
भूकम्पले खोसिदियो साझ विहानको खाना मेरो ।
यसले नै भत्काइदियो ओत लाग्ने छाना मेरो ।।
खै कसरी भुल्न सक्छु ? ८० को कार्तिक १७,
रित्तो बनाई गयो जसले जिन्दगिको पाना मेरो ।
२०८० कार्तिक १७ मा जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पले त्यहाँको समाजलाई कति प्रभावित तुल्यायो भन्ने कुरा माथिको मुक्तक पढ्दा बुझ्न सकिन्छ । हुनपनि कायांै घर भत्किए, चर्किए । त्यति कै संख्यामा हाम्रा सांस्कृतिक, धार्मीक सम्पदा ढले । दश नङ्ग्रा खियाएर खेती गरेर खाने जमिन भासियो । कयौं आमाका कोख रित्तियो । सयौं बालबालिका टुहुरा भए । नेपाली अर्थव्यवस्थालाई नराम्रोसंग प्रभावित तुल्यायो । त्यो त्रासद दिनलाई जाजरकोट र रुकुम पश्चिमका स्थानीयले झट्टै विर्सने सक्ने कुरै भएन् ।
विसं १९९० माघ २ , २०७२ वैशाख १२ र २९ सम्झंदा २०८० कार्तिक १७ को भन्दा धेरै गुणा त्रासद तस्विर हाम्रो आँखामा आउने गर्छ । १९९० माघ २ को भुकम्प व्यहोरेको र त्यो त्रासद क्षणको साक्षी पुस्ताले त्यो भयावह तस्विर भुल्नै लाग्दा २०७२ वैशाख १२ र २९ मा गएको भुकम्पले आठ हजारभन्दा बढीको ज्यान लियो । खर्बाैको भौतिक क्षति भयो ।
मंगलबार अर्थात माघ २ गते “स्थानीय श्रोत र प्रविधिको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं” भन्ने नाराका साथ २६ औं भूकम्प सुरक्षा दिवस देशभर मनाइयो । विसं १९९० साल माघ २ मा आएको भूकम्पका कारण नेपालले ठूलो धनजनको क्षति व्यहो¥यो । त्यसपछि पनि समय समयमा भूकम्प आउने र ठूलो मात्रामा धन र जनको क्षति गराउने गरेकै छ । २०७२ को भूकम्पले लगाएको घाउ त अझै निको भएकै छैन । भत्किएका घर र सांस्कृतिक सम्पदाहरुको पूनः निर्माण हुन सकेको छैन । अझ यहि कार्तिकमा र त्यसपछि आएका भूकम्पका कारण जन र धनको क्षति बढ्दो छ ।
दक्षिण एशियामै पहिलो पटक दैवी प्रकोप उद्धार ऐन बनाउने नेपालले भूकम्प तथा यस्तैखाले प्राकृतिक विपत्तिबाट पाठ सिकेर यसलाई अवसरको रुपमा लिन नसक्दा यसबाट हुने क्षतिलाई भने कम गर्न सकिएको अवस्था छैन । न त विपत्तिबाट पार पाउने गतिला उपायहरु अबलम्वन नै गर्न हामीले सकेका छौं ।
मध्य कार्तिकमा गएको भूकम्पका कारण भएको भौतिक क्षतिको हिसाबमात्र झण्डै ७२ अर्ब भनिएको छ । मानविय क्षतिको हिसाब त कसैले गरेको छैन । वायुमण्डलको तापक्रम ओरालो लाग्दै जाँदा भूकम्प पीडितको जीवन कष्ट उकालो लाग्दै गएको शायद काठमाण्डौले महसुस गरेन । किनभने भूकम्पका कारण घर भत्किएका नागरिकले पाएको एउटा त्रिपाल पनि उडाउने गरी हेलिकप्टरमा हाम्रा राष्ट्रपति, प्रधामन्त्री, उपप्रधानमन्त्री तथा नेताहरु त्यहाँ पुगे तर भूकम्प पीडितको घाउमा मलम लगाउने गरी तीन महिना वित्न लाग्दासम्म भएको छैन । एकसयभन्दा बढी नागरिकको ज्यान गएको र धेरै नागरिकलाई बेघर बनाएको यो भुकम्पका कारण नेपालीको ज्यान जाने क्रम रोकिएको छैन ।
बाढी– पहिरोको हामी पूर्वानुमान गर्न सक्छौ केहि हदसम्म । तर भूकम्पको हामीले पूर्वानुमान गर्न नसकिने भएकाले यसबाट बच्न भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने हुन्छ । तर यस्ता संरचना निर्माण गर्दा सामान्य निर्माण खर्च बढ्न जाने भएकाले हाम्रो ध्यान त्यस तर्फ जान सकेको छैन । तर हामीले बुझ्नु पर्ने के हो भने हाम्रो ज्यान भन्दा पैसा ठूलो होइन । ज्यान रहे सम्पत्ती आर्जन गर्न सकिन्छ तर सम्पत्ती जोगाउने नाममा कमजोर संरचना निर्माण गरेर आफ्नै ज्यान जोखिममा राख्नु पक्कै बुद्धिमानी ठहरिने छैन ।
मरेर गएका हाम्रा आफन्तहरुलाई त हामीले अव पाउन सक्दैनौं तर झण्डै दशक वित्न लाग्दा समेत ढलेका घरहरु ठड्याउन सकिएको छैेन । हाम्रा लडेका सम्पदाहरु टेकोमा उभिन विवश छन् । ढलेका घरहरु ठड्याउने र लडेका सम्पदाहरु उठाउने प्रयत्न भए पनि त्यो प्रभावकारी हुन सकेको छैन । बरु पुनः निर्माणको लागि सरकारद्वारा वितरित सरकारी अनुदान वास्तविक पिडितसम्म नपुगेको र पहुँचवालाहरुले दुरुपयोग गरेका गुनासा आउने गरेका छन् । गुनासो मात्र किन यस्ता थुप्रै प्रमाणहरु छन्, जसले पुनःनिर्माणमा सरकारकाले गरेको खर्चको दुरुपयोग भएको स्पष्ट देख्न सकिन्छ । लडेका धार्मीक, सांकृतिक सम्पदाहरुको पुःन निर्माण कार्यलाई प्रभावकारी बनाउन आवश्यक छ ।
तथ्याङ्क भन्छ, भूकम्प पछिको मानविय क्षतिको प्रमुख कारक कमजोर भौतिक संरचना हो । अर्थात हाम्रो घर कमजोर भएका कारण हामीले ज्यान गुमाउने अवस्था आएको हो । अझ २०७२ को भूकम्पका ज्यान गुमाउने मध्ये ९९ प्रतिशतको ज्यान सोही कमजोर संरचनाका कारण गएको हो भन्दा हामी हाम्रो जीवनकाप्रति कति लापरवाह छौं भन्ने देखाउँछ । अबको दिनहरुमा थोरै बढी खर्च लाग्ने भएपनि भूकम्प प्रतिरोधी घर निर्माणमा हामी सबैले ध्यान दिनु जरुरी छ । २६ औं भूकम्प सुरक्षा दिवसको अवसरमा स्थानीय श्रोत र प्रविधिको समेत प्रयोग गरेर भूकम्प थेग्ने संरचना निर्माणमा हामी जागरुक र अग्रसर हुन सकौं । राज्य पक्ष र हामी सबै सचेत हुनसक्दा भूकम्पबाट हुने क्षतिलाई हामीले कम गर्न सक्छौं ।
भनिन्छ, भुकम्पले आफै मान्छे मार्दैन मानविय असावधानी र कमजोर भौतिक संरचनालाई कारण बनाउँछ । हामी मध्ये धेरैलाई थाहा भएको कुरा हो, हामी अर्थात नेपाल भुकम्पिय जोखिमका हिसाबले बढी संवेदनशिल क्षेत्रमा छौं । त्यसैले १९९० माघ २ को मात्र होइन् ०७२ बैशाख १२ तथा २९ र गत कार्तिक यता गएका भूकम्पका कारण भएको मानविय तथा भौतिक क्षतिबाट पाठ सिकेर आगामी दिनमा आवश्यक सतर्कता अपनाउनु पर्दछ । हामीसंग हाम्रा अग्रजले सम्पदाको रुपमा दिएर गएका थुप्रै स्थानीय प्रविधि छन् । आउनुहोस्, आधुनिकसंगै ति स्थानीय प्रविधिको प्रयोग गरेर हाम्रा भौतिक संरचनाहरु निर्माण गरौं । भौतिक क्षतिसंगै हुने परिपूरण गर्न नसकिने गरी हुने मानिविय क्षतिबाट बचौं ।