गलेश्वर धामलाई दायाँ पारेर हामी सरासर अगाडी बढ्यौं, फर्कँदा मुक्तिनाथको पवित्र जल अर्पण गर्ने वाचा सहित । रुपवती रुप्से पुग्दा २ बज्न लागेको थियो । आधा घण्टा रुप्सेको सुन्दरता नियाल्नमा बित्यो । बेनी जोमसोम सडक खण्डमै रहेको यो झर्ना काली गण्डकी किनारमा छ । झर्नाबाट झरेको पानी ढुङ्गामा ठोकिँदा साना साना कणमा विभाजितभई उडेर सडमसम्म आउने रहेछन् । मौसम चिसो भएपनि पानीका ति कणको स्पर्शले हामीलाई रोमाञ्चित बनायो । छेउमा रहेको कालीगण्डकीको सबैभन्दा गहिरो गल्छी हेरेर रमाउन छुटाउने त कुरै भएन् । म्याग्दी खण्डको अधिकांश सडकभने कच्ची तर मुस्ताङ प्रवेश गरेसंगै कालोपत्रे सडक प्रारम्भ हुने रहेछ । माटोका छानो भएका केही घर र छानोमा दाउराको खलिया भएको मुस्ताङ प्रवेशद्वार लेते, नाम मात्रको बजार रहेछ । लेते आइपुगेको थाहा पाउनासाथ आमा समूहकी पूर्व अध्यक्ष गंगा गुरुङले गाउँनु भयो, मुस्ताङ लेतेमा… । उहाँलाई गीतको बाँकी अंश आएन । अरुले थप्यौं, “एकचोटी त झम्टेर रुने थें उनलाई भेटेमा” । विमाकुमारी दुरा र विष्णु खत्रीले स्वर दिएको यो गीतको भाकामा अन्य टुक्का थपेर केहीबेर दोहोरी गायौं र यात्राको माहोललाई अझ रमाइलो बनायौं । म्याग्दी र पर्वत हुँदै बग्दा जोशिलो भेटिएको कालीगण्डकी मुस्ताङमा त लोसे देखियो । फराकिलो बगरकोबीचमा नागबेली बनाएर काली “मरेको विरालो काखी च्यापेर ठिमीको उकालो चढ्ने” भन्ने पाराले बगिरहेको थियो । म्याग्दी र मुस्ताङको लेते आसपासको सडक छेउका घर र घरसंगै रहेको बारीमा पाकेका बेलौंती देखिए । उनीहरु भन्दै थिए, बजारमा पाइने तयारी चाउचाउ, कुरमुरे, मःम, वर्गर, पिज्जा, पानीपुरी र चटपटले हाम्रो स्थान लिएका छन् ।
जोमसोम झरेर मुक्तिनाथ होटल र निलगिरी होटलमा बाँडिएर बास वस्ने प्रवन्ध भयो । बजारबाट जोमसोम एयरपोर्ट तर्फ फर्केर हेर्दा आँखालाई नै सितल बनाउने गरी निलगिरी हिमालको शिखर देखियो । अस्ताउन लागेको सूर्यको प्रकाश निलगिरीको शिरमा पर्दाको दृश्य साँच्चै मनमोहक थियो । केही फोटोहरु खिचें । आँखा निलगिरीको फेदमा पुगे । जलवायु परिवर्तनका कारण बढ्दो विश्वव्यापि तापमानले हाम्रा हिमालहरु कालो पत्थरमा परिणत हुँदै गएको सत्यसंगको सान्निध्य मलाई प्यारो लाग्ने कुरा थिएन । जलवायु परिवर्तन र विश्वव्यापि तापमानको वृद्धिमा हामीहरुको भूमिका नगन्य छ । एक प्रतिशत पनि छैन तर त्यसको नकारात्मक प्रभाव भने हामीमा धेरै परेको
छ । हामीलाई नखाएको विष लागिरहेको प्रमाण मेरो सामुन्न थियो, नजिकै ।
विहान ढिलोमा ५ बजे कागबेनीका लागि प्रस्थान गर्ने सल्लाह भएको थियो । तर भनेको समयमा भ्रमण प्रारम्भ भएन । ढिलो गर्ने हरेकसंग एक–एकवटा बहाना तयार थिए । बाह्रगाउँ मुक्तिक्षेत्र गाउँ पालिका–४ मा पर्ने र अन्नपूर्ण संरक्षण क्षेत्र भित्रको कागवेनी काली र गण्डकी नदीको संगमस्थल रहेछ । श्राद्ध गराउन पण्डितहरुलाई भ्याई नभ्याई थियो । विश्वास माथिको व्यापार राम्रै चल्ने हरेछ, कागवेनीमा । पण्डितले श्राद्ध १५ मिनेटमा सक्ने तर श्राद्ध कर्तालाई सरजामा जुटाउन बेर लाग्ने भएकोले केही समय लाग्दो रहेछ । लाखौं हिन्दुहरुको आस्थाको केन्द्र कागवेनीको छेवैमा नदी किनारमा रहेको, आएको दिसा पिसाब पनि रोकिने खालको दुर्गन्ध र फोहरले भरिएको तथा झण्डै सोझै नदीमा दिसा पिसाब मिसिन जाने शौचालय देख्दा मन खिन्न भयो । कालीगण्डकीको किनार त केहीका लागि कमाउने भाँडो बनेको रहेछ । नदीको स्वच्छतासंग, नदीलाई आफ्नो वासस्थान बनाएका थुप्रै जलचरहरुको जीवनसंग उनीहरुको चासो देखिएन । चासो देखियो त केवल पैसासंग । मानिस किन यतिधेरै पैसाको भोगी भएको ? उ किन बुझ्दैन कि अन्य प्राणीको जीवनसंग आफ्नो जीवन जोडिएको छ । कालीगण्डकीलाई मलमुत्रको नाली बनाउँदा बाह्रगाउँ मुक्तिक्षेत्र सरकार के हेरिरहेको होला ? किन अनदेखा गरिहेको होला ? जोमसोमबाट कागवेनी हुँदै मुक्तिनाथ पुग्दा थाहा लाग्यो, तनहुँमा भएको केही रहेनछ । विकासे सम्भावनाको सपना बाँडेर हामीलाई तनहुँका नेताहरुले कसरी अँध्यारोमै राखेका रहेछन्, भन्ने जान्दा पहिल्यै नो भोट किन भनिन ? भनेर पछुतो लागि रहेछ । राजनीति कठिन काम हो भन्ने म जान्दछु तर तनहुँका तीन लाख २१ हजार नागरिकको चित्त बुझाउने गरी काम गर्न नसकेका नेताहरुले तीन करोड नेपालीको नेतृत्व गर्ने सक्छु भन्ने झुठ कसरी बोल्दा हुन भनेर छक्क छु ।
हामीले सुन्यौं, नेताका भाषणमा कि तनहुँमा यो भयो, उ भयो । मैले यो गरें । हामी सर्वसाधारण कुनै सत्यलाई जति आत्मविश्वाका साथ बोल्न सक्छौं नेताहरु झुठलाई त्योभन्दा बढी आत्मविश्वासका साथ बोल्न सक्दा रहेछन् । शायद यो ठम्याई मुक्तिनाथ पुग्ने तनहुँका धेरै नागरिकको साझा होला ।
मुक्तिनाथ वसपार्कमा पार्किङ गर्ने ठाउँ नभएकाले केही तल बस रोकेर मुक्तिनाथ मन्दिर जाने भयौं । केही पाईला चाल्नासाथ मलाई असजिलो अनुभव भयो । थाहा पाएर साथीहरुले पर्खनु भयो । विस्तारै सहज भएपछि हिँड्न सुरु गरें । चन्द्री तिवारी म्याडमले कपुर सुघ्ँदै हिँड्दा सहज हुने बताउँदै मलाई कपुर दिनु भयो । कपुर सुँघे । र्थमसमा तातो पानी, तितौरा साथमा थियो । कपुरले काम गरेर मलाई सजिलो भयो वा कपुरले जगाएको आत्मविश्वासले काम ग¥यो थाहा भएन तर त्यसपछिको यात्रामा असजिलो महसुस गर्नु परेन ।
मनमोहक मुक्तिनाथ–२
previous post