भनिन्छ जीवनमा प्रगति गर्नु छ भने आफू भन्दा माथिकोलाई हेर्नु पर्दछ, चित्त बुझाउनु छ भने आफू भन्दा तलकोलाई हेर्नु पर्दछ । मेरो पनि विद्यालयतह, क्याम्पसतहका सहपाठीहरु कोही म भन्दा माथिल्लो तहमा छन्, सम्पन्न छन्, कोही म भन्दा पनि नाजुक अवस्थामा छन् । कोही उस्तै उस्तै अवस्थामा पनि छन् । आर्थिक दृष्टिकोणले तुलना गर्दा नढाँटी भन्नु पर्दा चाही आफू भन्दा सम्पन्नलाई हेरेर प्रगति गर्ने सोँच राख्नु भन्दा ज्यादा आफू भन्दा नाजुक अवस्थाकालाई हेरेर, खुशी हुने, चित्त बुझाउने काम नै धेरै भएको छ । यसको अर्थ अहिले म जहाँ जुन अवस्थामा छु, जुन पेशामा सम्लग्न छु, त्यसबाट सन्तुष्ट छैन भन्ने चाही पक्कै होइन । सन्तुष्ट छु । पूर्ण रुपमै सन्तुष्ट तर कहिले काही एक अर्कालाई दाजेर हेर्दा संगैको सहपाठीहरुले अधिक रुपमा प्रगति गरेको देख्दा खुशी संगै थोरै इष्र्या पनि लाग्दो रहेछ । सायद यो मानवीय स्वभाव नै
होला । मेरा सहपाठीहरु, ठ्याक्कै भन्दा व्याजीहरु कोही गाउँघरतिरै कृषी कर्ममा रमाई रहेका छन्, कोही वैदेशिक रोजगारीमा छन्, केही व्यापार व्यवसायमा जमेका छन् । कोही सरकारी सेवातिर रमेका छन् । मैले यो आलेखमा उल्लेख गर्न लागेको कथा चाही मेरो एकजना सहपाठीको हो । जो पेशाले इन्जिनियर छन् । हामी पनि भेटघाट हुँदा उसलाई मलाई मास्टर साप भनि बोलाउँछ । म पनि उसलाई इन्जिनियर साप भनेर बोलाउने गर्दछु । उसले मेरो पेशाको पछाडि जोडिदिएको साप विशेषण मेरो लागि सुहाउँदो छ या छैन त्यो त मलाई थाहा भएन तर मैले उनको पेशाको पछाडि जोडिदिएको साप विशेषण चाहि उनको प्रगति हेरी भन्न सुहाउँदो छ । कमसेकम मलाई चाही त्यही लाग्छ ।
एउटा कक्षामा सबै विद्यार्थीहरु एकैनासको हुँदैनन् । रुची क्षमताका हिसाबले सबै फरक फरक र आफैमा विशेष हुन्छन् । विद्यालयमा हुँदा हाम्रो कक्षा पनि त्यस्तै थियो । सबै साथीहरुको फरक फरक क्षमता अनि फरक फरक रुची । त्यो मध्ये हाम्रो केही साथीहरु थियौं जो पढाईको हिसाबले अरु भन्दा अब्बलमा गनिन्थ्यौं । जान्ने विद्यार्थी भन्ने गरिन्छ नि त्यस्तै भनौं । अहिले त एसइइ भयो, हाम्रो पालामा चाही एस एल सी नै थियो । एस एल सी सकिएपछि सबै साथीहरु आ–आफ्नो रुची अनुसार, पहूँच अनुसार क्याम्पस भर्ना भयौं । म आफूलाई चाही अंग्रेजी तर्फ मोह भएको कारण शिक्षा संकायमा अंग्रेजी लिएर पढ्ने निधो गरें । मैले यहाँ जिकिर गरेको मेरो साथीले विज्ञान पढ्ने भयो । त्यसपछि हामी लगभग हामी आ–आफ्नै बाटोमा भयौं । धेरै बर्षसम्म भेटघाट हुने मौका पनि परेन । फोनमा, फेसबुकमा गफगाफ भएपनि प्रत्यक्ष भेटचाही सात आठ बर्षजति नै भएन ।
मैले तीन बर्षे स्नातक सके लगत्तै सरकारी सेवामा नाम निकालें । प्रा.वि. तृतिय तहको स्थायी शिक्षकको रुपमा नियुक्त भएँ । २०७१ स ाल भदौंको १५ गते मैले पहिलो पटक सरकारी जागिरेको रुपमा विद्यालयमा हाजिर गरेको हूँ । आजको मितिले हिसाब गर्ने हो भने पनि सरकारको नुन पानी खान थालेको करिब आठ बर्ष पुग्न लागेछ । मेरो त्यो साथी त्यतिबेलासम्म पनि कमाउने हिसाबले कहि कतै लागेको थिएन । पढाईमै व्यस्त थियो । कहिले काही गफ हुँदा त बरु कमाउने भैसकिस् यार, सरकारी जागिरमा नाम निकालिस् भन्ने गर्दथ्यो । म आफू पनि फुरुङ्ग भैदिन्थे । साथीहरुको कुरा सुन्दा रमाईलो पनि लाग्थ्यो त्यतिबेला । तर अहिले त्यही क्षणलाई फर्केर सम्झदा आफैलाई देखि हाँसो उठ्छ । त्यतिबेला साथीभाईको कुरा सुनेर गमक्क परेको सम्झदा आज आएर लाज पनि लाग्छ । किनभने हिजो मलाई तैले बरु कमाउन थालिस्, भन्ने साथीलाई मैले आज छुन नसक्ने भैसकेको रहेछ ।
मैले स्थायी सेवा शुरु गरेको दुई बर्षजति पछि त्यो साथीले पनि आफ्नो इन्जिनियरिङको पढाई सकाएर काम गर्न थालेछ । मैले पनि फोनबाटै बधाई दिएँ । पछि गफगाफ हुँदा म कहिले काही सोधि दिन्थें । कति हुन्छ त नि इन्जिनियर सापको कमाई । उ हासै हासोमा भन्थ्यो । के कमाई हुनु यार, इन्नियर भनेर भन्ने मात्र हो । दुःख धेरै हुन्छ । कमाई खास छैन । नाम मात्रै हो । कमाई त उही तिमीहरुको जति नै हो । दुईचार हजार तलमाथि होला । अर्थात उसको भनाई अनुसार त्यतिबेला करिब पाँच बर्षजति पहिले मासिक २२÷२५ हजार जति कमाई हुन्थ्यो । त्यसको दुईतिन बर्ष त्यति राम्रोसंग गफ हुने मौका जुरेन, त्यो साथीसंग । पछि जब भेट भयो, अनि म छक्क परें ।
जागिर खान थालेको छ सात बर्षमै साथीले त घर बनाउन थालेको रहेछ । चितवनतिर घडेरी जोड्न पनि भ्याई सकेछ । बहिनीको विहेवारी पनि आफ्नै कमाईले गरिदिएको रहेछ । तर अझै पनि उ भन्दै थियो नाम मात्रै हो यार । दाम छैन । मैले साथिले भन्दा तीन बर्ष पहिलेदेखि जागिर खाएको । साथीकै भनाईमा उसको मेरो मासिक आम्दानी लगभग उस्तै उस्तै हो । मलाई आजसम्म पनि दुई पैसा बचत गर्न हम्मे हम्मे छ । चार महिनामा एक पटक आउने तलब हप्ता दिन भन्दा ज्यादा खातामा बस्न पाउँदैन । नुन तेल र सरसापट तिर्दैमा सकिन्छ । तर मैले भन्दा पछि कमाउन थालेको साथीको त्यत्रो प्रगति छ । जब कि उसको र मेरो आम्दानी उस्तै उस्तै हो भने उसैले भन्छ । साथीले घर बनाउन थालेछ । आफू बुवाले बनाई दिएको घर मर्मतसम्म गर्न सकेको छैन । साथीले घडेरी किनेछ । आफ्नो पुख्र्यौली घडेरी पनि बेच्नु पर्ने हो कि जस्तो अवस्था छ । साथिको प्रगति देखेर हल्का इष्र्या लागेपनि थोरै त खुशी नै लाग्थ्यो तर एउटा प्रश्नले चाही कत्ति पनि शान्त रहन दिएन । प्रश्न हजम नै भएन । आखिर यो सब सम्भव कसरी छ ?
पाँच बर्षमा उसको भनाई अनुसार उसले बढीमा २०÷२२ लाख कमाएको होला । खर्च त उसको पनि हुन्छ । व्यक्तिगत खर्च । पारिवारिक खर्च । यी सबै खर्च कटाएर बचत कति भएको होला । १२ लाख १५ लाख ? अनि १२÷१५ लाखमा चितवनमा घडेरी जोड्न, घर बनाउन, बहिनीको विहेवारी गरिदिन सम्भव छ ? यदि छैन भने उसले कसरी सक्यो ? ऋण पनि छैन फेरी । उसको त्यति धेरै प्रगतिको आयस्रोत हो चाहि
के ? महिनाको २५÷३० कमाउने मानिसलाई पाँच बर्षमा त्यति धेरै प्रगति गर्न सहजै सम्भव छ त ? मेरो सोझो हिसाबले त नहुनु
पर्ने । तर आफ्नै आँखाले सबै देखियो । कस्तो अचम्म ।
मैले प्रारम्भमै भने, म आफ्नो पेशासंग सन्तुष्ट छु । तर साथीको अविश्वसनिय प्रगति देखिपछि कहिले काही चाहि मास्टरसाप नबनेर इन्जिनियर साप पो बन्नु पर्ने रहेछ जस्तो पनि लाग्छ । त्यो साथीसंग हिजआज पनि गफ गाफ हुन्छ, सम्बन्ध राम्रै छ । अचेल पनि म कहिले काही सोधि दिन्छु– अनि इन्जिनियर साप के छ त खबर ? कस्तो छ
कमाई ? आज पनि ऊ उसैगरी हाँसेर भनिदिन्छ– के कमाई हुनु यार, इन्जिनियर भनेर नाम मात्रै हो, दाम त छैन ।