नेपालमा अहिले पनि कोरोना भाईरस संक्रमणको जोखिम उच्च छ । दिनदिनै नयाँ नयाँ संक्रमितहरु बढ्ने क्रम जारी नै छ । यद्धपी विगत चैत्रदेखि शुरु भएको चरणबद्ध बन्दाबन्दीको भने औपचारिक रुपमै समाप्ति भै सकेको छ । कारण र बाद्यताहरु आ–आफ्नै ठाउँमा होलान् । बन्दाबन्दी हटेपनि संक्रमणको जोखिम भने घटेको थिएन । मानिसहरुले यही कुरालाई आत्मसाथ गर्न नसक्दा, संक्रमणको नयाँ नयाँ केशहरु दिनानुदिन थपिदै गएको छ । परिस्थिति यही रुपले अगाडि बढ्ने हो भने भोलिको अवस्था निकै नै भयाबह हुने कुरामा सन्देह छैन । त्यसैले हामी सबैले व्यक्तिगत सुरक्षा सावधानिमा अति सम्वेदनशिल भएर ध्यान दिनुको विकल्प वर्तमानमा हामीसंग छैन । होइन भने परिणाम त हामीले विगतको भन्दा पनि कडा किसिमको बन्दाबन्दीको सामना गर्नुपर्ने हुन सक्दछ । सायद हिजोको दिनमा भन्दा पनि लामो समयसम्म ।
नेपालमा फेरी बन्दाबन्दी गर्नु पर्ने अवस्था आउला नआउला, यो विश्वव्यापी महामारीबाट संसार अझै कति समयसम्म त्रसित हुनु पर्ने हो वा छिट्टै नै यसको कुनै तोड आउला, यी वर्तमानको लागि अनुत्तरीत प्रश्न हुन् । यीनको उत्तरको लागि हामीले भविष्य नै प्रतिक्षा गर्नुपर्ने हुन्छ । तर यति कुरा त यथार्थ हो कि कोरोनाको डर त्रासले गर्दा नै हामीले चार महिना लामो बन्दाबन्दीको सामना ग¥यौं । यो चार महिने बन्दाबन्दीले धेरैको हातबाट रोजीरोटी छिन्यो । सुरक्षाकर्मि र स्वास्थ्यकर्मि बाहेक धेरैलाई आफ्नै घरभित्र खुम्चिएर बस्न बाद्य बनायो । सरकारी सेवामा सम्लग्न भएका, सञ्चित बचत भएका, व्यापार व्यवासायीहरुलाई त आफ्नो परिवारसंग रमाउने, समय विताउने अवसर पनि मिल्यो । तर संगसंगै दैनिक ज्याला मजदुरी गर्नु पर्ने श्रमिक बर्गले ठूलो संकटको सामना गर्नु परिरहेको छ । यो हामी सबैले आफ्नै घर छिमेकमा, समाजमा, देख्नु परेको नमिठो सत्य हो । भन्नुको तत्पर्य यो बन्दाबन्दीले धेरैलाई धेरै किसिमको अनुभव गरायो । यो बन्दाबन्दीको प्रभावलाई भिन्न भिन्न क्षेत्र (शिक्षा, स्वास्थ्य, राजनीति, विकास निर्माण, पर्यटन, अर्थव्यवसाय) संग जोडेर फरक फरक तरिकाले विश्लेषण गर्न सकिन्छ । यो प्रत्येक व्यक्तिको सोंचाई र बुझाईको स्तरमा भरपर्ने कुरा हो । तर यो आलेखमा म माथिको कुनै पनि विषयसंग सम्बन्धित हुने छैन । यो आलेखमा म नितान्त आफ्नो व्यक्तिगत अनुभवहरु साट्ने जमर्को गर्दैछु । मेरो पारिवारिक अनुभव, जस्लाई मैले यो बन्दाब न्दीको समयमा अझ गहिरिएर अनुभव गर्ने मौका पाएँ ।
हाम्रो परिवार जम्माजम्मी तीन सदस्यको छ । घरको मुली आमा हुनुहुन्छ, म अनि मेरो भाई । दुई बर्ष पहिले बुवाको र एक बर्ष पहिले मामा घरको बज्यैको मृत्यू भएपछि पाँच जना सानो हाम्रो परिवार अझै सानो भएर तीन सदस्यीय हुन पुग्यो । बुवा हुँदासम्मको अवस्थामा घरको आर्थिक पाटो बुवाले नै सम्हाल्नु हुन्थ्यो र खेतीपातीको पाटो आमाले । नगद आम्दानी गर्ने आधार बुवा भएपनि यसलाई कहाँ, कसरी, के कति परिचालन गर्ने भन्ने जिम्मेवारी चाही आमाको नै थियो । समाजमा वा कहि कतै घर मुलीको नाम भन्नु पर्दा बुवाको नाम आएपनि परिवारको सञ्चालन र व्यवस्थापनको दृष्टिकोणले त्यतिबेला पनि घर मुली आमा नै हुनुहुन्थ्यो । बुवाले अध्यापन गर्ने विद्यालय टाढा भएकोले बुवा उतै बस्ने र समय समयमा मात्रै घरमा आउने भएको हुँदा पनि त्यो अवस्था आएको हुँदो हो । बुवाको देहावशान पश्चात आमाले पूर्ण रुपमा घर मुलीको जिम्मेवारी सम्हाली रहनु भएको छ । आजपनि खेतीपाती, अर्थ परिचालन र व्यवस्थापन सबै कुरा आमाले नै हेर्नु हुन्छ । फरक यति हो हिजो नगद आमदनीको स्रोत बुवा हुनुहुन्थ्यो । आज त्यो जिम्मेवारी मेरो काँधमा आएको छ । हुन त हिजो बुवा हुँदाकै अवस्थामा पनि म शिक्षण पेशामा सम्लग्न भैसकेको थिएँ । आज गर्ने जति कमाई हिजकै दिनमा पनि गर्न सक्थें । तर पनि मैले परिवारलाई आर्थिक सहयोग गरेको त्यति याद छैन । किनभने बुवाआमाले त्यो अवस्था नै आउन दिनु भएन । बुवाकै आम्दानीले घरको सम्पूर्ण खर्च व्यवस्थापन गर्नु हुन्थ्यो । बुवा प्रायः भन्ने गर्नु हुन्थ्यो । उमेर मै जागिर खाएको छस्, साथि भाईसंग हिडडुल गर्ने, अलि अलि खर्च गर्ने उमेर पनि यही हो मैले कमाईन्जेल घरखर्च मै हेर्छु । तैले दिईराख्नु पर्दैन । बरु पछि आफैलाई काम लाग्छ खर्च गर्दा अलि विचार गरेस् । आमाको पनि धारणा करिबकरिव यस्तै हुन्थ्यो । सायद आफ्नो उमेरमा, जवानीमा आफूले भोग्नु परेको आर्थिक संकटको पीडा आफ्नो सन्तानले भोग्नु नपरोस् भन्ने लागेर पो हो कि ? एक्काईस, बाईस बर्षको ठिटौले उमेर, घरबाट त्यतिको आश्वासन पाएपछि मेरो पनि मानसिकता करिब करिब कमाउने र रमाउने जस्तै बन्न पुग्यो । बुवा अस्थायी शिक्षक हुनुहुन्थ्यो । सरकारले अस्थायी शिक्षकहरुको लागि दुईवटा विकल्प दिएको थियो । या त परीक्षामा सहभागि भएर स्थायी हुने, या त अनुदान दिएर अवकाश लिने । पछि त फेरी परीक्षामा अनुतिर्ण हुनेलाई पनि अनुदान दिने कुरा आयो । तर बुवाले भने पहिल्यै अनुदान लिने मनस्थिति बनाई सक्नु भएको थियो । भन्ने गर्नु हुन्थ्यो, अब हामीले धेरै ठाउँ ओगटि राख्ने होइन । नयाँलाई ठाउँ खाली गरिदिने हो । मलाई पनि लाग्थ्यो, बुवाले अवकाश लिएपछि बुवाको सबै जिम्मेवारी आफूले सम्हालेर बुवालाई आरामको जिन्दगी जिउने मौका दिउँला । अहिल्य नै के को हतार ? जिम्मेवारी त बुवाले अवकाश पाएपछि आईहाल्छ भन्ने पक्का थियो । तर आफ्नो कमाईले बुवालाई आरामको जिन्दगी बाँच्न दिने सौभाग्य मसंग छैन भन्ने कुरा मलाई थाहा थिएन, न त यस्तो होला भन्ने कहिल्यै कल्पना नै गरेको थिएँ । मेरो जिवनमा बुवाको साथ यति छोटो छ भन्ने थाहा हुँदो हो त बुवाको सेवामा कुनै कमि राख्दिनथें होला । सबैले भन्ने गरे जस्तै, बुढेशकालमा स्याहर सुसार गर्ने छोराले त हो नि भनेर बुवाको बुढेसकाल पर्खिन्नथें होला ? भरखर भरखर जागिर खाँदा म प्राय महिना दिनमा नभ्याए दुई महिनामा त पक्का नयाँ लुगा किन्थें । तर बुवालाई पनि एक जोर लुगा आफ्नै कमाईले किनिदिउँ भन्ने हेक्का नै कहिल्यै आएन । छोराहरुलाई पढाउन आफ्नो गास काट्ने, तीन चार बर्षमा बल्ल तल्ल एक जोर लुगा फेर्ने, हाम्रो बुवा छोराको कमाईले एक गास मिठो खान नपाउँदै, एकसरो नयाँ कपडा नफेर्दै, भगवानको प्यरो हुनु भयो । सायद स्वर्गमा भगवानलाई पनि राम्रो मान्छेहरुको अभाव रहेछ क्यारे । अहिले पछुतो लाग्छ, आफ्नो त्यो ठिटौले निर्णयदेखि, भित्रैदेखि ग्लानि हुन्छ सम्झिदा पनि । प्रत्येक पटक जब जब म ति क्षणहरु सम्झन्छु, एउटै प्रश्न मष्तिष्कमा आईरहन्छ । मेरो बुवाले आफ्नो सन्तानप्रति दर्शाएको प्रेम भोलि मैले मेरो सन्तानप्रति दर्शाउन सकुला या नसकुला ? जसरी बुवाले पीडा र अभावहरुलाई आफूभित्रै सीमित राखेर अभिभावकत्व निभाउनु भयो, म मा त्यो क्षमता होला या नहोला ।
अहो बन्दाबन्दीको पारिवारीक अनुभव छाट्न छ भन्दा भन्दै कुरा त अन्तै पो मोडिएछ । अब शिर्षकतिर फर्कौ क्यारे । यो बन्दा बन्दीले घरमा हामी तीनै जनासंगै हुने ठूला मौका मिलाई दियो । चैत्रको धान काट्ने, आली ताछ्ने, रोपाई गर्ने, मकै छर्ने, गोड्ने, भाँच्ने, सबै काम हामी तीनै जनाले संगसंगै ग¥यौं । शारीरिक श्रम अलिक कम गर्ने बानी, यसरी काम गर्दा शरीर थाके पनि मन धेरै हलुंगो हुँदो रहेछ । अरु समयमा आमा विहानै घाँसपात खेतवारी गर्नुपर्ने भएको हुँदा विहानै खाजा खाएर हिड्नु हुन्थ्यो । म विद्यालय जाने समय अनुकुल मिलाएर खान्थे । भाई पनि आफू काममा जाने समय अनुकुल मिलाएर खान्थ्यो । हामी तीनै जनाको खाना खाने समय अक्सर फरक फरक हुन्थ्यो । तर यो बन्दाबन्दीमा हामीले प्रायः सँधै संगै खाना खायौं । हिजो नि त्यही खाना हो, आज पनि त्यही हो तर परिवारको सबैसंगै बसेर खानुको बेग्लै मिठास हुँदो रहेछ । चाडबाडमा प्रायः सबै परिवारसंगै भईन्छ तर सबै परिवारसंगै बसेर खाँदा सामान्य दिन पनि विशेष चाडवाड भन्दा बम नहुँदो रहेछ ।
आजको समयमा अधिकाँश मानिसलाई काम काम भन्दा भन्दै परिवारलाई समय दिने फुर्सद नै हुँदैन । तर त्यो ठूलो गल्ति हो । परिवारमा विताउनु पर्ने समय परिवारसंगै विताउनु पर्दछ । आखिर काम पनि त परिवारकै लागि गर्ने हो । अझ अधिकाँश युवा पुस्तामा साथीभाईको लागि परिवारको समय कटौति गर्ने बानी हुन्छ । साथी भाईसंग कतै जानु छ भने घरमा भात ढिलो पाक्यो भनेर हामी रिसाउँछौं । पाकेको छ भने खाईवरी निस्कि हाल्छौ । यो सोच्दैनौं कि सायद आज बुवा आमालाई छोरा छोरीसंगै खान खान मन हुँदो हो । अधिकाँश युवापुस्ता प्रायः आफ्नै खुशीको बारेमा मात्र सोंच्दछन् । अभिभावकले आफ्नो इच्छा र आवश्यकता पुरा गरिदिनु पर्दछ भन्ने सोंचाई राख्छन् । तर अभिभावकहरुलाई कसरी खुशी राख्ने, आफूबाट उहाँहरुको अपेक्षा के छ भन्ने तर्फ त्यति ध्यान दिँदैनन् । यो गलत हो । बाल्यकालका कुराहरु अलग हुन् । तर आफू केही बुझ्ने भएपछि हामीले पनि बुवा आमाको खुशीमा त्यतिकै ध्यान दिनु पर्दछ जति उहाँहरुले हाम्रो खुशीमा दिनुहुन्छ । किनभने थाहा हुँदैन बुवाआमाको साथ कति बेला सँधैको लागि छुट्छ ।
मलाई अक्सर लाग्थ्यो, शिक्षण पेशामा छु । त्यति धेरै कमाई हुँदैन । आमालाई कसरी खुशी दिउँ । तर म गलत
रहेछु । आमाबुवालाई खुशी आफ्नो सन्तानले गरेको कमाई भन्दा पनि सन्तानले आफूलाई दिएको समय र मायाँले मिल्ने रहेछ । यो बन्दाबन्दीको समयमा मैले घरमा सघाएको सानो सानो कामले पनि आमाको मुहारमा कति खुशी ल्याउँथ्यो । संगै बसेर घर परिवारको कुरा गर्दा भावि योजनाको कुरा गर्दा कति ढुक्क देखिनु हुन्थ्यो । तसर्थ मेरो व्यक्तिगत बुझाई चाही के हो भने परिवारको खुशीको लागि मनग्य कमाईले मात्र हुँदैन । समय र साथ पनि उत्तिकै आवश्यक कुरा हुन् ।
यो कुरा विशेषगरी युवा पुस्ताले बुझ्नु अति नै आवश्यक छ । तसर्थ परिवारलाई आवश्यक समय परिवारमा विताउँ । बुवाको आमाको सेवा उमेर छँदै गरौं । भोलि बुढेसकालमा त बुद्धि पनि केटाकेटीको जस्तो हुन्छ भन्छन् ।
हामीले गरेको मायाँ, स्याहार सुसारको अनुभव पनि उहाँहरुलाई हुँदो हो या होइन । या सायद त्यो मौका नै पो नपाईएला । तसर्थ आफ्नो बुवा आमाको सेवा बुढेसकाल लागेपछि होइन । आजै गरौं ।
बुढेसकाल नकुरौं
previous post