व्यास नगपालिकालाई प्लाष्टिक झोला मुक्त घोषणा गरिएको दोस्रो हप्ता पूरा भएर तेस्रो हप्ता प्रारम्भ भएको छ । गत बैशाख २३ को नगर कार्यपालिकाको बैठकले जेठ १ बाट नपालाई प्लाष्टिक झोला मुक्त घोषणा गर्ने निर्णय गरेको थियो । मानव स्वास्थ्यको ख्याल राख्दै तथा वातावरणीय सुन्दरता र सरसफाइ कायम राख्न समेत प्लाष्टिक झोला प्रतिबन्ध आवश्यक थियो । यस अर्थमा व्यासको यो निर्णय प्रसंशा योग्य निर्णय हो भन्न असजिलो मान्नु हुँदैन । प्लाष्टिक यस्तो वस्तु हो, जुन झट्ट कुहिँदैन । कुहिन वर्षाै लाग्ने तथा पोलेर नष्ट गरौं भने विषाक्त ग्याँस उत्सर्जन गर्ने भएकाले यो मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ ।
नगरपालिका भित्र रहेका टोल विकास संस्थाका , व्यापारी, उद्योग वाणिज्य संघ लगाएतका प्रतिनिधि, जनप्रतिनिधि समेतको सल्लाह र सहमतिमा प्लाष्टिक झोला मुक्त घोषण गर्ने निर्णय गरिएको भएपनि व्यास नपाको मुटु भनिने दमौली बजारमा नै यसको कार्यान्वयन प्रभावकारी भएको छैन । अझैपनि कतिपय तरकारी पसल, हार्डवयर पसल, होटलहरु तथा दानाका पसल तथा अन्य कतिपय पसलमा समेत व्यापारीहरुले लुकिछिपी प्लाष्टिकको प्रयोग गरेको देखिएको छ ।
यस्तो अवस्थामा आफ्नो समेत सहभागीता र सहमतिमा भएको निर्णय कार्यान्वयनमा टोल विकास संस्था, व्यापारी प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि लागएतको जुन सक्रिय भूमिकाको अपेक्षा गरिएको थियो, त्यो पाउन सकिएको आभाष भएको छैन । व्यापारीहरुको प्रतिनिधि मूलक संस्था बताउने उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई प्लाष्टिक झोला प्रयोग नगर्ने सम्बन्धमा प्रतिवद्ध बनाउन थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ । थप सक्रियताको खाँचो देखिएको छ । प्लाष्टिक झोला प्रयोग विरुद्ध सून्य सहनशीलताको नीति नअपनाउने हो भने व्यासको यो अभियान सफल हुन कठिन देखिएको छ ।
यसका लागि अनुगमनलाई अझ प्रभावकारी बनाउँदै लैजानु पर्दछ । आम समुदायको सक्रिय सहयोग विना नपाको सक्रियतामा मात्रै यो अभियानले सफलता प्राप्त गर्न सक्दैन । कानून उल्लङ्घनलाई आफ्नो विजय ठान्ने मानिसकताबाट माथि उठेर सबैले तन, मनले सहयोग गर्दा नपाको अभियान सफल हुने त छ नै हाम्रो वातावरण समेत सफा र स्वस्थकर हुनेछ ।
प्लाष्टिक झोला विरुद्ध सून्य सहनशीलता-सम्पादकीय
previous post