक सजाएर मैनबत्ती बाल्यौं । मैनबत्ती निभाएर कार्यक्रमको सुरुवात गरौं भनेको संविधानलाई देखिन । पहिले पनि बेला बेलामा घरमै लुकेर दुःख दिन्थ्यो । आज पनि यो केटो कहाँ लुक्याछ भनेर घर भित्रै खोज्न थालें । कहि भेटिन । बाहिर आगन वरपर पनि खोजें, देखिन । कहाँ गएछ त भनेर भित्र फर्कनै आँटेको थिएँ , पर कतै संविधान रोइरहेको जस्तो लाग्यो । म फरक्क फर्केर आवाज आएतिर संविधान संविधान भन्दै दौडँदै थिएँ, अचानक निन्द्रा खुलिहाल्यो । आँखा मिचेर यसो यता फर्किएँ, उता फर्किएँ, उही पुरानो चुईँचुई कराउने खाट, माक्किएको डसना माथि मैलिएको सिरानी च्यापेर च्यातिएको तन्ना ओढी सुतिरहेको रहेछु । टिङरिङ्ग मोबालइलमा मेसेजको घण्टी बज्यो । यसो हेरें, उसैको रैछ । आज भेट्न आउन नपाउने जानकारी गराएकी रैछ । लामो सास फेरें, आङ तानें अनि जुरुक्क उठेर आफ्नै नित्यकर्म तर्फ लागें ।
………………………………
यतिखेर हाम्रो देशमा सबैभन्दा बढी ग्लानी कसैलाई भइरहेको छ भने मलाई लाग्छ, त्यो हाम्रो देशको संविधानलाई भईरहेको होला । किनभने हामीलाई ग्लानी त्यतिखेर हुन्छ, जतिखेर हामी आफ्नो वचनमा खरो उत्रन सक्दैनौं । अहिले हाम्रो संविधानलाई पनि त्यस्तै भइरहेको होला । यत्तिका नेपाली जनताको आशामाथि तुषारापात गरेर कसरी ग्लानी नगरिरहन सक्ला । कति आशा थियो नेपाली जनताको यो संविधान प्रति, कति भरोषा थियो, कत्रो सपना थियो । खोई यो संविधानले पूरा गरिदिन सकेको ? खासमा हाम्रो संविधान नै लुरे प–यो क्या । रुप मात्रै राम्रो भएर हुन्छ ? खोइ काम गर्न सक्या ? खोइ चुर्ति फुर्ति ? त्यत्रो संघर्ष पछि जन्मेर त स्वभावैले अलि फुर्तिलो हुनु नि । जनताको आशा कसरी पूरा गर्ने, काम कसरी गर्ने थाहा नभए हाम्रा प्रधानमन्त्री, मन्त्री तथा नेता ज्यूहरुबाट सिक्नु । उहाँहरु कति दत्तचित्त भएर जनताको लागि काम गर्नुहुन्छ । भत्ता लिइलिइ भने पनि बैठक बसिदिनु भएकै छ । महंगो महंगो गाडी चढेर हिँडिदिनु भएकै छ । बेलाबेलाका हाम्रैलागि भनेर विदेश भ्रमण पनि गइदिनुभएकै छ । सभा सम्मेलनमा मिठो भाषण गरिदिनु भएकै छ । मेसो मिलाएर सात पुस्ता पुग्ने गरी सम्पत्ति जोडजाड गर्नु भएकै छ । राष्ट्रिय ढुकुटी बेलाबेलामा चाट्नु भएकै छ । आत्मा मिलेपनि जनतालाई देखाउनु एक अर्कालाई गाली गर्नु भएकै छ । यसरी पो जनताको सेवा हुन्छ त । खै यो संविधानले सिक्न सकेको ? जन्मिएर यत्रो ४–५ वर्षको भैसक्यो, केही सिक्नै नसक्ने ? सिकाउने मान्छे भएन भनौं भने पनि अहिले देशमा जनताभन्दा नेता र मन्त्री धेरै छन् । यत्तिका नेता र मन्त्रीको बीचमा बसेर पनि जनताको सेवा गर्न नजान्ने हाम्रो संविधान नै लद्दु हो जस्तो लाग्न थालेको छ । त्यसकारण बेला छँदै यो संविधानलाई कारवाही गर्नु पर्ने भो, तै पनि यस्सो बुद्धि फिथ्र्याे कि ?