
केही समय अगाडी मेरा सहकर्मी छविदीप आलेले बाजले आफ्नो नवजीवनका लागि गर्ने ५ महिना लामो कठोर संघर्षको प्रेरणादायी कथा सुनाउनु भएको थियो । पहिले मैले सम्झेसम्मको उक्त कथा प्रस्तुत गर्न चाहन्छु । त्यसपछि बाजको संघर्षसँग नेपाली कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगाएतले पार्टीको नवजीवनका लागि गर्दै रहेको संघर्षको कसरी तुलना ? भन्ने सन्दर्भमा मतहरू प्रस्तुत गर्नेछु ।
सहकर्मी आलेले मलाई सुनाउनु भएको कथा यस्तो छः एउटा बाजको औसत आयु करिब ७० वर्ष हुन्छ । तर जब ऊ ४० वर्षको पुग्छ, उसको शरीरमा तीनवटा मुख्य समस्याहरू देखा पर्छन् । उसका नङ्ग्राहरू यति कमजोर हुन्छन् कि उसले सिकार गर्न सक्दैन । उसको तिखो चुच्चो निकै मोडिएर छातीतिर आउँछ, जसले गर्दा खान गाह्रो हुन्छ । पुराना र भारी प्वाँखहरूका कारण पखेटाहरू निकै गह्रौँ हुन्छन्, जसले गर्दा आकाशमा उड्न निकै कष्टकर हुन्छ ।
यस्तो अवस्थामा बाजसँग दुईवटा विकल्प मात्र हुन्छन् । कि त मृत्यु स्वीकार गर्ने, कि त परिवर्तनका लागि एउटा पीडादायी प्रक्रियाबाट गुज्रिने । बाजले दोस्रो विकल्प रोज्छ र एउटा अग्लो पहाडको टाकुरामा गएर आफ्नो गुँड बनाउँछ । त्यहाँ उसले ५ महिना (१५० दिन) को कडा तपस्या सुरु गर्छ । सबैभन्दा पहिले बाजले आफ्नो चुच्चोलाई ढुङ्गामा ठोक्याएर पूर्ण रूपमा निकालिदिन्छ । त्यसपछि ऊ नयाँ चुच्चो नआउन्जेलसम्म पर्खिएर बस्छ । जब नयाँ चुच्चो पलाउँछ, उसले त्यही नयाँ चुच्चोको सहायताले आफ्ना पुराना र काम नलाग्ने नङ्ग्राहरू एक–एक गरेर उखेल्छ । नयाँ नङ्ग्राहरू पलाएपछि, उसले आफ्ना भारी र पुराना प्वाँखहरूलाई चुच्चो र प्वाँखको सहायताले उखेलेर फ्याँकिदिन्छ । ५ महिनाको यो अत्यन्तै पीडादायी र रगतपच्छे हुने प्रक्रियापछि बाजको शरीरमा नयाँ चुच्चो, नयाँ नङग्रा र नयाँ प्वाँख,आउँछन् । कठिन संघर्षपछि बाजले ’पुनर्जन्म’ पाउँछ र अर्को ३० वर्षसम्म सानका साथ आकाशमा राज गर्छ ।
बाजको यो पुनर्जन्मको कथा र नेपाली कांग्रेसका महामन्त्री गगन थापा (उनीसँगै विश्वप्रकाश शर्मा , प्रदीप पौडेल लगायतका युवा नेताहरू) ले पार्टीभित्र गरिरहेको वर्तमान सङ्घर्षबीच निकै घनिष्ठ र अर्थपूर्ण समानता छ ।
अहिलेको नेपाली राजनीतिको पृष्ठभूमिमा गगन हरूको अभियानलाई बाजको त्यो १५० दिनको कठोर सङ्घर्षसँग तुलना गर्न सकिन्छ । जसरी ४० वर्षको उमेरमा बाजको ठुँड र नङ्ग्राले काम गर्न छाड्छन् र बाज अत्यन्त कमजोर हुन्छ । आठ दशकको कांग्रेस पनि यतिबेला बाजकै अवस्थामा छ । कांग्रेस आफ्नो राजनैतिक जीवनको निरन्तरताका लागि कहिले माओवादी त कहिले एमालेको बैसाखीको सहारा लिइरहेमछ । बाजको भारी पखेटा जस्तै पार्टीको पुरानो कार्यशैली र यथास्थितिवादले पार्टीलाई नयाँ उचाइमा उड्न नदिएको गगनहरूको तर्क छ । गगनहरूले बारम्बार भन्दै आएका छन्,कि त हामी यसरी नै सुस्त हुँदै सकिएर जान्छौँ, कि त आफूलाई पूर्ण रूपमा रूपान्तरण गरेर नयाँ जीवन पाउँछौँ ।
बाजले नयाँ ठुँड पाउन पुरानो ठुँड ढुङ्गामा बजारेर निकाल्छ । यो अत्यन्तै पीडादायी प्रक्रिया हो । गगन थापाले आफ्नै पार्टीको नेतृत्व र संसदीय दलको नेता परिवर्तन गर्ने जुन जोखिमपूर्ण प्रयास गरे, त्यो बाजले आफ्नो ठुँड निकाल्न गरेको सङ्घर्ष जस्तै हो । आफ्नै नेतृत्वविरुद्ध उभिनु राजनीतिक रूपमा जोखिमपूर्ण र पीडादायी हुन्छ, तर कांग्रेसका शुभेच्छुक ÷समर्थकले बुझ्नुपर्छ कि यो पार्टीको नवजीवनका लागि अनिवार्य सर्त हो ।
अहिले पार्टी महामन्त्री समेत रहेका गगन, विश्वप्रकाश लगाएत ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले पार्टीमा “विशेष महाधिवेशन” को माग गर्दै आएका मात्र छैनन् । पार्टी विधान वमोजिमको आफ्नो माग पूरा नगर्ने गरी कांग्रेसका केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरेपछि विशेष महाधिवेशनको मिति नै तोकेर पुष भित्र विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने अठोट गरेका छन् । यो बाजले आफ्नो शरीरका पुराना प्वाँखहरू उखेलेर फाल्नु जस्तै हो । पार्टीभित्रका काम नलाग्ने विधान, पुराना सोच र ढिलासुस्तीलाई उखेलेर फ्याँक्ने अठोट हो ।
बाजले नयाँ प्वाँख पलाउन कुर्नुपर्ने १५० दिन जस्तै, गगनहरूले आगामी निर्वाचन र पार्टीको विशेष महाधिवेशनलाई एउटा तपस्या कालको रूपमा लिएका छन् । गगनहरूले ‘जेन–जी’ र युवाहरूलाई पार्टीमा जोड्ने जुन प्रस्ताव ल्याएका छन्, त्यो बाजको शरीरमा पलाउने नयाँ र बलिया प्वाँखहरू जस्तै हुन् । पुराना नङ्ग्रा उखेलेर नयाँ नङ्ग्रा पलाए झैँ, पार्टीको विधान संशोधन र क्रियाशील सदस्यताको लोकतान्त्रिकरण मार्फत उनीहरू पार्टीलाई नयाँ शक्ति दिन चाहन्छन् ।
जसरी सङ्घर्षपछि बाजले ३० वर्षको थप जीवन पाउँछ, गगनहरूको विश्वास छ कि यदि कांग्रेसले आफूलाई अहिले नै बदलेर ‘पुनर्जन्म’ लियो भने मात्र यसले आगामी दशकौँसम्म देशको नेतृत्व गर्न सक्छ ।
हामी सफल हुन चाहन्छौँ भने कहिलेकाहीँ हाम्रा पुराना बानी, नकारात्मक सोच र विगतका बोझहरूलाई त्याग्नैपर्छ । ठूलो सफलता प्राप्त गर्नका लागि सुरुमा केही समय कष्ट भोग्नुपर्छ । नयाँ अवसरहरू पाउनका लागि पुराना र बेकार कुराहरूलाई छोड्ने साहस गर्नुपर्छ । बाजले यसरी चुच्चो वा नङ्ग्रा निकाल्ने कुरा प्रमाणित छैन । यो प्रतीकात्मक कथा हो र यसले मानिसलाई कठिन समयमा हिम्मत नहार्न र आफूलाई बदल्न प्रेरित गर्छ ।
गगनहरूको सङ्घर्ष ‘बाजको पुनर्जन्म’ जस्तै हो । यो सङ्घर्ष सफल हुन्छ कि हुँदैन भन्ने कुरा उनीहरूले कति कठोरताका साथ आफ्ना ‘पुराना प्वाँख’ (पुरानो गुटगत राजनीति र व्यक्तिगत स्वार्थ) लाई त्याग्न सक्छन् भन्नेमा भर पर्छ । बाजको कथा जस्तै, यो परिवर्तन सजिलो छैन, तर जीवित रहनका लागि अनिवार्य छ । गगनहरूलाई थकाउने÷गलाउने चौतर्फी प्रयत्न भएका छन् । केही दिनमा उनीहरू थाक्ने÷गल्ने छन् वा सफल हुनेछन्, थाहा लाग्छ । संघर्षको सफलताको गगनहरूलाई शुभकामना । कांग्रेसको नवजीवनको पनि शुभकामना ।
