यो समय भनेको विद्यार्थीहरु परिपक्व भएको समय हैन बरु परिपक्व हुन र जिम्मेबार बन्न सिक्ने उमेर हो भन्ने महसुस गराउनु आवश्यक छ । अनि SEE को नतिजा आफैमा सबैभन्दा ठूलो उपलब्धी नभएर धेरै ठूला उपलब्धीहरु हासिल मार्ग प्रसस्त गर्ने सुनौलो ढोका हो भन्ने महसुस गराउनु आवश्यक छ ।
भर्खरै मात्र SEE परीक्षा २०७५ को नतिजा सार्वजनिक भएको छ । यो नतिजाले कयौं विद्यार्थीहरुमा नयाँ उत्साह उमंग थपेको छ भने आशातित नतिजा नआउने भाइबहिनीहरुमा पनि ग्रेड बृद्धिका लागि तयारीमा जुट्न थालिसकेको छन् । साथै सुरु भइसकको छ, कक्षा ११ मा विद्याथीै भर्ना गराउने क्याम्पसरुको प्रचारप्रसार र होडबाजी । रङ्गिने छन् अब पत्रिकाका पानाहरु क्याम्पसका विज्ञापनहरुले । अभिभावकहरुले पनि ( खासगरी मध्यम र निम्नवर्गिय ) आफूले एक तहको जिम्मेबारी पूरा गरेको महसुस गरेका छन् । तर के वास्तवमै हाम्रो जिम्मेवारी पूरा भएको हो वा थपिएको हो ? विद्यार्थी भाइबहिनीहरुलाई अबको दिनमा सही मागमा हिड्नको लागी के हामीले पर्याप्त गृहकार्य गरेका छौं ? यो अवस्थामा उनीहरु कस्तो मनस्थितिबाट गुज्रिरहेका हुन्छन् ? यसतर्फ हाम्रो ध्यान पुगेको छ कि छैन ? यो आलेखलाई मैले यही SEE परीक्षा पूरा गरेर ११ कक्षा भर्ना हुन तयार विद्यार्थीको मनस्थिति र हाम्रो जिम्मेवारीको वरिपरी केन्द्रित गर्ने जमर्काे गरेको छु ।
२०७५ को SEE परीक्षामा पनि विगतका वर्षहरुमा जस्तै लाखौं विद्यार्थीहरुले आफुलाई कक्षा ११ मा पढ्न सक्षम सावित गरेका छन् । विगतमा जस्तै धेरै विद्यार्थीहरु अब आफु कुन विषय लिएर अगाडि बढ्ने भन्ने कुरालाई लिएर अन्योलमा छन् । ठूला सहरहरुमा यस्ता विषयलाई लिएर परामर्शका कार्यक्रमहरु पनि सञ्चालन हुन्छन् तर त्यो सबैको पहूँचमा नहुन सक्छ । त्यसैले सम्बन्धित विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई परामर्श प्रदान गर्नु अति जरुरी छ । किनभने विदार्थीको रुचि र क्षमताको परख कतिपय अवस्थामा स्वयम् विद्यार्थीहरुलाई भन्दा उसको गुरुवर्गलाई हुुन्छ । विद्यार्र्थीहरुलार्य कुन विषय पढ्दा के हुने हो भन्ने कुराको पनि पर्याप्त ज्ञान नहुन सक्छ । त्यसैले पनि यस्ता कार्यक्रमहरु गरिनुपर्छ । मलाई के लाग्छ भने आगामी वर्र्षहरुमा परामर्शका यस्ता कार्यक्रमहरु विद्यालयले मात्र भन्दा पनि राज्यले नै सञ्चालन गर्नु पर्दछ । किनभने उनीहरुलाई यो समयमा गरिने सानो सहयोग भोलिको दिनमा एउटा दक्ष जनशक्ति उत्पादन गराउन मद्दतगार सावित हुन सक्छ ।
विषय छनौटका क्रममा विद्यार्थीहरुमा आउने अन्यौलताको अर्काे कारण भनेको हाम्रो समाज र शिक्षा पद्धतिले बनाइदिएको खाक्रो आडम्बर हो । हामीले के मान्यता स्थापित गरिदिएका छौं भने राम्रो अंक ल्याउने विद्यार्थीहरुले विज्ञान पढ्नु पर्छ । त्यस पछिकाले व्यवस्थापन अनि बल्ल शिक्षा र मानविकी । त्यसैले त मानविकी जस्तो बृहत् क्षेत्र समेट्ने विषयमा विद्यार्थीहरुको आकर्षण घट्दै गएको छ । शिक्षा जस्तो देशको शैक्षिक जनशक्ति उत्पादन गर्ने विषय प्रति अब्बल विद्यार्थीको रुचि कम हुँदै गएको छ । अझ कतिपय अवस्थामा त फगत परवारको इच्छा र इज्जतको लागि विद्यार्थीले आफ्नो रुचि र चाहना लाई तिलाञ्जली दिनु परेका उदाहरण पनि छन्, हाम्रो समाजमा । बालबालिकाले के पढ्ने भन्ने कुरा उनीहरको रुचि, क्षमता र चाहनामा छोडिदिउँ । अभिभावक वा आफन्त कसैले पनि आफु इन्जिनियर वा डाक्टर बन्न नसकेको कुण्ठा आफ्ना बालबालिका माथि नथोपरौं र त्यही विषय पढ्न बालबालिकालाई दवाव नदिउँ । तात्पर्य के हो भने कति विद्यार्थीहरु सही मार्गनिर्देशन र ज्ञानको अभावमा त कति विद्यार्थीहरु परिवारको करकाप र समाजले बनाएको फोस्रो मान्यतालाई मान्दै गई सहि बाटोमा हिंड्न सकिरहेका छैनन् । जुन कालान्तरमा सबैको लागि प्रत्युत्पादक हुने निश्चित छ । तसर्थ यस पटक आफ्ना बाबु नानीले के कस्तो विषय पढ्ने भन्ने निर्णय गर्दा उनीहरुको रुचि, चाहना र क्षमतालाई पनि ध्यान पु–याउने कि ?
कक्षा ११ मा विषय छनौट चुनौतिको एउटा पाटो हो भने यो समयमा विद्यार्थीको उमेरगत अवस्था र उनीहरको मनस्थिति अर्काे चुनौतिको पाटो हो । SEE परीक्षा पास गर्ने अधिकांश विद्यार्थीहरु मध्य किशोरावस्थाका हुने भएकाले उनीहरु स्वभावैले अस्थिर हुन्छन् । विपरित लिङ्गी प्रतिको आकर्षण बढ्दो हुन्छ । परिवार संग भन्दा आफ्ना साथीसंगीसंग ज्यादा समय व्यतित गर्न रुचाउने स्वभाव हुन्छ । प्राकृतिक रुपले नै यो उमेरमा यस्ता कुराहरु स्वाभाविक हुन् र यसलाई दबाउन खोजेको खण्डमा झन यसले गलत बाटो लिने सम्भावना पनि बढी हुन्छ । विद्यार्थीले या समयलाई आफ्न ा यिनै चाहनाहरुलाई पूरा गर्ने अवसरको रुपमा प्रयोग गर्न चाहिरहेका हुन्छन् । धेरै कम विद्यार्थीहरुले मात्रै यति खेरको पढाइलाई गम्भीर रुपमा लिएका हुन्छन् । अन्यथा अधिकांश विद्यार्थी पढ्दै छु भन्नको लागि मात्रै पढिरहेका हुन्छन् । जतिखेर उनिहरुले यो अवस्थाको महत्व बुझ्छन्, त्यतिखेर समय घर्कीसकेको हुन्छ । त्यस कारण यो समयमा अभिभावक र शिक्षक वर्ग धेरै सजग हुनु जरुरी हुन्छ । यो समयमा अभिभावकहरुले आफ्ना छोराछोरीसंग बुबाआमा कम र साथी ज्यादाको सम्बन्ध राख्नु पर्दछ । उनीहरुको आवश्यकता रुचि र विचारलाई मान्यता दिनु पर्छ तब मात्र उनीहरुको वास्तविक मनस्थिति बुझ्न सकिन्छ । अनि आवश्यकता पर्दा उनीहरुलाई सहि मार्ग निर्देश गर्न सकिन्छ ।
साविकको SLC र अहिलेको SEE परीक्षालाई हामीले Golden Gate को संज्ञा दिनुपथ्र्याे किनभने यसले अब अगाडिका दिनहरुमा आफ्नो रुचि र क्षमता अनुसार अगाडि बढ्ने सुनौला अवसरहरुको ढोका खोलीदिन्छ । तर हामीले यसलाई Iron Gate बनाइदियौं । जसले गर्दा SEE उत्तीर्ण भै सके पछि विद्यार्थीहरुले आफुले एकदमै ठूलो उपलब्धी हासिल गरेको र आफु परिपक्व भै सकेको गलत मानसिकता विकास गराएको छ । तसर्थ यो समय भनेको विद्यार्थीहरु परिपक्व भएको समय हैन बरु परिपक्व हुन र जिम्मेबार बन्न सिक्ने उमेर हो भन्ने महसुस गराउनु आवश्यक छ । SEE को नतिजा आफैमा सबैभन्दा ठूलो उपलब्धी नभएर धेरै ठूला उपलब्धीहरु हासिल गर्ने अवसर दिने सुनौलो ढोका हो भन्ने महसुस गराउनु आवश्यक छ । तसर्थ यो उमेरका बालबालिकाहरुलाई असाध्यै विचार पु–याएर अगाडि बढाउनु पर्छ । अनिमात्र अनिहरु आफ्नो भविष्य र पढाइलाई लिएर गम्भीर हुन सिक्नेछन् । भविष्यमा केही ठोस उपलब्धी हासिल गर्नेछन् । अन्यथा ‘ १२ को जाँच दिनु अनि पासपोर्ट लिनु’ को जुन प्रचलन हाम्रो देशमा छ, त्यो कहिल्यै सकिने छैन ।
अन्त्यमा यसपटक विद्यार्थीले विषय छनौट गर्दा हामी सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौं । ताकि कुनै पनि विद्यार्थीले भोली आफ्नो रुचिको क्षेत्र नभएकोले बीचैमा पढाइ छोड्ने वातावरण नवनोस् । आज जति विद्यार्थीले SEE पास गरेका छन् भोलिका दिनमा कक्षा १२, स्नातक तहमा पास गर्ने विद्यार्थीको संख्या पनि यहि अनुपातमा होस् । SEE मा संलग्न सबै विद्यार्थी भाइबहिनीहरुलाई बधाई र शुभकामना तथा अभिभावक, शिक्षक वर्ग र हामी सबै पनि आ–आफ्नो दायित्वमा सफल हुन सकौं भन्ने कामना !