२०७५ फागुन ३ गतेको त्यो कहालीलाग्दो रातः त्यो कालो रातले दिएको पिडा र अपुरणीय क्षतिको कारण म कहिल्यै पनि त्यो रातलाई सम्झन चाहन्न तर त्यो कालो रातले दिएको पिडा र क्षतिकै कारणले म त्यो डरलाग्दो रातलाई कहिल्यै भुल्न पनि सक्दिन । मेरो जिवनमा त्यो कालो रात आएको पनि वर्षको हिसाबले चार वर्ष लागिसकेछ तर मैले आजसम्म पनि ठ्याक्कै निर्णय गर्न सकेको छैन कि मैले अझै पनि त्यो रातलाई सम्झेर दुखि भईराख्नुपर्छ, पिडामा डुबिरहनुपर्छ कि दुःख र पिडालाई मन मस्तिष्कको एउटा कुनामा सुरक्षित राखेर त्यसको याद र सम्झनाले बरु अझै धेरै शसक्त र बलियो भएर अगाडि
बढ्नुपर्छ । अहँ, यो कुरामा मैले ठ्याक्कै निर्णय गर्न सकिरहेको छैन । तर मेरो अन्तरआत्माले समय समयमा भन्ने गर्छ दोस्रो विकल्प नै ठिक छ । यहि प्रकृतिको दुःख र पिडामा तिमीले अरुलाई कसरी सम्झाउँथ्यौ, कसरी बुझाउँथ्यौं, कसरी मानिसहरुको मन बुझ्ने गरी सान्त्वना दिन्थ्यौं, मलाई स्पष्टसँग याद छ । त्यसकारण पनि सायद दोस्रो विकल्प नै उत्तम होला । यदि तिम्रो आवाज म सम्म आईपुग्ने भएको भए सायद तिमी पनि यहि भनिरहेको हुन्थ्यौ होलाः दोस्रो विकल्प नै ठिक छ ।
तिम्रो लागि म कत्तिको महत्वपूर्ण थिएँ ? तिम्रो जीवनमा मेरो उपस्थितिले के अर्थ राख्यो, कति अर्थ राख्यो त्यसको उत्तर तिमीलाई मात्र थाहा छ । म अहिले नै ति कुराहरुको अनुमान लगाउन सक्दिन । मेरो लागि त्यो समय आउन बाँकी नै छ । तर मेरो लागि तिमी कत्तिको महत्वपूर्ण थियौं, मेरो जिवनमा तिम्रो उपस्थितिले के अर्थ राख्थ्यो कत्ति अर्थ राख्थ्यो म राम्रोसँग महशुस गर्न सक्छु । आजको दिनमा अझ बढि महशुस गर्न सक्छु । भगवानले छैटिको दिनमा कोरीदिएको मेरो भाग्यमा र पहिल्यै निर्धारित गरेको जीवनमा ३० औं वसन्त पार गर्दै गर्दा अब जीवनमा कति वसन्तहरु बाँकी छन् थाहा छैन । भोलिको दिनमा मेरो भाग्यरेखाहरु कस्ता छन् थाहा छैन । जीन्दगीको यो यात्रामा अझै कति प्रिय साथीहरु छुट्न बाँकी नै होलान् । कैयौं नयाँ साथीहरु जोडिन बाँकी नै
होलान् । तर म एकिनका साथ भन्नसक्छु भगवानले मलाई दिएको सुन्दर उपहारहरु मध्ये तिमी सर्वोत्कृष्ट हौ । किनभने तिमी मेरो सबैभन्दा प्रिय र आत्मिय साथी थियौं । यदि मैले यो जीवनमा अझ अरु सयौं वसन्तहरु पार गरें भनेपनि तिमी जस्तो साथी कोहि पनि पाउने छैन, कहिल्यै पनि पाउने छैन, त्यति कुरा मलाई राम्रोसँग थाहा छ ।
यो समाजले तिम्रो र मेरो सम्बन्धलाई अर्कै नाम दिएको छ । अक्सर मानिसहरु समाजले दिएको नामकै वरिपरि रहेर सम्बन्ध गुजार्छन् र त्यहि सम्बन्धकै वरिपरि रहेर र जीवन गुजार्छन् । यहि समाजले स्थापित गरिदिएको सम्बन्धको आधारमै मान र सम्मान खोज्छन् । समाजले कुरा नकाटोस् भन्नकै लागि भएपनि सम्बन्धकै परिधिभित्र रहेर खुशी होउन् भन्ने चाहन्छन् । तर तिमी सदैब त्यो परिधिभन्दा माथि रह्यौ । मलाई पनि सम्बन्धको परिधिभन्दा माथि रहन सिकायौ । सायद मैले सिक्न सकिन होला, जानिन होला । सिक्दा सिक्दै म कति पल्ट थाके हँुला तर तिमी सिकाएर कहिल्यै थाकेनौं । समाजमा स्थापित तिम्रो र मेरो सम्बन्ध भन्दा माथि रहन तिमीले मलाई हमेशा छुट
दियौं । हमेशा साथ दियौं । यो समाजले त मैले तिमीलाई सम्बोधन पनि ‘तिमी’ भनेर गर्नुहुँदैन भन्छ । समाजको मूल्य मान्यता र परम्पराको सिद्धान्तमा मैले तिमीलाई ‘तिमी’ भनेर सम्बोधन गर्नु गलत होला तर तिमीबाट मलाई त्यो गल्ति गर्ने छुट थियो । मेरो यो गल्तिमा तिमीबाट कहिल्यै पनि चित्त दुखाई भएन । भएको यदि भएपनि मलाई कहिल्यै महशुस हुन दिएनौ । समाजमा स्थापित हाम्रो सम्बन्धमा तिमी मेरो लागि एक आदरणीय, पुज्यनीय व्यक्ति हौं । तर हामी दूईको मात्र कुरा गर्ने हो भने तिमी मेरो लागि आदरणीय र पुज्यनीय भईकन त्यो भन्दा पनि माथि एउटा आत्मिय मित्र हौ साथी हौ जसको अब सम्झनाहरु मात्र मसँग बाँकी छ । हो बाबा, तिमी मेरो पुज्य पिता मात्र होइन एउटा साथी पनि थियौ, आत्मिय
साथी ।
प्रिय साथी तिमीसँगका हरेक सम्झनाहरु मेरो मानसपटलमा ताजा छन् र सदैब रहिरहनेछन् । चाहे त्यो बालपनमा तिम्रो काँधमा चढेर घुम्दाको क्षण होस् या जवान भएपछि तिमीले मेरो काँधमा हात राखेको क्षण होस् । मलाई अझै पनि सम्झना छ सानोमा मैले गल्ति गरेर आमाले अलि चर्को वचन गर्दा कसरी तिमीले मेरो आङ ढाक्थ्यौं । कसरी माया गरेर ‘यस्तो गर्नुहुन्न नि’ भन्थ्यौ । भूल्न सक्दिन म, कसरी म तन्नेरी हुँदै गर्दाको अवस्थामा तिमीले सहजीकरण गरिदिएको थियौं । अधिकांश त बुबा भनेपछि छोराहरु गरुडको छायाँ परेको सर्पजस्तो हुने समाजमा कसरी तिमीले मेरो लागि सहज वातावरण बनाइदिएको थियौ, कसरी बु्बा छोराको सम्बन्धलाई थाहै नपाई नपाई एउटा साथीको सम्बन्धमा बदलिदियौ, कसरी तिमीले मेरो लागि आफ्नो सुखको एक एक कुराहरु त्यागिदियौ, कसरी आफु जलेर मैनबत्तिले अरुलाई उज्यालो दियौ, सबै याद छ मेरो प्यारो साथी । म कहिले पनि भूल्न सक्दिन ।
सानै छँदा अरुका बुबाहरुले नयाँ, राम्रो लुगा लाएको देख्दा मेरो बाबाले किन सधै उहि र पुरानो कपडा लगाएको होला भन्ने पनि
लाग्थ्यो । ठूलो भएपछि थाहा पाएँ, घर खर्च गरेर बचेको तिम्रो कमाईले भाई र मलाई नयाँ लुगा किन्न मात्र पनि बडो मुस्किलले पुग्दो रहेछ, बिचरा मेरो साथीले कसरी लगाओस् नयाँ कपडा । म किशोर अवस्थाको स्कुले विद्यार्थी हुँदै गर्दा राम्रो लाउन मन लाग्ने उमेर नै यहि त हो छोराहरुलाई किनिदिनुपर्छ भनेर हामीलाई किनिदिएको तर आफुलाई तीन तीन वर्षसम्म पनि एउटै कपडा नकिनेको मलाई अझै पनि याद छ । त्यतिखेर त सायद हाम्रो आर्थिक अवस्था राम्रै थियो तर कपडामा अनावश्यक खर्च गर्नु राम्रो होइन भन्ने तिम्रो बुझाई बुझ्न मलाई अलिक नै समय लाग्यो । बचपन र तरुण अवस्थामा घटेका यस्ता कयौं किस्साहरु छन् जसको मर्म र तिमीले मलाई दिन चाहेको सन्देशहरु म आज महशुस गर्दै छु ।
०७१ साल भदौको १३ गते, त्यस दिन खुशीले उज्यालिएको तिम्रो अनुहार सधै मेरो आँखामा नाचिरहन्छ । हो त्यस दिन मैले शिक्षक सेवा आयोगबाट परीक्षा पास गरी प्रा.वि. तहको स्थायी शिक्षकको नियुक्ति पत्र लिएको दिन । कति रमाएको थियौ साथी तिमी, कति खुशीले भन्दै थियौ अरुसँग अब त बाऊ अस्थायी मास्टर छोरा स्थायी मास्टर । छोराले कमाई गरेन, छोराले घर खर्चमा सघाएन भनेर छोराको कमाई पर्खिरहने बुबाहरुको बीचमा तिमी अपवाद थियौ । जसले स्थायी जागिर खाएको आफ्नो छोरालाई सहजै भनेको थियौ, भोलि म पछि जिम्मेवारी आउने तिम्रै काँधमा हो आफ्नो कमाईलाई अलिक समय रमाउन खर्च । छोराको कमाईको प्रत्येक अंशमा आफ्नो हिस्सा हुन्छ भन्ने सम्झने बुबाहरुको माझमा तिमी नितान्त अपबाद थियौ साथी । यो मानेमा पनि म भाग्यमानी हुँ ।
आफु १७, १८ वर्षको लोर्के ठिटो हुँदाको कोट लगाउने अधुरो सपना मलाई १७, १८ वर्षको उमेरमा कोट सिलाईदिएर पुरा गर्यौ । आफ्नो अधुरो चाहना र अतृप्त सपनाहरु म मार्फत् पुरा गर्ने तिमीले कहिल्यै पनि मलाई तिमी यस्तो बन्नुपर्छ, त्यस्तो बन्नुपर्छ भनेर थिचोमिचो
गरेनौं । आफुले दिएर पुरा गर्न मिल्ने सपनाहरु पुरा गर्यौ तर आफ्नो सपनाहरु म माथि लादेनौ । तिम्रो यो महानतम् सोचको म सदैब ऋणि छु
साथी ।
प्यारो साथी तिम्रो समकक्षी र सहपाठीहरु आजपनि तिम्रो बारेमा कुरा गर्छन् । ती कुराहरुमा तिम्रो बारेमा कहिँकतै पनि कहिल्यैं पनि नकरात्मकता सुनिएन । प्राय सबैले तिम्रो गुणगान गाएकै सुन्छु । तिमीले आफ्नो साथीहरु समक्ष प्रस्तुत गरेको विचारहरु सुन्छु । कति त तिमी आफैले पनि मलाई सुनाएका थियौ । ती सबै कुरा सुन्दा लाग्छ ती सायद समय भन्दा अगावै पो जन्मिएछौ
कि ?
२६ वर्षसम्म पितृ छायाँमा रमाउँदै गर्दा तिमीले सदैब मलाई दियौ मात्र । कहिल्यै मागेनौं । आफ्नो जीवनको अन्तिम अन्तिम समयमा एउटै कुरा मागेको थियौ त्यो पनि मैले पु¥याउन सकिन । साथी तिम्रो नजरमा म बुबाको अन्तिम ईच्छा पनि पूरा गर्न नसक्ने लाचार निकम्मा छोरा बन्न पुगेँ या प्रेमिकाको अप्ठेरोलाई बुझ्न सक्ने समझदार प्रेमी बनेँ यो प्रश्नको उत्तर त तिमीसँगै
गयो । र पनि साथी यदि तिमी मलाई कहिँ कतैबाट देखिरहेका छौं भने तिम्रो बुहारी बनेर उनै आएकी छन् जसको चर्चा म तिमीसँग गरिरहन्थें ।
प्यारो साथी भौतिक रुपमा अब हामीसँगै छैनौं । तर यादहरु सधैं ताजा रहिरहनेछन् । यो समाजले, सामाजिक परम्पराले तिमि भौतिक रुपमा नहुँदा मैले पुरा गर्नुपर्ने दायित्व जिम्मेवारीहरु छुट्याईदिएको छ । मेरो सामथ्र्यले भ्याएसम्म र जाने बुझे सम्म पुरा गर्ने प्रयास गर्दैछु । मेरो यो प्रयास तिमिसम्म पुग्छ कि पुग्दैन त्यो पनि मलाई थाहा त छैन । यद्यपी गरीरहेको छु ।
प्यारो साथी बुबाको रुपमा तिमी प्रतिको कर्मकाण्ड पूरा गर्ने मेरो जिम्मेवारी र दायित्व प्रति म सचेतै छु । सकेको गर्नेछु । कहिलेकसो भूलचुक भए स्वर्गबाटै
माफिदिनु । साथीको रुपमा तिम्रो स्मृति मेरो मानसपटलबाट कहिल्यैं हराउने छैन । भगवानसँग एउटा गुनासो
भने सधैं हुनेछ । काम हाम्रो मित्रताको समय अल्लि लामो भएको भए ।
कुशेऔसीःप्यारो साथीको सम्झना
previous post