–बाध बुढो भयो भन्दैमा घाँस खाँदैन । बाघ बुढो भयो भनेर फट्याङ्ग्राको सिकार गर्दैन ।
–बाघ बुढो स्याल तन्नेरी एकै हुँदैन ।
उपयुक्त दुईओटा उखान टुक्काहरु नेपाली भाषामा प्रयोग भैरहने उखान टुक्काहरु हुन् । पहिलो उखानलाई दुई तरिकाले प्रस्तुत गरिएको भएपनि आशय एकै हो । दुईवटै उखानको आशय समग्रमा भन्नु पर्दा बाघ शक्तिशाली हुन्छ, उसको आफ्नै स्वभाव र स्वाभिमान हुन्छ, बाघ प्रभावशाली हुन्छ भन्ने हो ।
एकै छिन दुईवटै उखानको छुट्टाछुट्टै विश्लेषण गरा्रं । बाघ जन्मजात माँसहारी प्राणी हो । सानोमा आमाले गरिदिएको सिकारको भरमा हुर्के पनि उमेर पुगेपछि आफ्नो छुट्टै क्षेत्र कायम गरेर, आफ्नो क्षेत्रमा एकछत्र राज गरी सिकार गर्नु बाघको प्रबृत्ति हो । बुढ्यौलीमा जतिनै कमजोर भएपनि बाघ बरु भोकै मर्छ तर घाँस खाएरै भएपनि बाँच्ने चेष्टा गर्दैन, किरा फट्याङ्ग्राको सिकार गरेर उसको पेट भर्दैन । यो उसको प्रबृत्ति हो ।
सायद मानिस होस् या अन्य कुनै प्राणी शारीरिक बलको हिसाबले हेर्दा तरुण अवस्थामा सबैभन्दा सक्षम हुन्छ । विस्तारै दिन उमेर ढल्दै जाँदा उसको शक्तिमा पनि कमि आउँदै जान्छ र क्रमशः प्रभाव पनि कम हुँदै जान्छ । तर जंगलको राजा मानिने बाघको सन्दर्भमा यो कुरा हूबहू लागू हुँदैन । बाघ र स्याल दुबै स्वभावले हिस्रक मांसहारी प्राणी हुन् । दुबै सिकारी बर्गका प्राणी हुन् । तर जंगलमा बाघको यति प्रभाव हुन्छ कि तरुण स्यालको हुललाई थर्कमान गराउन बुढो बाघको एक हूँकार नै काफी हुन्छ । त्यसैले भनिएको होला बाघ र बुढो र स्याल तन्नेरी एकै हुँदैनन् ।
मैले यी दुईवटा उखानको बारेमा यहाँ उल्लेख गर्नुको कारण चाही के हो भने नेपालको वर्तमान कम्यूनिष्ट सरकारको चालामाला देख्दा माथि उल्लेख गरिएका उखानहरु उल्टो भए कि जस्तो आभाष भएको छ । हुन त नेपाली उखान टुक्काको बारेमा हाम्रो सम्मानीय सरकार प्रमुख प्रधानमन्त्री केपि शर्मा ओली ज्यूलाई जतिको ज्ञान त नेपाली भाषा विज्ञ विश्वविद्यालयका प्राध्यापकहरुलाई पनि नहोला । तर सरकारको रवैया देख्दा पंक्तिकारलाई चाही यो उखान उल्टो भयो भन्ने आभाष भएको हो । दुई फरक खालको समिकरणको एकिकरणबाट बाघ बनेको नेपाल कम्यूनिष्ट पार्टीको सरकारले बुढ्यौलीमा होइन, तरुण अवस्था मै निर्लज्ज भएर घाँस चरेको छ । अझ यस्तो भन्दा पनि अतिसयोक्ति नहोला, चुनावी मैदानमा दुई तिहाईको बहुमत पाएको केपि ओलीको सरकार जसले जाहेमा हात्ती लडाउन सक्थ्यो । सिकार गर्न छोडेर कसैले फट्याङ्ग्रा मारिदिन्छ कि भनेर ढुकेर बसेको छ । मलाई शंका छ, कुनै दिन यो बाघलाई स्यालको होइन न्याउरी मुसाको हुलले पनि लखट्ने छ ।
भरखरै हामीले दशै मनायौं । दशैंलाई धार्मिक मान्यता अनुसार असत्य माथि सत्य र दानवी प्रबृत्ति माथि देवीप्रबृत्तिको विजयउत्सवको रुपमा मनाईन्छ । तर दशैंकै संघारमा नेपालमा केहि महिसासुरहरुले प्रवेश गरे । यसरी र यस्तो तरीकाले प्रवेश गरे मानौैं सँधै आउने जाने गरेको साथीको घरमा चिया खान आएको होस् । केपि शर्मा ओली को हो ? नेपालको सम्माननीय प्रधानमन्त्री होः नेपाल सरकारको कार्यकारी प्रमुख । त्यसो भए उनको हैसियत कति हो ? के कुनै पनि स्वाभिमानी देशको सरकार प्रमुखको हैसियत अर्को देशको गुप्तचर संस्था प्रमुख बराबर हो ? होइन भने भारतको गुप्तचर संस्थाका नाईके भनाउँदाहरुले नेपाली प्रधानमन्त्रीलाई लगौटियारको जस्तो व्यवहार देखाई रहेका छन् ? बाटो परी हाल्यो अरे, भाई क्या हाल हे भनेर सोधौं न भन्या जस्तो हो ? कुनै पनि देशको प्रधानमन्त्रीलाई भेट्नु भनेको ? यो भारतको दादागिरी ज्यादा हो कि हाम्रो लाचारीपन ज्यादा ? अनि किन मौन छ, केपि ओली सरकार ? कि ठोस जवाफ दिन सक्दैनन् यसको प्रसंगमा । कतै केपि ओलीकै निम्तोमा त आएका होइनन् र’अ का प्रमुख ।
देशको भूगोल सानो हुन सक्दछ, ठूलो हुन सक्छ, तर सम्मान भनेको पदलाई दिने कुरा हो । भारतको भूगोल नेपालको भन्दा ठूलो भएपनि हाम्रो स्वाभिमान र इज्जत भारत भन्दा कम छैन । केपि शर्मा ओलीको बराबरी मोदी जति हो । र’अ टाउके कुन्नि के नामधारी जति होइन । एउटा गुप्चर संस्थाको प्रमुखले नेपालको प्रधानमन्त्रीसंग गरेको व्यवहारले तिमीलाई त फरक परेको छैन होला प्रधानमन्त्री तर देशको स्वाभिमानलाई धक्का पुगेको छ । हिजो नेपालको सरकार प्रमुखलाई भेट्न ह्वाईट हाउस र बकिंघम प्यालेसबाट समेत निवेदन आउँथ्यो । अनुमति नभए भेट्न पाईदैनथ्यो । तिमी पनि नेपालको सरकार प्रमुख नै हौ । फेरी किन यति निरिह बन्यौं ? तिमीलाई थाहा नदिई कोई तिमीलाई कसरी भेट्न आयो ? खोई तिम्रो हिजो नाकाबन्दी ताकाको राष्ट्रवाद ? के कम्यूनिष्ट, के काँग्रेस, के जनमोर्चा, के राप्रपा सारा नेपाली एक भएर समर्थन गरेको लिम्पियाधुराको प्रसंगः किन रोक्यौं नयाँ नक्सा सहितको पाठ्यपुस्तक वितरण ? अस्तिताका ठूल्दाईलाई दसेराको शुभकामना पनि दिई पठाएछौं । सबै नेपालीको तर्फबाट । निशान छापमा नेपालको चुच्चो नक्सा हुनु पर्ने, बुच्चो नक्सा राखी पठाएछौ । त्यो नेपालको नक्सा मात्र होइन, समग्र नेपालीको स्वाभिमान तिमीलाई बुच्चो बनाएको हो । मेरो प्यारो प्रधानमन्त्री अचेल त तिमी निकै खुशी छौ होला, पारी दक्षिणतिर त अचेल तिम्रो खुब गुणगान गाउँदै छन् नि । प्रिय प्रधानमन्त्री तिमीले आफ्नै कार्यकर्ताको नजरमा आफ्नो र नेपाली जनताको कम्यूनिष्ट सरकारको साख त गिरायौ गिरायौ, छिमेकी भनाउँदाहरुको नजरमा नेपालको साख गिरायौ । ठूलो गल्ति ग¥यौ, हुन त एउटा नगरपालिकाको प्रमुखलाई एक्काईस तोपको छड्के सलामी चाहिने तिम्रो कम्यूनिष्ट सरकारको उखान टुक्काको विश्वास गरेर राष्ट्रवादको अपेक्षा गर्नु नै हाम्रो मुर्खता सावित भयो । तिम्रो कुरा पनि विश्वास लाग्नै छोड्यो अचेल त ।
प्रधानमन्त्री बनेको तीन बर्ष कटाई सक्यौ, आठ महिनाको कोरोनाले सोंचेजति काम गर्न पाइएन भन्छौ, ताजुक लागेर आउँछ भन्या ।
मेरो आलेख पढ्दै गर्दा कम्यूनिष्ट विचारधारा माथि आस्था राख्ने पाठक बर्गलाई खेद हुन सक्दछ तर मैले यो आलेख न त कम्यूनिष्ट भएकोले गुनासो गर्न लेखेको हूँ । न त काँग्रेस भएकोले खिसीट्यूरी गर्न । एउटा आमनागरिकको हैसियतले सोंच्दा मनमा उठेको प्रश्नहरु सरकार समक्ष प्रस्तुत गर्न मात्र खोजेको हूँ ।
नेपाली काँग्रेसप्रति पनि मेरो आपत्ति छ । सरकारको गलत हर्कतको खै धारे हात लगाएर विरोध गर्न सकेको ? यहाँ देश डुब्न लागि सक्यो तिमी आफ्नै पार्टी भित्रको कुर्चि मात्र बचाई राख ।
यदि कम्यूनिष्ट सरकारको गलत रवैयामा आउँदो चुनावमा आफ्नो जीत देखिरहेका छौ भने त्यो तिम्रो भ्रम हो । काँग्रेसले पनि समय छँदै भ्रमको चश्मा उतार । कम्यूनिष्ट पनि बेलैमा सचेत
बन । हामी हामी बीचमै प्रष्तिप्रधा गर्न रमाईलो हुन्छ । त्यो गरौंला । जुगौजुग गरौंला । तर त्यसको लागि नेपाल रहनु पर्दछ । नेपाल सिक्किम बन्नु हुँदैन । समय छँदै चेतना भया ।
गिर्दै कम्यूनिष्ट सरकारको साख
previous post