मुस्लिम समुदायका लागि रमजान पवित्र महिना हो । रमजान महिनामा तीस दिनसम्म रोजा (व्रत) बस्ने गरिन्छ । विहान सूर्योदय भन्दा अगाडि सेहरी (विशेष खाना) खाएर दिनभरि पानी समेत नखाइ मुस्लिमहरु रोजा बस्ने गर्दछन् । यस बर्षको रोजा(व्रत) विहान चार बजेर २१ मिनटमा सेहरी खाने र बेलुका सूर्यास्तसंगै छ बजेर ३७ मिनटमा अफ्तारी (रोजा खोल्ने खाना) खाएर पहिलो रोजा प्रारम्भ गरियो । रोजा बस्ने समय दिन बढ्दा बढ्ने र रात घट्दा विहान सेहरी खाने समय घट्दछ । रमजान महिनाभरि रोजा बस्ने र रोजा खोल्ने समय प्रत्येक मस्जिद कमिटिबाट क्यालेण्डरको रुपमा छापेर वितरण गरिन्छ । यसैका आधारमा मुस्लिमहरु एक महिना रोजा बस्ने गर्दछन् । रमजान महिनाको रोजा विश्वभरिका मुस्लिमहरु एकै साथ बस्ने गर्दछन् । रमजान महिना हिजरी सम्बत् अनुसार प्रत्येक बर्ष दश दिनका हिसाबले अगाडि सर्ने गर्दछ । हाजिरी सम्बतका हरेक महिनाहरु चन्द्रमा हेरेर प्रारम्भ हुने भएकाले दश दिन अगाडि सर्ने गर्दछन् । रमजान महिनाको २९औं दिन चाँद कमिटि जहाज लिई अकाशमा चन्द्रमा हेर्न जाने गर्दछन् । रमजानको २९औं दिन सूर्यस्त हुनुभन्दा एक मिनट अगाडि प्रत्येक मुस्लिमहरु चाँद हेर्ने गर्दछन् । आकाशमा चन्द्रमा उदायको देखिएमा भोलिपल्टबाट अर्को महिना ‘सवाल’ प्रारम्भ हुने भएकाले रमजान महिना समाप्त भएको मानिन्छ । मुस्लिमहरु रमजान महिना रोजा बस्ने र रमजान पछि अर्को महिनाको एक गते इद मनाउने गर्दछन् । इदको दिन विहानै देखि खानपिन गर्न पाईने परम्परा रहि आएको छ । इस्लाम धर्ममा पाँचवटा कुराहरु महत्वपूर्ण अर्थात आधारभूत मानिन्छन् । पहिलोः इस्लाम धर्म कवूल गर्न कलिमा पढ्नु । दोस्रोः दिनमा पाँच पटक नमाज (प्रार्थना) पढ्नु । तेस्रोः रमजानको महिनाभरि तीन दिन रोजा बस्नु । चौथो इदको दिन प्रत्येक घरमूलिले आफ्नो बार्षिक आम्दानीको साढे दुई प्रतिशत जकात(दान) दिनु । पाँचौंः धन सम्पत्ति हुने प्रत्येक पुरुष वा महिला जिवनमा एक पटक साउदी अरेवियाको मक्का शहरमा हज (तिर्थयात्रा) गर्नु आदि । पैगम्बर मोहम्मदको फर्मान (उपदेश) हे ! मुस्लिम समुदाय हो, यदि तिमीहरुले यी पाँचवटा कुराहरुलाई आत्मसात ग¥यौ भने स्लाम धर्म मजवूद हुनेछ । त्यसैले तिमीहरुका लागि यी पाँच कुराहरु अनिवार्य गरिएका छन् । इस्लामलाई मजवूद बनाउन यी पाँच कुराहरु कसरतका साथ गर्नु , तिमीहरु सफल हुनेछौ । स्वर्ग (जन्नत) जानेछौ ।
रमजान महिनालाई दश दश दिनका हिसाबले तीन भागमा विभाजन गरिएको छ । पहिलो दश दिन रहमद (शक्ति प्राप्त हुने), दोस्रो दश दिन मगफिरत (माफि) प्राप्त हुने । तेस्रो दश दिन निजात (पापबाट मुक्ति) हुने मान्यता रहेको छ । रमजान महिनाको रोजा राख्ने मानिसलाई जन्नत (स्वर्ग) उपहार मिल्ने धार्मिक मान्यता रहेको छ । रमजानको महिना अल्लाहको शक्ति प्राप्त हुने पवित्र महिना मानिन्छ । यस महिनामा कुरान अवतरित भएको धार्मिक मान्यता रहेको छ । रमजान महिनाको २६ तारीखमा राती कुरान उत्रिएको धार्मिक मान्यता अनुसार रातभरी जागराम बस्ने, नमाज पढ्ने गरिन्छ । यस महिनामा नराम्रो काम नगर्ने, दिन दुखीहरुको सेवा गर्ने, दान गर्ने, कुरान पढ्ने, नमाज पढ्ने र अल्लाहको खुशीको लागि आफूलाई धार्मिक कार्यमा समर्पित गराउने गरिन्छ । रोजा (व्रत) बस्ने पुरुष वा महिलालाई रोजेदार भनिन्छ । रोजा बस्ने भनेको धार्मिक कार्यमा आफूलाई समर्पित गर्नु र नराम्रो कामबाट बच्नु हो । रोजेदारहरु अल्लाहको खुशीको लागि र पैगम्बर मोहम्मदको उपदेश पालना गर्न विहान चार बजेदेखि बेलुका सूर्यअस्त नभएसम्म पानी पनि नखाई निराहार बस्ने गर्दछन् । यस महिनामा राती नौ बजेदेखि विषेश नमाज ‘तराबी’ पढ्नु पर्ने मान्यता रहेको छ । तरावीको नमाज वीस रकआत (अनुच्छेद) पढिन्छ । तीस दिनसम्म प्रत्येक दिन अनुच्छेदको रकआद तारावी नमाज पढाउन कुरान कण्ठ गरेका हाफिज (कुरान कण्ठ गर्ने व्यक्ति) बोलाईन्छ । हाफिजले बीस दिनमा तीस अध्यायको कुरान कण्ठस्थ गरेर नमाज पढाउँदा सक्ने गर्दछन् । तरावीको नमाज मस्जिदमा पुरुषहरु जम्मा भएर पढ्ने गर्दछन् । रोजासंगै तरावीको नमाज पढ्ने पुरुषले पुरै कुरान कण्ठस्त गरेको समेत नेकी (पुण्य) कमाउने गर्दछन् । रमजानको महिनामा दिनभरि रोजा बस्नु र रातीमा तरावीको नमाज पढ्नु पर्ने परम्पारा रहेको पाईन्छ ।
पैगम्बर मोहम्मद (सलल्लाहो आलैहे वसल्लम) साउदी अरेवीयाको मक्का शहरमा जन्मिनु भएको थियो । मक्का शहरमा हुजुरले त्रिपन्न बर्षको उमेरसम्म स्लाम धर्मको प्रचार प्रसार गर्नुभयो । धार्मिक कारणले हुजुरलाई आफ्नो जन्मस्थान बस्ने वातावरण मिलेन । आफू त्रिपन्न बर्षको उमेरसम्म मक्का शहरमै जीवन यापन गरेपनि बाद्य भएर हुजुरलाई मदिना शहरमा बसाई सराई गर्नु प¥यो । हुजुरले त्रिपन्न बर्षको उमेरमा मदिना शहरमा हिज्रत गर्नुभयो । हुजुरले मक्का शहर छोडेर हिज्रत (बसाईसराई) गरेको बर्षदेखि साउदी अरबभरि हिज्री सम्मत लागू गरियो । आज यही हिज्री सम्वतको आधारमा इस्लाम धर्ममा विभिन्न पर्वहरुको तिथिमिति चलि आएको छ । हिज्री सम्वत साउदी अरेवियाको राष्ट्रिय सम्बत हो । हिज्री सम्वतमा निम्न महिनाहरु पर्दछन् ।
हिज्री सम्वतका महिनाहरुः
१) मोहर्रम
२) सफर
३) रविअल औवल
४) रविअल आफिर
५) जुमादिल औवल
६) जुमादिल आखिर
७) रजव
८) सावान
९) रमजान
१०) सवाल
११) जिल काआदा
१२) जिल हिज्जा
यस बर्ष १४४२ हिज्री सम्बत चलेको छ । यसै सम्बतका आधारमा इस्लाम धर्मका धार्मिक चाड पर्वहरु विश्वभरिका मुस्लिमहरु मनाउने गर्दछन् ।
रमजान महिना इस्लाम धर्मावलम्वीहरुका लागि पवित्र महिना मानिन्छ । विश्वभरिका मुस्लिमहरु यस महिनालाई हर्षोल्लासका साथ ब्रत बसेर मनाउने गर्दछन् । इस्लामिक देशहरुमा रमजानको पहिलो रोजामा तोप पड्काएर सलामी दिईन्छ । त्यसैले मुस्लिमहरु पहिलो रोजालाई सलामी रोजा भन्ने गर्दछन् । यस महिनामा गरिएका धार्मिक कार्यहरुको नेकी (पुण्य) अन्य महिनामा भन्दा सत्ताईस गुना बढी मिल्ने धार्मिक मान्यता रहेको छ । त्यसैले रोजा अफ्तारी (खोल्नु) गराउन विभिन्न परिकार बनाएर इष्टमित्र, साथिभाई तथा मान्यजनहरुलाई बोलाउने प्रचलन रहेको छ । यस महिनामा विभिन्न ठाउँबाट मस्जिद मदर्साको चन्दाको लागि आउने व्यक्तिहरुको घुईचो नै लागेको हुन्छ । मुस्लिमहरु नेकी (पुण्य) मिल्ने आशाका साथ यस महिनामा दान दिने, आफ्नो समाजमा रहेका सम्पूर्ण रोजेदारहरुलाई सामूहिक अफ्तारी (रोजा खोल्दा ख्वाईने विशेष परिकार) गराउने आदि कार्य गर्दछन् । यसरी तीस दिनसम्म रोजा बसेर रोजाको समाप्तीसंगै इद पर्व धुमधामका साथ मुस्लिमहरु मनाउने गर्दछन् ।
इद पर्वको दिनमा प्रत्येक घरमूलीले प्रतिव्यक्ति एक सय रुपयाँका दरले आफ्नो परिवार संख्याका आधारमा मस्जिदमा बुझाएर मात्रै इदको नमाज पढ्ने परम्परा रहेको छ । जस्लाई फित्रा भनिन्छ । फित्राबाट उठेको एकमुष्ठ रकम गरिबहरुका लागि इद मनाउन दामाशाहीले वितरण गरिन्छ । फित्रा नबुझाए रोजा स्विकार्य नहुने हुँदा फित्रा अनिवार्य रुपमा सबैले बुझाउने गर्दछन् । रोजाको समाप्ती भएको भोलिपल्ट इद मनाउने गरिन्छ । तीस दिनको रोजा बसेर मनाईने इद पर्व मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व मानिन्छ ।
मुस्लिम समुदायको रमजान र रोजा
previous post