लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अघिल्लोदिन गत मंगलबार एक महिलाले कार्यक्षेत्रमा हुने यौन जन्य हिंसा सहन नसकेर काम छोडेको व्याथा सुनाइन । निर्माण क्षेत्रमा श्रमिकको रुपमा कार्यरत उनको कथन थियो, नाईके र अन्य श्रमिकको यौन हिंसा जन्य क्रियाकलाप सहन नसकेर काम नै छोडिदिएँ ।
उनी जोसंग जिन्दगी बिताउँला भनेर जन्मघर छोडेर आएकी थिइन, उ रोजगारीको क्रममा विदेश गयो र उतै भुल्यो । वर्षाैं भयो आएको छैन । पैसा पठाउने त कुरै छैन,आजकल फोन सम्पर्र्क पनि छैन । फोन गर्दा उठाउँदैन । उठाइहाले पनि एक दुइ शब्द बोलेर काट्छ । दुइ छोरा छोरी छन् । तिनीहरुको पालन–पोषण, शिक्षा–दीक्षा,स्वस्थ्य लगाएतको सम्पूर्ण जिम्मा उनैलाई छ । अरु काम गरौं, हातमा अन्य सिप छैन । जुन कामका लागि सिप छ, त्यो काम गर्ने वातावरण छैन । छोरा छोरीलाई मुखमा लगाउने माड कहाँबाट जुटाउने, लुगाफाटो केले किन्ने अनि विद्यालय पठाउने कसरी र विरामी पर्दा उपचार के ले गर्ने भन्ने चिन्ताले काम छाड्ने निर्णय गरेसंगै सताउन थालेको छ । यस्तै कुराले डिप्रेसनमा जान्छु कि भन्ने डर लागेको छ रे उनलाई ।
यी त एउटा प्रतिनिधि पात्र मात्र हुन, कार्यक्षेत्रमा यौन हिंसा सहने वा सहन नसके काम छाडेर हिड्ने महिलाका । काम छोड्ने त हो तर भोलीबाट सांझ विहान हातमुख केले जोड्ने ? यस्ता समस्या भोग्ने धेरै महिला छन् । अरु उपाय नभए पछि भोकै मर्नु भन्दा हिंसा हुन्छ भन्ने जान्दा जान्दै पनि सोही काममा फर्कन बाध्य भएका महिला पनि हामीकहाँ प्रसस्त छन् ।
त्यसैले लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गरिरहँदा सरोकारवाला निकायहरुले यस्ता विषयमा ध्यान दिनु जरुरी छ । कार्यक्षेत्रमा हुने यौनजन्य हिंसाका कारण काम छोड्नु पर्ने र गास वास अनि कपास प्राप्तीको बाटो नै बन्द हुने अवस्था आउन नदिन हामी सबै सचेत हुनु आवश्यक छ । यस प्रकारको हिंसा रोक्न सक्दामात्र पनि महिलाको आर्थिक र सामाजिक अवस्थामा आमुल परिवर्तन आउँछ । आधा आकाश ओगटेका महिलाको अवस्थामा सकारात्मक परिवर्तन विना सभ्य र समृद्ध समाजको परिकल्पना सम्भव छैन । सबैको यतातर्फ ध्यान जाओस् । यो वर्षको अभियानले सभ्य समाज निर्माणमा सघाउ पु¥याओस । हाम्रो कामना ।