महाधिवेशन मितिमा मत भिन्नता, आज निर्णय हुने अपेक्षा
रमेश विकल
१५ औं महाधिवेशनको मितिमा समान मत नहुँदा २८ असोजबाट प्रारम्भ भएको कांग्रेस केन्द्रीय समितिको बैठक मंसिर ६ मा केही निर्णयहरु गर्दै आजसम्मका लागि स्थगित भएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा वसेको बैठकले समसामयिक राजनीतिक परिस्थिति र दलको आगामी कार्यदिशाका सम्बन्धमा भने केही महत्वपूर्ण निर्णयहरु गरेको छ । भदौं २३ मा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न र भ्रष्टाचार विरुद्ध जेन–जेड पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाउने १९ युवाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको माग गरेको बैठकले भदौ २४ मा भएको आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण ५७ जनाको ज्यान गएको, सयौं घाइते भएको र जनधनको क्षति भएको घटनाको कडा शब्दमा निन्दा गरेको छ । कांग्रेसले भदौ २४ को घटनाको सत्य–तथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई कानून बमोजिम कारबाही गर्न तथा पीडितहरूलाई उचित क्षतिपूर्तिसहित न्याय उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।जेन–जेड पुस्ताले प्रदर्शनमार्फत उठाएका “भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितता“ जस्ता मागहरूलाई स्वाभाविक, वैध र आमनागरिकको आवाज भन्दै कांग्रेसले ती माग पूरा गराउने प्रतिबद्धता व्यक्त गरेको छ । समानुपातिक तर्फ सर्वाधिक मत पाएको दल नेकपा एमालेले निर्वाचनमा भाग नलिने बताइरहँदा विघटित संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने फागुन २१ का लागि घोषित निर्वाचत वर्तमान राजनीतिको उचित निकास भएको ठहर गर्दै उक्त निर्वाचनमा भाग लिने निर्णय गरेको छ । संसद विघटन असंवैधानिक भएको र संविधानभित्रै समाधान सम्भव भएको स्पष्ट धारणा दोहो¥याएको कांग्रेसले अन्तरिम सरकार गठन र विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अन्तिम व्याख्या अदालतले गर्ने विश्वास व्यक्त गरेको छ ।

बैठकपछि बोल्दै महामन्त्री गगन थापाले देशमा बढिरहेका उत्तेजक र अराजक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै हिंसा, निषेधको राजनीति र उत्तेजनाबाट टाढा रहन तथा संयम अपनाएर संवाद मार्फत समाधान खोज्न सबै पक्षलाई आव्हान गरिएको बताए । उनले पार्टीको निर्णय बारे बताउँदै अगाडि भने, संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षणका लागि फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सबै दललाई आग्रह गर्दै निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन सरकार र निर्वाचन आयोगसँग जोडदार माग गरिएको छ । यसैगरी कांग्रेसले जेन–जेड प्रदर्शनमार्फत मुखरित आवाजको सम्बोधन र देशलाई शान्ति, समुन्नति र स्थिरताको दिशातर्फ लैजान बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक रहेको ठहर गरेको
छ । यसका लागि उसले वघटित प्रतिनिधिसभाका दलहरू, प्रदर्शनपछिका दलहरू, जेन–जेड पुस्ता, नागरिक समाज, वुद्धिजीवी, व्यवसायी लगायत सरोकारवाला सबैसँग संवाद र साझा राष्ट्रिय समझदारी निर्माणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । मुलुक गम्भीर राजनीतिक संकटमा रहेकोले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, जनताका मौलिक हक–अधिकारको सुरक्षा तथा संविधानको संरक्षण सुनिश्चित गर्न सबै राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीहरूलाई आपसी संवाद, संयमता र समझदारीको मार्ग अवलम्बन गर्न समेत कांग्रेसले अपिल गरेको छ ।
निर्णयमा मुलुकको जेठो दल हुनुको परिपक्वता देखाएको कांग्रेसले आवधिक महाधिवेशनको मिति तोक्न भने सकेन । निर्वाचन अगाडी महाधिवेशन गर्नु पर्ने महामन्त्री गगन थापा तथा विश्वप्रकाश शर्मा लगाएतका नेताको मत रहेपनि सभापति देउवा निकट नेताहरु त्यसका लागि तयार नहुँदा अनिर्णयको बन्दी बनेको छ । सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका सभापति देउवालाई पुनः सक्रिय बनाएर आफ्नो स्वार्थको रोटी सेक्न पल्केका विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला तथा प्रकाशशरण महत लगाएत निर्वाचनमा नकारात्मक असर पर्ने भन्दै महाधिवेशन गर्न नहुने तर्क गरिरहेका छन् । उनीहरुको तर्क छ, निर्वाचन नजिकिंदै गर्दा गरिने महाधिवेशनले कार्यकर्तामा विभाजन ल्याउँछ र निर्वाचनमा नकारात्मक असर पर्छ । नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टीले आ–आफ्ना महाधिवेशन गर्न लागेका बेला कांग्रेसले मात्रै महाधिवेशन गर्नु हुँदैन भन्नु संगत कुरा नहुने तर्क संस्थापन इतर समूहको रहेको छ ।
उता आम कार्यकर्ता तथा मतदाताहरु भने महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वका साथ निर्वाचनमा जाँदा कांग्रेसलाई घाटा होइन बरु नाफा हुने तर्क गर्दछन् । लामो स्थगनको श्रृङ्खला पछि आज हुन लागेको केन्द्रीय समितिको बैठकले महाधिवेशन कहिले गर्ने भनेर मिति तोक्ने सम्भावना छ । निर्वाचन अगाडि महाधिवेशन गर्नु पर्ने र गर्न नहुने भन्ने दुबै पक्ष निर्णय आफ्नो पक्षमा पार्न प्रयत्नशील छन् । आजको निर्णयले कांग्रेसको भविष्य कस्तो हुने भन्ने तय गर्नेछ ।
