तनहुँको जिल्ला सदरमुकाम दमौली यतिबेला महोत्सवमय बनेको छ । हिजोबाट सुरु भएको चौथो आदिवासी जनजाति महोत्सवले दमौलीलाई महोत्सवमय बनाएको हो । “अमूल्य भाषा संस्कृतिको संरक्षण गरौं, भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौ” भन्ने नाराका साथ महोत्सवले निःसन्देह हाम्रा विभिन्न जातजातिको भाषा र संस्कृतिको जगेर्ना र संरक्षणमा महत्वपूर्ण योगदान गर्नेछ । महोत्सवका अवसरमा बालबालिकाले भरपुर मनोरञ्जको अवसर पाउनेछन् । विभिन्न प्रतिभा भएका व्यक्तिहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउने छन् । यतिमात्र होइन कृषि प्रदर्शनी मार्फत किसानले आफ्ना उत्पादनको विक्रि वितरण र प्रचारप्रसार गर्ने अवसर पाउने छन् । समग्रमा भन्दा अनेकौ अवसरहरुको सिर्जना महोत्सवले गर्नेछ ।
तर यसरी आयोजना हुने महोत्सवहरुका बारेमा आम नागरिकमा गुनासाहरु पनि छन् । पहिलो कुरा त ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउने नाममा मेला महोत्सवहरुले ग्रामिण विपन्न नागरिकको शोषण गर्छ भन्नेछ । यतिमात्र होइन महोत्सव स्थलमा राखिने कतिपय सामानहरु कम गुणस्तरका र प्रयोग अवधि सकिएका भेटिएको पनि आमनागरिकको गुनासो छ । यसका साथै खासगरी खानेकुराहरुमा अनपेक्षित मूल्य असुल्ने, खानाहरु स्वस्थकर नहुने गुनासाहरु पनि बारम्बार सुनिने गरेका छन् । मनोरञ्जनका साधनबाट भएको आय देश बाहिरिएको र ती व्यवसायीहरु महोत्सवका दर्शकहरुलाई अनावश्यक शोषण गर्ने गरेका गुनासो आइरहन्छन् ।
यी र यस्तै कुराहरुमा आयोजक संस्थाहरुले ध्यान दिनु जरुरी छ । ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउने नाममा अर्कालाई पोस्ने काम राम्रो होइन् । अनि आयोजकले महोत्सव अगाडि गरेका वाचा भुल्ने गरेको गुनासो पनि अब सम्बोधन गर्नु आवश्यक भै सकेको छ । आयोजक संस्थाका पदाधिकारी र २/४ जना टाठाबाठालाई मात्र होइन महोत्सब सबै नागरिकले आफ्नो पनि महोत्सव भएको अनुभूत गर्ने वातवारण बनाउनु आयोजकको कर्तब्य हुन आउँछ । १० दिनसम्म चल्ने आदिवासी जनजाति महोत्सवको सफलताको कामना गर्दछौं । साथै आम गुनासालाई मनन गरी सबैको महा–उत्सव बनाउने तर्फ आयोजक निकायको ध्यान जाओस् भन्ने कामना !