
पृष्ठभूमिः
अपराध पीडक र पीडित दुवै समाजकै बासिन्दा हुन् । अपराध हुनबाट समाज र राष्ट्रलाई बचाउन राज्यले कानुन बनाउछ । कानुन बमोजिम नागरिक र समाजको सुरक्षाको लागि प्रहरीको समेत व्यवस्था गरेको छ । नागरिक र प्रहरीले इमानदारीपूर्वक आफ्नो कर्तब्य निर्वाह गर्ने हो भने समाज अपराध विहिन अवस्थाको कल्पना गर्न सकिन्छ ।
कानुनः
कानुनको अनभिज्ञता क्षम्य हुँदैन भन्ने कानुनको सर्वमान्य सिद्धान्त हो । मलाई कानुन थाहा थिएन भनेर उन्मुक्ति पाइदैन । त्यसैले आफुले गरेका हरेक कामसंग सम्बद्ध कानुनको बारेमा आमनागरिक जानकार हुनुपर्दछ । पढेर, जानकार व्यक्तिहरुलाई सोधेर, खोजेर पनि कानुनको बारेमा जानकारी लिन सकिन्छ । आफ्नो कामसंग सम्बद्ध कानुन जानकारीमा हुनुपर्दछ ।
नागरिक कर्तब्यः
कानुनको पालना गर्नु प्रत्येक नागरिकको कर्तब्य हुन्छ । संविधान, ऐन, नियम, निर्देशिका, कार्यविधि सबैले प्रत्येक नागरिकबाट आफ्नो कर्तब्यको पालना हुन्छ भनेर कल्पना गर्दछ ।
नागरिक दाइत्वः
प्रत्येक नागरिकले आफ्नो गाउँटोलमा असामाजिक कार्य हुन लागेमा, समाजको शान्ति, सुव्यवस्था, अमनचइन, विरुद्ध कसैले काम गर्न लागेको थाहा पाएमा त्यसको सूचना नेपाल सरकार अन्तरगत शान्तिसुरक्षाको जिम्मेवारी बोेकेको नेपाल प्रहरीको सबभन्दा नजिकको इकाईमा जानकारी गराउनु पर्दछ । यो जानकारी मौखिक, लिखित, इमेल, टेलिफोन समेतबाट गर्न पाउने कानुनी व्यवस्था छ ।
नेपाल प्रहरीको कर्तब्यः
नागरिकस्तरबाट आएका जाहेरी दरखास्त वा सूचनालाई नेपाल प्रहरीले दर्ता गरी त्यसको भरपाई दिनुपर्ने कानुनी व्यवस्था छ । तर सबै सूचना प्रहरीले दर्ता गर्नेपर्ने बाद्यता नभएको आधारका रुपमा प्रहरीले दर्ता नगरेमा सरकारी वकिलको कार्यालयमा जाहेरी दिन सकिने, त्यहाँ पनि दर्ता नभएमा प्रमुख जिल्ला अधिकारी समक्ष दिन सकिने व्यवस्थालाई लिनुपर्दछ ।
प्रमाण लोप हुन नदिनेः
जाहेरी प्राप्त भएपछि प्रहरीले प्रमाण लोप हुन नदिनका लागि सबै प्रयास गर्नुपर्ने व्यवस्था छ । साथै अरोपित व्यक्ति भाग्न उम्कन नपाउने व्यवस्था गर्नुपर्दछ । अपराधसंग सम्बद्ध दशी प्रमाण प्रहरीले कब्जामा लिन पाउने व्यवस्था छ । यस्ता दशीप्रमाण अभियोग पत्र साथ पेश गर्नुपर्दछ । अभियोग साथ पेश नभएका दशी सामान अभियुक्तका आफन्त मार्फत फिर्ता दिनुपर्दछ ।
देखेजानेको कुराको साक्षीः
आमनागरिकले अपराधका सम्बन्धमा आफूले देखेजानेका कुराको साक्षी वकपत्र गरिदिनु पर्दछ । अपराधको प्रमाण भनेको दशीका सामान वाहेक साक्षी पनि हो ।
निष्कर्षः
कानुनको उल्लंघन सर्वसाधारणले गर्दा भन्दा कठिन पहुँच भएका व्यक्तिहरु गर्दा कानुनको दायरामा ल्याउन कठिन हुन्छ । त्यसैले अनुसन्धान गर्ने प्रहरीले आमनागरिकबाट जस पाउँदैन । माथिको आदेश पालना गर्नुपर्ने प्रहरीले जनअपेक्षा अनुसार काम गर्न नपाउँदा ‘सानालाई ऐन ठूला चइन’ जिवन्त बनेको छ ।