नेपालमा मनाइने दोस्रो ठूलो पर्वको रूपमा तिहारलाई लिने गरिन्छ । जसरी नवरात्री नौ दिनसम्म मनाईन्छ, त्यसैगरी तिहारलाई पाँच दिनसम्म मनाउने प्रचलन छ । जसलाई यम पञ्चक पनि भनिन्छ । यस पर्वमा काग, कुकुर, गाई र गोरु आदिको पूजा गरेर मानव र प्रकृति बीचको सौन्दर्यतालाई आत्मसात गरिन्छ । यही तिहार अर्थात दिपावली पर्वको मूल मर्म हो । दिपावलीको रमझम सबैतिर छाएको हुन्छ । सबैको मनमा आनन्दको वर्षा हुन्छ । देउसी भैलो गाएर मनोरंजन गरिन्छ । लक्ष्मी पूजा गरेर वर्षभरी आर्थिक आभाव नहोस भनि माताजीसँग प्रार्थना
गरिन्छ । खुसी खुसी बाँच्न सकौं भनेर मनाइने यस पर्वले जीवनका अज्ञानरूपी अन्धकारलाई हटाएर प्रकाशको दिव्य आलोकमा प्रवेश गर्न सकौं भन्ने सन्देश यस पर्वले दिएको हुन्छ ।
पर्वको अर्को पक्ष हो भाईटिका । दिदीबहिनीले दाजुभाईका दीर्घायू र सुस्वास्थ्यको कामना गर्दै निधारमा सप्तरंगी टिका लगाईदिने र मिष्ठान परिकार खुवाउने, मखमली फूलको माला लगाई दिने चलन छ । कहिल्यै नसुक्ने मखमली फूलको माला लगाईदिने तथा तेलले घेर्ने गरेर दिदीबहिनीले दाजुभाइको दीर्घायूको कामना यो पर्वमा गर्दछन् । वास्तवमा तिहार दाजुभाइ र दिदीबहिनीबीचको प्रेमको पर्व हो । उज्यालोको पर्व हो । यद्यपि कतिपय आयातित संस्कृतिका कारण तिहार भड्किलो बन्दै गएको छ ।
दाजुभाइ र दिदीबहिनीको सम्बन्ध अब टिका लगाएर दिइने उपहार र दाजुभाइले दिने दक्षिणामा गणना गर्न थालिएको छ । पटाका पड्काउने कामले अनावश्यक खर्च त भएको छ नै हाम्रो पैसा विदेशिएको छ भने यसकै कारण कतिपय दुर्घटना भएका र मानिसको अंगभंग भएको समाचार पनि सुन्न हामी विवश छौं । देउसी खेल्ने नाममा दक्षिणा तोकेर माग्ने जस्ता विकृतिको विस्तार हुँदै गएको छ ।
प्राणी जगतको सहअस्तित्वको स्वीकार र सम्मान गर्ने पर्व तिहारको मौलिकता कायम राख्ने चुनौति हाम्रा सामु छ । तिहार हाम्रो सांस्कृतिक पहिचान पनि हो । यो पहिचान पुँजीबादको चपेटामा परेर गुम्ने खतरामा छ । सबैले यसको मौलिकता जोगाउँदै पारिवारिक आत्मियता बढाउँदै मनाउँ । दिपावलीको शुभकामना ।
दिपावलीको शुभकामना-सम्पादकीय
previous post