उत्तरी छिमेकी चीनबाट फैलिएको कोरोना भाइरसको सन्त्रास अब नेपालसम्म आइपुगेको छ । पहिले चीनमा अध्ययनका क्रममा रहेका र विदामा नेपाल आएका विद्यार्थीमा संका गरिएको कोरोना भाइरसको संक्रमण अरु ४ जनामा भएको आशंकासंगै यसको सन्त्रास नेपालमा बढेको छ । चीनमा यसका कारण १०६ जनाको ज्यान गइसकेको छ र त्यहाँ यसका विरुद्ध सजगता अपनाउन थालिएको छ । यो भाइरसको संक्रमण मानिसबाट मानिसमा सर्ने पुष्टि भइसकेको छ । र चीनका आधा दर्जनभन्दा बढी सहर र काठमाडौंबीच सिधा हवाई सम्पर्क भएकाले नेपालमा यो संक्रमणको जोखिम बढी छ । अहिले यो भाइरसबाट बच्ने उपाय भनेकै यो भाइरसको संक्रमण एकबाट अर्काेमा सर्न रोक्नु हो ।
यो भाइरसको संक्रमण हुनेलाई रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा अत्यधिक समस्या देखिने र १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने गर्छरु। यसबाहेक जीउ र टाउको दुख्ने पनि हुन्छरु। संक्रमण सुरुमा सामान्य देखिए पनि पछि निमोनियासम्म भई ज्यानै जान सक्छ । यो भाइरसविरुद्ध न कुनै खोप छ, न यसका कारण लाग्ने रोगबारे खास उपचार । शरिरको रोग प्रतिरोध प्रणाली कमजोर भएका मानिसमा यसको संक्रमण दर बढी देखिएकाले यस्ता व्यक्तिहरु बढी सतर्क रहनु जरुरी छ । यो भाइरसको संक्रमणबाट बच्न साबुन–पानीले हात धुनुपर्छ । खोक्दा, हाछ्युँ गर्दा नाक र मुख छोप्नुपर्छ । मासु र अण्डा राम्ररी पकाएर मात्र खानुपर्छ अनि जंगली र घरेलु पशुपन्छीसित असुरक्षित सम्पर्कबाट टाढै रहनुपर्छ ।
नेपाल आउने पर्यटक मध्ये संख्याका हिसाबले चीन दोस्रो ठूलो देश हो । यसको अर्थ हरेक वर्ष चीनबाट लाखौं पर्यटक नेपाल घुम्न आउने गर्दछन् । अनि चीनका आधा दर्जनभन्दा बढी सहरसंग काठमाण्डौंका सिधा हवाइ सम्पर्क छ । यी कारणहरुले हामीमा संक्रमणको जोखिम पनि बढीनै छ । हामी नागरिकहरुको आवश्यक सतर्कता र सरकारको तत्परता रहने हो भने हामीले कोरोनाबाट हुने क्षतिलाई कम गर्न सक्छौं । त्यसैले हाम्रो कामना छ, हामीले संक्रमणबाट जोगिन आवश्यक सतर्कता अपनाउँ अनि सरकारले पनि संक्रमितको उपचारमा तत्परता तथा नयाँ संक्रमित थपिन नदिन थप सजगता अपनाओस् ।