प्रेम के हो ? आमा बाबुले छोरा छारीलाई गर्ने प्रेम कस्तो हो ? युवा युवतीबीच हुने प्रेम कस्तो हो ? यसका सिमाहरु के हुन् ? प्रेममा के हुन्छ ? प्रेममा के गर्नुपर्छ ? कहिल्यै पनि यी कुराहरु आफ्ना सन्तानलाई अभिभावकहरु सिकाउँदैनन् वा भनौं सिकाउने चाह राख्दैनन् अनि मन भित्र डर पालेर बाँचिरहन्छन् ।
प्रेम, दुइवटा अक्षरले बनेको यो शब्द अनौठो छ, विचित्रको छ, आश्चर्यजनक छ । साँच्चै अचम्मको । प्रेमको व्याख्या र परिभाषाहरु अनौठो, प्रेमको आभाष विचित्रको, प्रेमको लागि लगान आश्चर्यजनक । साँच्चै अचम्मको छ प्रेम । प्रेमको प्रकार पनि भिन्न भिन्न किसिमको , अभिभावकको सन्तानका प्रतिको प्रेम, गरुको शिष्यका प्रतिको प्रेम, साथी प्रतिको प्रेम, समाज प्रतिको प्रेम, राष्ट्रका लागि प्रेम, जीव जनावरका लागि प्रेम । अहो ! कति हो कति । तर मैले यहाँ उठान गर्न चाहेको प्रसंग चाहिं युवा युवती बीचको प्रेमको हो । जसलाई हामी वास्तविक अर्थमा प्रेम भनेरे बुझ्दछौं ।
प्रेमकै सेरोफेरोमा रहेर अनगिन्ति सहित्य रचना गरिएका छन् । चलचित्रहरु बनाईएका छन् । प्रेमलाई विषयवस्तु बनाएर साहित्य होस चाहे निर्माण गरिएका चलचित्र हामी खुब आनन्दसंग त्यसलाई पढ्छौं, हेर्छौं । प्रेम, मुख्य विषयवस्तु भएको कथा, कविता, नाटक, उपन्यास, चलचित्र अक्सर सफल हुन्छन् । अझ भनौं साहित्य भए त्यसको धेरैले अध्ययन गर्छन् । चलचित्र भए धेरैले हेर्छन । तर त्यहि प्रेम यथार्थमा भने हाम्रो समाजमा अक्सर वर्जित छ । यहाँनेर मलाई हाम्रो समाजसंग प्रश्न गर्न मन लाग्छ, त्यो प्रेम जसको कारणले हामी साहित्यमा डुब्छौं, त्यो प्रेम जसको कारणले हामी चलचित्रमा रमाउँछौं ,त्यो प्रेम जसको आडमा संसार चलेको छ, त्यहि प्रेम हाम्रो समाजको लागि वर्जित किन छ ?
प्रेम मिठो आभाष हो । सायद त्यसैले होला हामी प्रेमको विषयमा पढ्न, कुरा गर्न, सिनेमा हेर्न रुचाउँछौं तर यथार्थमा त्यही प्रेमलाई किन हामी स्विकार्न सक्दैनौं ? हाम्रो समाजको विडम्बना कस्तो छ भने, प्रेम विवाह गरेका दम्पत्ती चाहँदैनन्् कि भोली उनीहरुका छोराछोरीले कसैसंग प्रेम गरुन् । प्रेम विवाह गरुन् । यहि समाजका प्रतिनिधि भएकाले हामी चाहन्छौं, विविह पश्चात श्रीमान् र श्रीमतीबीच अपार प्रेम होस्, सम्बन्ध सुमधुर होस् तर त्यहि समाजलाई विवाह पहिलेको केटा केटीबीचको प्रेम स्वीकार गर्न गाह्रो पर्छ । मैले भेउ पाउन नसकेको कुरा के भने विवाह गरेपछि श्रीमान्ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्लाई प्रेम गर्नुपर्छ भनेर सिकाउने हाम्रो समाजले पहिले परस्पर प्रेम गरेर विवाह गर्छु भन्ने कुरालाई किन सहज रुपमा लिन सक्दैन ? कलेजमा रोमियो र जुलियटको कथा पढाइन्छ । एक अर्काको लागि गरेको त्याग र समर्पणको कुरा अत्यन्तै मिठास पूर्ण ढंगले प्रस्तुत गरिन्छ । तर त्यहि कलेजमा कुनै युवा युवतीले एक अर्कालाई प्रेम गरे भने कलेजकोलागि टाउको दुखाईको विषय बन्न पुग्छ । कस्तो अचम्म । प्रेमले जातपात, धनीगरिब, धर्म, उमेर केहि पनि मान्दैन, भन्नु हुँदैन भनेर हामी कुरा गर्छाै तर अक्सर हामी चाहन्छौं, हाम्रा छोरा छोरीले कसैसंग प्रेम नगरुन, गरेपनि जात–पात, धर्म, उमेर, खानदान सबै कुराको ख्याल गरेर गरुन् । कस्तो विरोधाभाष !
प्रेम विना संसार चल्दैन । प्रेम एउटा अनन्त सत्य हो । जति हामी प्रेमलाई वर्जित गर्न खोज्छौं, प्रेमले त्यत्ति नै प्रकट हुन खोज्छ । त्यसैले प्रेमलाई वर्जित गर्ने होइन बरु स्वीकार्नु पर्छ । अक्सर अभिभावकलाई चिन्ता हुन्छ कि आफ्ना सन्तानले कसैको प्रेममा परेर केही त्यस्तो नगरोस् जसले समाजमा उनीहरको इज्जतमा कमि आओस् । तर अभिभावकहरु अक्सर आफ्नो सन्तानसंग प्रेमको विषयमा खुलेर कुरा गर्दैनन् । प्रेम के हो ? आमा बाबुले छोरा छारीलाई गर्ने प्रेम कस्तो हो ? युवा युवतीबीच हुने प्रेम कस्तो हो ? यसका सिमाहरु के हुन् ? प्रेममा के हुन्छ ? प्रेममा के गर्नुपर्छ ? कहिल्यै पनि यी कुराहरु आफ्ना सन्तानलाई अभिभावकहरु सिकाउँदैनन् वा भनौं सिकाउने चाह राख्दैनन् अनि मन भित्र डर पालेर बाँचिरहन्छन् । यदि समय छंदै यी सबै कुराहरुमा आफ्ना सन्तानलाई सिकाउने, बुझाउने हो भने त्यसरी डराउनु पर्ने अवस्था नै आउँदैन । समय वितेपछि पछुताउनु भन्दा समयछंदै यी कुराहरुप्रति सजग हुनुपर्छ ।
मैले माथि भने जस्तै प्रेम भिन्ना भिन्नै प्रकृतिको हुन्छ । तर हाम्रो समाज डराउने भनेको केवल युवा युवतीको प्रेमसंग मात्र हो । यदाकदा प्रेम सम्बन्धकै कारणले दुःखद र अप्रिय घट्नाहरु घटेको तीतो यथार्थ नि हामीसंग छन् । त्यस्तो अवस्थामा हामी बुद्धि बिग्रिएको, वैशमा आँखा नदेखेको वा यस्तै यस्तै केहि भनेर टारिदिन्छौ । तर त्यस्तो अवस्था किन आयो , अब कसरी आउन नदिने भन्ने विषयमा बहस गर्न रुचाउँदैनौं । हुन त त्यस्ता अप्रिय घटनाहरु घट्नुको पछाडी अन्य धेरै कारणहरु होलान्, त्यति धेरै विश्लेषण गर्ने क्षमता पङ्तिकारको छैन् । तर पनि एउटा कारण चाहिँ के हो भने प्रेमलाई वर्जित गरिनु वा भनौं सहज रुपमा स्वीकार नगरीनु । यदि हाम्रो समाजको दृष्टिकोण प्रेमको सन्दर्भमा खुल्ला हुने हो भने त्यस किसिमका अप्रिय घटनाहरु धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । हाम्रो समाजमा प्रेम गर्नु भनेको आजको मितिसम्म पनि अपराध गर्नु जस्तै छ । लुकी लुकी गर्नुपर्ने । लुकी लुकी गरिएको प्रेममा अपरिपक्व निर्णयहरु हुने सम्भावना बढिरहन्छ । र ति अपरिपक्व निणर्यहरुले अप्रिय घटनाहरु निम्त्याइरहन्छन् । त्यसैले प्रेमको बारेमा खुलेर कुरा गर्नुपर्छ । समाजमा प्रेमलाई वर्जित विषयको रुपमा हेरिनु हुँदैन । आफ्ना सन्ततीहरुलाई के सही के गलत भन्ने कुरा बेलैमा सम्झाउनु , बुझाउनु पर्छ । विपरित लिङ्ग प्रतिको आकर्षण, युवा अवस्थामा गरिने प्रेम यि सबै प्राकृतिक कुराहरु हुन् । यसलाई जति कडा नियन्त्रणमा राख्न खोज्यो त्यति नियन्त्रणभन्दा बाहिर जान्छ । त्यसैले यस्ता कुराहरुलाई सहज रुपले स्वीकार्न सिक्नुपर्छ, हाम्रो सोचाइको दायरालाई फराकिलो बनाउन सक्नुपर्छ ।