यो वर्षको मनसुन भित्रिएसंगै देशभर वर्षा सुरु भएको छ । वर्षाले किसानलाई ठूलो राहत मिलेको छ । किनभने लामो वर्षा सरु हुनु अगाडिको लामो खडेरीले धेरै किसानको बारीको मकै सुकेर गयो भने पिँडालु, अदुवा जस्ता बाली समेत सक्ने अवस्था आएको थियो । चैते धान लगाएका खेत धाँजा फाटेको तथा असारमा रोप्नका लागि राखिएको धानको विऊ खडेरी र चर्काेका घामका कारण सुकेको दृष्य पनि हामीले केही दिन अगाडी देखेकै हो ।
वर्षा भएसंगै खेत तथा बारीमा किसानहरुको चहलपहल सुरु भएको छ । सुक्न लागेका मकै, पिँडालु, बेसार, अदुवा जस्ता बाली बौरिन थालेका छन् । खेतका आली र कान्ला सफा गर्ने चटारोसंगै रोपाईँ गर्ने चटारो सुरु भएको छ । अधिकांश किसानको मकै बाली नष्ट भएको भएपनि धान लगाउन पाउने कुराले उनीहरुको मुहारमा खुसी छाएको छ ।
वर्षाले सावधानी नअपनाउँदा ज्यानै जोखिममा पर्ने तथ्य भने हामीले भुल्नु हुँदैन । वर्षा सुरु हुँदै गर्दा देशको लाईफ लाईनको रुपमा चिनिनै नारायनगढ–मुग्लिन सडक खण्ड बारम्बार अवरुद्ध भएका कारण धेरै यात्रुले सास्ती खेपे । अन्य स्थानहरुमा पनि बाढी र पहिरोका कारण क्षति भएका समाचार आउन थालेका छन् । भौगोलिक विविधता भएको हाम्रो देशको पहाडी भूभागमा पहिरोको जोखिम छ भने तराईमा डुवानको जोखिम रहन्छ र वर्षेनी हामीले पहिरो र डुवानका कारण सैयौंको ज्यान गएको र करोडौंको क्षति भएको समाचार पढ्दै आएका छौं ।
तर हाम्रो राज्य पहिरो र डुबानको क्षति गणना गर्नमै व्यस्त छ, सावधानीका लागि आम नागरिकलाई सचेत गराउने वा जोखिम युक्त स्थानबाट मानिसलाई अन्यत्र सार्ने काम भने गर्दैन । यस्तोमा जोखिम युक्त ठाउँमा वस्दै आएको भए वैकल्पिक स्थानको खोजी गरेर अस्थायी रुपमै भएपनि वसोवास गर्ने तथा अत्यावश्यक परेको अवस्था बाहेक यात्रा नगर्ने गरेर हामीले आफैलाई बचाउन सक्छौं । वर्षासंगै आउने विभिन्न खाले सरुवा रोगको शिकार भएर धेरैको ज्यान जाने गरेको पनि छ । यता तर्फ पनि हामी सबैको ध्यान जानु जरुरी छ । आउनुहोस्, वर्षासंगै सावधानी अपनाउन सुरु गरौं ।
वर्षासंगै सावधानी- सम्पादकीय
previous post