पश्चिमा राष्ट्रको विकासले द्रुतगति लिनुमा उत्पादनका साधन स्रोतको परिचालन मात्र नभइ विकासन्मुख राष्ट्र नेपालजस्ता देशहरु बिच हुने असमान विनिमय सम्बन्ध पनि एक हो । विकसित राष्ट्रहरुले राजनैतिक, आर्थिक, सामाजिक प्रक्रियाको माध्यमबाट संसारका निर्धन र गरिबीको अवस्थामा रहेका जनताहरुलाई कंगालीकरणको दिशातर्फ खेदिरहेका छन् । गरिब राष्ट्रका भोका जनतालाई भातको माड देखाएर आफ्नो इसारामा चलाएका छन् । नेपाल आर्थिक, राजनैतिक, सामाजिक रुपले परनिर्भर राष्ट्र बन्दै गएको छ । एकातर्फ राष्ट्रको स्रोत र साधनको परिचालन हुन सकेको छैन । अर्कोतर्फ बिदेशबाट आएको सहयोग धनाढ्य र बुर्जुवा नेताको खल्तीमा खसालिएका छन् । देशमा युवा बेरोजगारीको दर बढिरहेको छ । स्थानिय उत्पादन र उद्योगधन्दा लोप हुँदै गएका छन् । विदेशी सहयोग र अनुदान माग्ने भाँडो बन्न पुगेको छ । विदेशी राष्ट्रहरुले सहयोगको बहानामा दक्ष प्राविधिक सल्लाहकार, सभा, सेमिनार, प्राडो, अन्तराष्ट्रिय गुणस्तर, प्रविधि, यन्त्रको नाममा फिर्ता लैजान्छन् । नेपालजस्ता देशमा बैदेशिक सहयोग भनेको माझीले बल्छीमा चारो थापेर स्वच्छ पोखरीमा स्वस्फुर्त रुपमा जीवन विताइरहेका माछाहरुलाई सधैंभरि नियन्त्रणमा लिनु जस्तै हो ।
नेपालमा राजनैतिक आन्दोलन शुरु गर्ने र रोक्ने प्रक्रियाको इसारा विदेशी राष्ट्रहरुको हातमा रहेको छ । नेपाललाई आत्मनिर्भर भन्दा पनि परनिर्भर बनाउनको लागि केन्द्रित रहेको छ । नेपाल आजको अवस्थामा आइपुग्दा सम्म धनि, विकसित, सक्षम, आत्मनिर्भर मुलुक हुनको सट्टा गरिब, अल्पविकसित, परनिर्भर असक्षम, अस्थीरदिशातर्फ लम्कीरहेको छ । नेपाली राजनितिज्ञको दुरदर्शिता र भिजन नभएको कारण नौजवान युवाहरु विदेश पलायन हुन बाध्य भैरहेका छन् । नेपाल परनिर्भरताको चक्रव्युहमा फसेको छ । यसरी नै आर्थिक परनिर्भर बन्दै जाने हो भने आगामी एक वा दुईदशकमा आर्थिक, सामाजिक, राजनैतिक पक्षघात (Paralysis) को डरलाग्दो रोग लाग्ने छ । जसको उपचार हाम्रा अर्थशास्त्रीहरु गर्न सक्ने छैनन् । तसर्थ वर्तमान सरकारले विकासका कार्यक्रम सञ्चालन गर्दा माथिबाट तल झर्ने प्रवृति भन्दा तलबाट माथी जाने रणनिति अवलम्बन गर्नु पर्दछ । बर्तमान अर्थमन्त्री ज्यूले निर्यातमुखी औद्योगिकिकरण र आर्थिक विविधिकरणको अर्थ निति तर्जुमा गरि सक्रियतापूर्वक अगाडि बढाउनु अत्यावश्यक हुन्छ । किनकी यसले बेरोजगारी कम गराउँदछ । धनि र गरिब बिचको असमानतालाई सन्तुलन ल्याउँदछ र विकेन्द्रीकरणको मर्मलाई आत्मसात गर्दछ ।
विदेशमाथिको अत्याधिक निर्भरताले नेपालको अर्थतन्त्र अपाङ्ग हुन पुगेको छ । नेपालमा परनिर्भरताको सिद्धान्त पूर्णरुपले अभ्यास गरिएको छ । जुन दुर्भाग्यपूर्ण अवस्था हो । अयोग्य राजनितिज्ञले बनाएका अर्थमन्त्री ज्यू नेपालको गरिबिलाई निवारण गर्ने योजना बनाउन सकेका छैनन् । जनताको जीवनस्तरमा सुधार आउने र आर्थिक सम्वृद्धिलाई सम्बोधन गर्ने संकेत समेत देखिएको छैन । राज्यको सम्पूर्ण आर्थिक स्रोत अभिजात राजनितिज्ञले कुम्ल्याउन सफल भएका छन् । धनि व्यक्ति दिन प्रतिदिन आकाशिदै छन् । कामदार, ग्रामिण गरिब, दुरदराजमा बस्ने दिनहिन, विपन्नवर्गको जीवन अन्धकारमय बन्दै गएको छ । अन्तराष्ट्रिय आतंकबादको कालो छायाँले नेपाली जनतालाई तर्साउँदै लगेको छ । ग्रामिण गरिबी, बेरोजगारी, दण्डहिनता, भ्रष्टाचार, कुशासन, बलात्कार, नेपाली जनताका लागि उपहार, भएका छन् ।
के यहि हो त बामगठबन्धन सरकारको सुखी नेपाली, सम्बृद्ध नेपालको विकासको मोडेल ? जनता निरिह बनेर मुकदर्शक भएका छन् । बर्तमान समयमा हाम्रो अर्थव्यवस्थामा आर्थिक आतंकबाद (Economic terrorism) को अवधारणा लागु भएको छ । राज्यको अधिकांस आर्थिक स्रोत तलब भत्ताको नाममा निर्वाचित प्रतिनिधिको खल्तीमा खसालिएको छ । उखान टुक्का फुलाक्ने, कुम हल्लाए्र चर्को शब्दमा भाषण गर्ने जेटको पाइलट नामधारी व्यक्तिले विकासको उडान हैन, बर्बादीको उडान भर्न कोशिस गर्दै हुनुहुन्छ । यो जनताको आवाज हो । तसर्थ समयमै आफ्ना कमिकमजोरीलाई सच्याइ सुरक्षीत अवतरणको उडान भर्नुहोस् ल । ग्रामिण दुरदराजमा बस्ने गरिब जनता र बोद्धिकवर्ग सुधारको अपेक्षामा पर्खिरहेका छन् ।