कोरोना संक्रमणको पहिलो लहर उत्कर्षमा हुँदा दैनिक संक्रमितको संख्या अधिकतम ५ हजार ७ सय पुगेको थियो । त्यतिबेला मृतकको संख्या दैनिक बढीमा ३० देखि ४० जना थियो । दोस्रो लहर सुरु भएको केही दिनमै संक्रमितको संख्या दैनिक झण्डै १० हजार हुन लागेको छ भने मृतकको संख्या त अकल्पनिय ढंगले बढेको छ । सबैलाई थाहा भएकै कुरा हो दैनिक कोरोनाका कारण ज्यान गुमाउनेको संख्या अहिले दुइसयभन्दा माथि पुगेको छ ।
विश्वासको मत माग्दै भएको संसदको विषेश अधिवेशनमा प्रति १० मिनेटमा कोरोनाका कारण जनताले ज्यान गुमाएको तथ्याङ्क अगाडी राखेर प्रधानमन्त्री केपी ओलीले नलजाई भने सरकार कोरोना नियन्त्रणमा सफल भएको छ । यो सम्पादकिय तयार पार्दासम्म कोरानाका कारण हरेक ६ मिनेटमा एक नेपालीले ज्यान गुमाउन थालेका छन् । हाम्रो राजनैतिक नेतृत्व यति असंवेदनशील छ कि उक्त दिन संसदमा बोल्ने हरेक नेताले कोरोनाका कारण ज्यान गुमाउनेको नाममा श्रद्धान्जली व्यक्त गरे, संक्रमितको स्वास्थ्य लाभको कामना गरे तर बढ्दो संक्रमण नियन्त्रण गर्न आफ्ना सुझाव राखेनन् ।
तनहुँकै कुरा गर्ने हो भने अस्पताल गेटमा आएर उपचार नपाएर भानु–१ का ६५ वर्षिय नागरिकले ज्यान गुमाए । अस्पतालको लापरवाहीका कारण उनको ज्यान गएको आफन्तको आरोप छ । अस्पतालको तर्फबाट आएको– ‘अस्पतालसंग समन्वय नगरी आएकाले विरामीले समयमा उपचार पाउन नसकेको’ तर्क सुन्दा लाग्छ, हामीले भगवान भनिने गरेका डाक्टर भगवान होइनन् बरु यमराज हुन् । कोरोना संक्रणका कारण स्वासप्रश्वासमा समस्या देखिएर अस्पताल आईपुगेको बिरामीको उपचार गर्ने, आवश्यक अक्सिजन दिने हो कि उपचार पुरा नहुँदै डिस्चार्ज दिने, विरामी भर्ना नलिने, समन्वय गरेको छैन भनेर एम्बुलेन्समै थुनी राख्ने हो आमनागरिकले बुझ्न सकेका छैनन् ।
नेपाल सरकार र त्यस मातहतका निकाय कोरोनाको उपचार प्रभावकारी रुपमा गर्ने साेंचमा छैन । यसको अर्थ हो कोरोना संत्रमित हुनु भनेको मृत्युको मुखमा पुग्नु हो । जीवन रहे बाहिर हिंडडुल, साथी भाइ र आफन्त भेटघाट, मेला, विवाह, ब्रतबन्ध जस्ता काम गर्न सकिन्छ भन्ने कुरा मनन गर्दै अत्यावश्यक काम भए बाहेक घर बाहिर ननिस्कौं । आफू र आफ्नो परिवारप्रति जिम्मेवार बनौं ।
बढ्दै कोरोना त्रासदी नागरिक आफै सचेत बनौं-सम्पादकीय
previous post