
कुरा गत फागुनको मध्यतिरको हो । एकदिन विहान उठेर हातमुख धुनको लागि धारा खोल्दा धारामा पानी आएन । शायद ट्याङ्की खोल्नेले नभ्याएर होला, एकछिन पछि त आउला भनेर खासै वास्ता गरिएन् । अलि समय वितिसक्दा पनि पानी नआएपछि फोन गरें । ट्याङ्कीमा पानी नै नभएको खबर आयो । हातमुख धुन र नुहाउनको लागि पँधेरा जानुपर्ने भयो । आमा गुनासो गर्दै हुनुहुन्थ्यो, पँधेरोबाट पानी बोक्नु पर्ने भयो भनेर । हुन त हिजो साँझ भरेकै पानीले पनि जेनतेन काम चलाउने भए चलाउन मिल्ने अवस्था थियो । गाग्रीहरु भरी नै थिए । तर अत्याधिक मात्रामा पानी खेलाउने बानी परेकोले अत्यास लागेको हुनसक्छ । भएछ के भने, गाउँमा सडक कालोपत्रे गर्नको लागि डोजरले काम गर्दा हाम्रो टोलतिर पानी आउने पाइप काटिएछ । साँझपख भैसकेको हुनाले जसोतसो पाइप बन्द गरिदिएछन् र भोलिपल्ट खबर गरौला भनेर त्यो साँझ केही भनेनछन् । भोलीपल्ट दिउँसो पाइप जोडिसकेपछि धेरै ठूलो राहत महसुस भयो । किनभने अब रातभरी ट्याङ्कीमा पानी जम्मा भएपछि भोली विहान धारामा पानी आउँछ भन्ने ढुक्क थियो ।
म फुर्सद मिल्दा सरसर्ती आफ्नो गाउँघर डुल्न रुचाउँछु । गाउँतिर बुढापाकासंग उहाँहरुको जवानीको कथा र अनुभवहरु सुन्दा रमाइलो मात्र होइन धेरै ज्ञान पनि पाईन्छ । कहिल काहिँ घर छिमेकको केटाकेटीसंग गफिन, बालसुलभ खेलमा रमाउन पनि रमाइलै
हुन्छ । त्यसैले पनि म समय समयमा फुर्सद मिलाएर गाउँतिर डुलिनै रहन्छु । यो कुरा चाहिँ अलि अगाडिको नै हो । गाउँ डुल्दै गर्दा एक जनाको घरमा धारा खुल्लै देखें । खुल्ला पनि कुन अर्थमा भने ठूलो पानी गएको होइन तर पानी तिरतिरतिर निरन्तर गइरहेको थियो । धारा राम्रोसंग बन्द गरेनछन् वा भुलेछन् भन्ने मनशायले धाराबन्द गर्न खोजेँ । बिग्रिएको रहेछ । घरमा केही थिएन । संयोगले भोलीपल्ट पनि त्यतैतिर काम परेर जानुपर्ने भयो । भेटेरै धारा विग्रिएको कुरा जानकारी गराएँ । उहाँले सहजै उत्तर दिनुभयो, अस्तिनै विग्रिएको हो । लिन जाने भनेको भ्याएकै छैन । धारा विग्रिएको १० दिन भन्दा बढी भइसकेको रहेछ । त्यो दश दिनमा, २४० घण्टा निरन्तर पानी झरी रहँदा कति लिटर पानी त्यसै खेर गयो
होला ? उहाँलाई धारा फेरी हाल्न सुझाएर म आफ्नो काम तिर लागें । आफैले भोगेको माथिका दुइ अनुभवहरु मैले यहाँ प्रस्तुत गर्नुको एउटै आशय भनेको हामीले पानी कसरी प्रयोग गर्ने गरिरहेका छौं भन्ने देखाउनका लागि मात्र हो । पानी प्रयोगको सन्दर्भमा यस्ता अरुपनि अनुभवहरु छन् तर सबै यहाँ उल्लेख गरिराख्नु राम्रो पनि नहोला र आवश्यकता पनि नपार्ला ।
एकछिन् पहिलो घटनातर्फ फर्कन चाहँे । एकदिन घरको धारामा पानी नआउँदा ठूलै विपत्ति परेजस्तो महशुस
भयो । जब कि मैले उल्लेख गरिसकें उक्त दिनलाई काम चलाउन पुग्ने पानी घरमा मौज्दात थियो । र पँधेरो पनि खास टाढा थिएन, पानी नपुगेको खण्डमा । तर पनि मन आत्तियो किनभने आवश्यकता भन्दा बढी पानी चलाउने बानी परेकोले गाउँले भाषामा भन्दा छेलोखेलो हुने गरेर पानी चलाउने बानी परेकोले थोरै पानी देख्दा मन आत्तियो । हुनपनि यसो विचार गरौं त हामी मध्ये धेरै, जोसंग पानीको पर्याप्त पहुँच छ, हरेक काममा आवश्यकता भन्दा बढी पानी प्रयोग गर्छाै । कतिपय अवस्थामा त अनावश्यक रुपमा खेर पनि फालिरहेका हुन्छौं । हातमुख धुँदा, नुहाउँदा, कपडा धुँदा, भाँडा माझ्दा प्रायः हामी आवश्यकता भन्दा बढी पानीको प्रयोग गरिरहेका हुन्छौं । हाम्रै आमाहरु भन्नुहुन्छ पहिले त डोकोमा बोकेको पानीले पनि सबैकाम गर्न पुग्थ्यो । अहिले त घरमै धारा भएर हो कि किन हो अचाक्ली पानी धेरै खेलाउने बानी भएको छ । हुनपनि जब मानिसको सुविधासम्म पहुँच हुन्छ तब आवश्यकताभन्दा बढीनै त्यसको प्रयोग गर्ने बानी हुन्छ, अधिकांशको । म आफैलाई पनि खाना खाएको एउटा थाल र चम्चा सफा गर्न लगभग तीन जग अर्थात तीन लिटर जति पानी चाहिन्छ । कतिपय ठाउँमा पानीको अभाव हुँदा त्यही एउटा थाल र चम्चा एक जग पानीले पनि सफा गरेको छु । तर घरमा २४ घण्टै पानी आउने भएर अत्याधिक पानी प्रयोग गर्छु । हुन त मैले यसो भन्दै गर्दा पानीको वचत गर्न सरसफाईसंग सम्झौता गर्नुपर्छ भन्ने मेरो आशय बिल्कुल होइन् । कुरा कति मात्र हो भने आवश्यकताभन्दा बढी प्रयोग गरेर खेर फाल्नु हुँदैन ।
हामीले दैनिक रुपमा नगरी नहुने कामहरु जस्तो कि हातमुख धुने, दाँत सफा गर्ने, नुहाई धुवाई यस्तै कामहरुमा हामी चाहिनेभन्दा बढी पानीको प्रयोग गरेर खेर फालिरहेका
हुन्छौं । यता दाँत सफा गर्दै हुन्छौं, उता धारामा पानी खेर गईरहेको हुन्छ । नुहाउँदा शरीरमा साबुन लगाएर मिचिरहेका हुन्छौं तर धारा बन्द गर्दैनौं । गरेपनि राम्रोसंग गर्दैनौं । पानी खेर गईरहेको हुन्छ । कपडा धुँदा त्यस्तै हुन्छ । कपडा पखालेर निचोर्न लागेका हुन्छौं , एकैछिन् ५ सेकेण्ड त होनी भनेर धारा बन्द गर्दैनौं । पूरा खोलिएको धाराबाट एक सेकेण्डमा १ लिटरभन्दा बढी पानी खेर
जान्छ । अर्थात एक पटक कपडा धुँदा हामी लगभग १०, १५ लिटर पानी त्यसै खेर फालिरहेका
हुन्छौं । आधिकारिक तथ्याङ्क होइन तर यसै विचार गरौं त, नेपालको तीन करोड जनसंख्या मध्ये प्रत्येक दिन एक करोड मानिसले लुगा धुने र १ जना बराबर १० लिटर पानी खेर फाल्ने हो भने दैनिक कति पानी व्यर्थ हुन्छ ? १० करोड लिटर । लुगा धुने कुरा मात्र पनि
नगरौं । प्रत्येक नेपालीले दैनिक २ देखि ३ लिटरसम्म पानी अनावश्यक रुपमा खेर फाल्ने हो भने दैनिक ६ करोड लिटरभन्दा बढी पानी खेर
जान्छ । यो आँकडालाई आधार मानेर हेर्ने हो भने मासिक कति पानी खेर जाँदो रहेछ त ? अनि एक वर्षमा कति पानी व्यर्थ हुँदो रहेछ ? एक जनालेमात्र १,२ लिटर पानी खेर फाल्दा त्यसले केहि फरक पर्दैन तर जब करोडौं मानिसले १,१ लिटरको दरले खेर फाल्छ अनि त्यसल फरक पर्छ, पक्कै पर्छ ।
मैले दोस्रो घटनामा उल्लेख गरेजस्तै नेपालको जतिपनि टोल छन्, प्रत्येक टोलमा एक जनाको मात्र धारा विग्रिएर ५ दिनसम्म पानी खेर जाने हो भने कति पानी खेर जान्छ, हिसाब गरौं त । गणित गह्रौं नै पर्न आउँछ । फेरी हामीले अनावश्यक रुपमा पानी खेर फाल्दा त्यसको प्रत्यक्ष र तत्काल असर हामीलाई नै पर्ने हो । पानीको अभाव हुने कुरा त छँदैछ, त्यो बाहेक गाउँतिर त समस्या नहोला तर शहर बजारतिर नालीको व्यवस्थापनमा पनि समस्या पर्न आउँछ । हामी मध्ये कतिलाई लाग्न सक्छ हामीले पानी प्रयोग गरेबापत महसुल बुझाइरहेका हुन्छौं । त्यसर्थ चाहिँदो पानी प्रयोग गर्न पाउनु हाम्रो अधिकार हो । अधिकारको कुरा आफ्नो ठाउँमा जायज होला तर हामीले आफ्नो अधिकार प्रयोग गर्दै गर्दा घण्टौं लगाएर डोकोमा गाग्री बोक्नुपर्ने बाध्यतामा पनि नेपालीहरु छन् है भन्ने पनि भुल्नु हुँदैन । फेरी आवश्यकता भन्दा बढी अनावश्यक रुपमा प्राकृतिक श्रोत र साधनको प्रयोग गरेर हामी सभ्य कहलिने पनि त होइन । हो र ?
नेपाल भूपरिवष्ठित राष्ट्र भइकन पनि जलस्रोतमा धनी देशको रुपमा विश्वमा प्रख्यात छ । जलस्रोतमा धनी हुँदाहुँदै पनि एक गाग्री पानीको लागि गाग्रीको लाईन लाग्ने शहर बजारका टोलहरु र नाकै छुने उकालोमा घण्टौं लगाएर एक गाग्री पानी ओसार्नुपर्ने अवस्था पनि जिउँदै छ । यस्तो अवस्थामा आफुसंग उपलब्ध छ भन्दैमा अनावश्यक रुपमा पानी खेर फाल्नु मानिसलाई नैतिक दृष्टिकोणबाट पनि सुहाउने कुरा होइन नि । फेरी कसैलाई लाग्न सक्छ पुर्वको मानिसले पानी बचाएर पश्चिमको मानिसलाई पुग्ने हो र ? प्रश्न ठिकै पनि
हो । तनहुँमा पानी ताप्लेजुङ लैजान त सम्भव छैन । तर आफ्नो नजिक वरपर त मद्दत गर्न सकिन्छ कि ? ल मानौं केही पनि गर्न नसकिने रहेछ । त्यसो भन्दैमा खेरै फाल्नुपर्छ भन्ने पनि त छैन नि ।
पृथ्वीको वातावरणमा आएको परिवर्तन, बढीरहेको गर्मीले दिनानुदिन पानीका मुहानहरु सुक्दैछन् । याद गरौं तपाई हाम्रै घर छेउछाउ खोल्सा खोल्सामा पानीको मुहान हुन्थ्यो, केही वर्ष पहिलेसम्म । अहिले त्यो अवस्था छैन । कहिल्यै नसुक्ने ठूला ठूला मुहानहरु पनि कति सुक्न लागेका छन् । कति त सुकि नै सके । जनसंख्या दिनदिनै बढ्दो छ । पानीको मुहान घट्दो छ । पानी हाम्रो जीवन हो । पानी विना जीवनको कल्पना गर्न सकिँदैन । फेरी पानीको मुहान बनउने कुरा मान्छेको क्षमताले भ्याउने कुरा होइन । यो त प्राकृतिक पद्धतिको कुरा हो, जसको लागि वर्षाैको समय लाग्छ । मानिसले गर्न सक्ने भनेको त भएको मुहान खोज्ने मात्र न हो । प्राकृतिक जति पनि स्रोत छन्, ती सीमित छन् । हाम्रो बुद्धिमानी यसैमा हुन्छ कि ती स्रोतहरुको सदुपयोग गरौं । हामीले खेर फाल्ने एक एक थोपा पानीको लागि कसैले व्याकुल भएर पर्खिरहनु परको छ भन्ने यथार्थलाई महसुस गरौं । त्यसैले पानीको सदुपयोग गरी वचत गरेर आफ्नै र अरुको पनि जीवन बचाउन सकिन्छ भन्ने कुरालाई बुझ्ने प्रयास गर्ने हो कि ?